काठमाडौं, मंसिर १० । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत् सोमबार भएको दोस्रो खेलमा न्यूरोड टिम (एनआरटी)लाई २–० ले पराजित गर्दै थ्रीस्टार विजयी भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि थ्रीस्टारले खेलको ७५औं मिनेटमा रन्जित धिमालको गोलबाट अग्रता लिएको थियो ।

थ्रीस्टारका खेलाडी अजायी मार्टिन्सलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि थ्रीस्टारले पेनाल्टी पाएको थियो ।एनआरटीका गोलरक्षक अजित प्रजापतिले पेनाल्टी बचाएपनि रन्जितले ‘रिबाउन्ड’मा आएको बललाई गोलमा परिणत गरेका थिए । उनले लगातार तेस्रो खेलमा गोल गरेका हुन् । रन्जितले ब्रिगेड ब्वाइज र मनाङविरुद्ध पनि गोल गरेका थिए ।

दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा अजायी मार्टिन्सले गोल गर्दै थ्रीस्टारको जित पक्का गरे । मिडफिल्डर सुनील बलले दिएको हेडर पासमा मार्टिन्सले हेडरमार्फत् नै गोल गरेका थिए ।

जितसँगै थ्रीस्टारले चार खेलमा ९ अंक जोडेको छ । एनआरटी भने लगातार तेस्रो हारपछि चार खेलमा १ अंकमै रहेको छ ।लगातार दुई खेल जितेर उत्कृष्ट सुरुआत गरेको थ्रीस्टार पछिल्लो खेलमा मनाङ–मर्स्याङ्दी क्लबसँग पराजित भएको थियो ।

एनआरटीले लिगको उद्घाटन खेलमा आर्मीसँग अंक बाँड्नुबाहेक त्यसयता राम्रो खेल्न सकेको छैन ।यसैगरी, सोमबारै हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा भएको अर्को खेलमा च्यासल युथ क्लबलाई २–० गोलले पराजित गर्दै नेपाल पुलिस क्लब विजयी भएको छ ।

पुलिसको जितमा खेलको ३८औं मिनेटमा रवि पासवानले गोल गरेका थिए ।त्यसैगरी, खेलको ८८औं मिनेटमा भरत साहले गोल गर्दै पुलिसको जित सुनिश्चित गरेका थिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार