सामाजिक एकताको महापर्व छठ

भक्त र भगवान्सँग सीधा बार्तालाप छठ पर्वमा मात्र हुन्छ भनिन्छ। यो नै एउटा यस्तो पर्व हो, जसमा पुजारी र पुरोहित हुँदैन। किनकि छठमा अर्घ दिइने सूर्य भगवान् प्रत्यक्ष देखिन्छ। पर्व मनाउने क्रममा दसैं, दीपावली र तिहार पर्वपछि अहिले समाचकेवा सँगै विशेषगरी तराई–मधेसमा छठको तीव्र तयारी छ। सूर्य र उनको देवी रूप उषालाई छठी मैयाको रूपमा षष्ठी तिथिमा मुख्य पूजा गरिने हुनाले यो पर्वको नाम छठ भएको हो। छठले‌‌े मै‌‌थिली र‌‌ मधे‌‌सी संस्कृतिको‌‌ जीवन पद्धति र‌‌ विशिष्टतालाई प्रतिबिम्बित गर्छ । सनातन धर्ममा विश्वास गने‌र्‌ मधेसीका लागि यो‌‌ पृथक् अनि कठिन र फलदायी पर्व भएको हो‌‌ ।

आस्था र सहअस्तित्वको पर्व छठको तेस्रो दिन, जसलाई लोकबोलीमा ‘सझियाँ घाट’ भन्ने गरिन्छ। मानव र प्रकृतिबीचको सम्बन्धलाई छठले प्रत्येक वर्ष प्रगाढ बनाउँदै आइरहेको छ। मानव जातिको पीडाप्रति सजग गरी छठले हरेक वर्ष दीपावली समाप्तिपछि मानव र प्रकृतिबीच हराउँदै, बिलाउँदै, लोप हुँदै गइरहेको संवेदनशील रागात्मक, अटुट संवाद—सम्बन्धको सूत्रधारलाई सबलीकरण गर्दै मानव र प्रकृतिबीचको सम्बन्धलाई सुमधुर बनाउँदै आएको छ।

सामाजिक सद्भावको पर्व

छठ समाजिक सद्भावको पर्व हो। हाम्रो समाजमा छुवाछूत, भेदभाव, तल्लो जाति–माथिल्लो जातिबीच पानी बराबारको अवस्था कायमै छ। कानुनी रूपमा छुवाछूत अन्त्य भए पनि समाजमा कायमै छ। तर छठले सामाजिक भेदभावको बाँध भने परापूर्वकालदेखि नै भत्काएको देखिन्छ। समाजमा सबैभन्दा अपहेलित जात डोम हो। तर छठ पर्वका डोमबिना सम्भवै छैन। उनीहरूले पसिना बगाएर बनाएको ढक्की, नांग्लो, सुपा, डलिया, सुपली आदिमा छठी मैयालाई चढाउन प्रसाद राख्न व्रतालु प्रयोग गर्छन्। पूजा समाग्री सजाउनाले ती पिछडिएका दलित पनि हाम्रो समाजका अंग हुन् र तिनको पनि समाज विकास र संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान रहेको तथ्यलाई यहाँ स्वीकार गरिएको देखिन्छ। त्यसैगरी यो पर्व मनाउने सनातन धर्मावलम्बीबीच समुदायगत, जातिगत, भाषागत र धार्मिक भिन्नता छन्। तर यो व्रत गर्ने व्रतालु वा सघाउने श्रद्धालुबीच त्यसका आधारमा कुनै वैमनस्य वा द्वन्द्व कहिल्यै हुने गरेको छैन। कुनै जात जाति हुन, तिनको दौरा, छैंटी श्रीपताको अगाडि मिलेर, मिलाएरै राखिएका हुन्छन्। सबै एउटा गोलमा अटाएको दृश्य हेर्दा राजनीतिले छुट्ट्याएको पहाडी, मधेसी, जातजाति भेद यहाँ सबै टुंगिन पुग्छ। तसर्थ यो व्रतले सामाजिक सद्भाव र मानवीय एकतालाई अझ मजबुत बनाएको देखिन्छ। अझै ध्यान दिनुपर्ने के छ भने अरू बेला अछूत भनेर तिरस्कार गर्ने समाजका कुलिन वर्गका छोरी र बुहारी पनि बाटोछेउमा अँचरा (आँचल) थापेर प्रसाद माग्छन् र प्रसाद जुनसुकै जातजातिको होस्, आँचलमा प‍र्‍यो भने त्यसलाई पवित्र मानेर ग्रहण गर्छन्। यसले प्रमाणित गर्छ– समाजलाई एकताको सूत्रमा बाँध्न यस्ता पर्वको ठूलो योगदान छ।

एकताको पर्व

सबै मिलेर घाट बनाउने, सजाउने, सरसफाइ गर्ने, सुरक्षा दिने, रमाउने गतिविधिले मानवीय भाइचारा, सामाजिक एकता र सामाजिक सद्भावलाई दह्रो बनाउन छठ पर्वले मद्दत गरेको छ। तराई–मधेसमा बस्ने हिन्दु धर्मावलम्बीले मनाउने यो पर्वले छिमेकमा बस्ने इस्लाम र बुद्ध धर्म मान्नेलाई पनि आफ्नो प्रभावमा राख्दै आएको छ। पहाड र राजधानी यतिबेला छठमय भएको छ। बहुसांस्कृतिक, बहुभाषिक र बहुजाति प्रकृतिका समावेशी पर्व छठको सौन्दर्यका लागि मधेस, पडाड र हिमालसँग छठको प्रेम छ।

लोकतान्त्रिक पर्व

लोकतन्त्रमा सबै बराबर हुन्छ भने जस्तै छठ पर्वले आफूलाई लोकतान्त्रिक पर्व हो भनेर शदीयौंदेखि चिनाउँदै आएको छ। सूर्य आफैंमा लोकतान्त्रिक देवता हुन्। उनी कुनै विभेद नगरी गरिब र धनी सबैलाई समानरूपले प्रकाश छर्छन्। सूर्यको प्रकाशबिना मानव, जीवजन्तु र प्रकृतिको अस्तित्व रहँदैन।

रोगबाट मुक्ति, पीडाबाट निजात, सन्तान तथा पारिवारिक सुख, सुस्वास्थ्य, दीर्घायूको कामना गर्दै सूर्यको उपासना गरिन्छ। षष्ठी तिथिमा सूर्यको उपासना गर्ने विधि उपक्रमलाई छठपूजा भनिन्छ।

बिशाल अर्याल

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार