सुनसान बनेको बुटवलमा चहलपहल बढ्न थाल्यो - Butwal Online
सुनसान बनेको बुटवलमा चहलपहल बढ्न थाल्यो

बुटवल, ४ कार्तिक । दशैं मनाउन आआफ्नो पूख्र्यौली थलो गएपछि सुनसान बनेको बुटवल बजार केही चहलपहल देखिन थालेको छ । विभिन्न पेशा व्यवसायका कारण बुटवल आई बसोबास गरेकाहरु दशैं मान्न फुलपातीदेखि नै आफ्नो पूख्र्यौली थलो फर्किने गर्दछन् ।

बुटवल तथा आसपासको क्षेत्रमा आई स्थायी रुपमा बसोबास गर्नेहरु पनि अधिकांश गुल्मी, अर्घाखांची, पाल्पा लगायतका जिल्लाहरुबाटै आएकोले दशैं मनाउन जन्मस्थान नै फर्किने गर्दछन् । जसले गर्दा बडादशैंको केहि दिन बुटवल सुनसान बन्ने गर्दछ । नजिकै घर भएका र पेशा व्यवसाय गर्ने तथा जागिरेहरु दशैंको भोलीपल्ट नै फर्किने गरेपनि विद्यार्थी तथा कामको चाप नहुनेहरु अझै केहि दिन गाउंघरमा रमाउने गर्दछन् ।
जसले गर्दा बुटवलको चहलपहल पुरानै अवस्थामा फर्किन भने अझै केहि दिन लाग्ने छ । फुलपाती देखि नै बाहिरीने गरेका सर्वसाधारण सनिवारदेखि फर्किन थालेका छन् । विहीबार र शुक्रवार अत्यन्त पातलो चलेका सवारी साधनहरु सनिवार भने केहि बाक्लो देखिएका छन् । आईतवारदेखि नै सरकारी कार्यालय संगै अन्य कार्यालय पनि संचालनमा आउने भएपछि त्यहां कार्यरत कर्मचारीहरु पनि आज कार्यक्षेत्रमा फर्किने गर्दछन् ।
दशैं मान्न सर्वसाधारण एकैपटक घर फर्किदा यात्रुहरुले खचाखच भरिने सवारी साधन अब केहि दिन कार्यक्षेत्र फर्किदा भरिने गर्दछन् । दशैं अगाडी ग्रामिण क्षेत्रमा जानेहरुको भिड देखिन्थ्यो भने अबका केहि दिन ग्रामिण क्षेत्र तथा पहाडी जिल्लाबाट तराईका जिल्लामा आउनेहरुको भिड हुने गर्दछ । विशेषगरि यस क्षेत्रका पहाडी जिल्लाहरु गुल्मी, अर्घाखांची, पाल्पा लगायत प्यूठान, पर्वत, वाग्लुङ, दाङ लगायतका जिल्लाहरुबाट सर्वसाधारण बुटवल आउने क्रम केहि दिन जारी रहन्छ । यता दशैंको प्रभाव साप्ताहिक हाटबजारहरुमा पनि देखिएको छ ।
तरकारी तथा फलफुलका ठेलाहरु सडक किनारमा फाट्टफुट्ट देखिने गरेपनि उपभोक्ताको उपस्थिती भने न्यून छ । सनिवार बुटवल हाटबजारमा लाग्ने साप्ताहिक हाटमा उपभोक्ताको संख्या अत्यन्त न्यून रहेको थियो । अधिकांश परिवारमा माछामासुको प्रयोग धेरै हुने र तरकारी तथा फलफुलको जोहो समेत दशैं अघि नै गरिसक्ने भएकोले आज हाटबजार खाली देखिन्थ्यो ।
यता विजया दशमीका अवसरमा स्थापना गरिएका अस्थायी दुर्गामन्दिरका मूर्तिहरु धार्मिक परम्परा अनुसार स्थानीय नदी तथा पोखरीहरुमा विसर्जन गर्न थालिएको छ ।
नव दुर्गाको सप्तमी तिथीदेखि पुजा आजाका लागि प्रदर्शनमा राखिएका यस्ता दुर्गा भवानी लगायत अन्य देवी देवताको माटोका मुर्तिहरुलाई बाजागाजाका साथ एकादशी पछि विसर्जन गर्ने परम्परा रहेको छ । दशैंको बेला मूर्ति स्थापना गर्न व्यस्त रहने सर्वसाधारण र्मूिर्त विसर्जनमा पनि नांच्दै गाउंदै सहभागी हुने गर्दछन् । सर्वसाधारणले हरेकवर्ष ट्याक्टर तथा ट्रकमा राखि नजिकका नदि तथा पोखरीहरुमा मूर्ति विसर्जन गर्दै आएका छन् ।
कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्म नै दुर्गा मूर्तिहरु राख्ने गरिएपनि कतिपय स्थानमा भने दशैंको भोलिपल्ट नै विसर्जन गर्ने गरिन्छ । बुटवल ट्राफिकचोक बुद्धपथमा निर्माण गरिएको दुर्गामूर्ति पनि आज विर्सजन गरिएको छ । मूर्ति स्थापना स्थलबाट खालीखुट्टा राजमार्ग चौराहसम्म नाच्दै गाउंदै पैदल यात्रा गरि मूर्ति विसर्जनको लागि त्रिवेणी लगिएको हो । घटस्थापना संगै स्थानीयहरुले स्थापना गरेको उक्त भजनकिर्तन गाउंदै विधीपूर्वक त्रिवेणीमा विसर्जन गरिएको दुर्गामूर्ति निर्माण समितीले जनाएको छ ।
१५ देखि ५० हजार रुपैयासम्म खर्च गरी निर्माण गरिएका यस्ता सयौं मूर्तिहरु हरेकवर्ष यसैगरी नदि तथा पोखरीहरुमा विसर्जन गरिदै आएको छ ।



प्रतिक्रिया

सम्बन्धित समाचार