बुटवल, १२ मंसिर । ७ सुत्रे माग सहित नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक लिमिटेड बुटवलका मजदुरहरु आन्दोलनमा उत्रेका छन् । आफ्ना मागहरुलाई लिमिटेड व्यवस्थापकले वेवास्ता गरेको भन्दै गत शुक्रबार देखि काम ठप्प पार्दै मजदुरहरु आन्दोलनमा उत्रेका हुन ।


नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक लिमिटेड बुटवलका मजदुरहरु अहिले काम ठप्प पार्दै व्यवस्थापक राजेश अग्रवालको पुत्ला बनाएर धर्नामा बसेका छन् । लिमिटेडमा क्रियाशिल युनियहरु समग्र टे«ड युनियन नेपाल र अखिल नेपाल औद्योगिक मदजुर युनियनको पहलमा १ सय ७८ जना मजदुरहरु धर्नामा बसेका हुन । मजदुरहरुले खाईपाई आएको तलवमा ५ हजार र महंगी भत्तामा ३ हजार ५ सय गरी ८ हजार ५ सय तलब समान रुपले बृद्धि हुनुपर्ने, महंगी भत्ता बाहेकका अन्य भत्ताहरु सत प्रतिशत बृद्धि हुनुपर्ने, कर्मचारीलाई आवासको व्यवस्था हुनुपर्ने माग आफुहरुको रहेको बार्ता कमिटिका सदस्य पदमराज रिजालले बताए ।

मजदुर र व्यवस्थापक पक्षबीच दुई पटक सम्म श्रम कार्यालयमा बार्ता गरेपनि व्यवस्थापन पक्षले उल्टै आफ्ना मागहरु माथी ५ बुँदे माग राखेको आरोप लगाएको छ । लिमिटेडले मजदुरको आन्दोलन दबाउनका लागि पुर्व युनियन संग गरेको सवै सम्झौता स्थगित गर्नेगरी माग राखेपछि कर्मचारी थप आक्रोशित बनेका छन् । मजदुरहरुको मागका सम्बन्धमा १ दखि १२ तहका सवै मजदुरलाई २द्द सय देखि २६ सय सम्म मात्र तलव बृद्धि गर्ने प्रस्ताव लिमिटेडले ल्याएपनि मजदुरहरुले भने अस्वीकार गरेका छन् । लिमिटेडका सञ्चालक समिति अध्यक्ष रत्नसञ्चार श्रेष्ठले मजदुरका मागहरु सम्बोधन गर्न आफु तयार रहेको बताएपनि अहिले मागहरु प्रति वेवास्ता गरेको आरोप मजदुरहरुको छ । श्रम ऐन २०७४ को दफा ११६ को उपदफा २ अनुसार आफुहरु आन्दोलनमा उत्रेको अध्यक्ष अखिल नेपाल औद्योगिक मजदुर युनियनका अध्यक्ष भुवन गिरीले बताए ।


नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडमा बुटवल पावर कम्पनीको ५१ द्यशमलव ३०, आईकेएन ईन्ड्रस्टियल नर्बेको ४६ दशमवल ९, बुटवल टेक्निकल ईनिष्टच्युटको १ दशमलव ०७ र हिमाल हाईड्रो तथा जनरल कम्पनीको शुन्य दशमलव ७१ प्रतिशत सेयर रहेको छ । जलविद्युत उत्पादनका लागि उपकरण बनाउने, जडान तथा मर्मतको काम गर्ने लिमिटेडले बार्षिक २ अर्बको काम गर्ने गर्दछ । प्रत्येक बर्ष ५ देखि १० प्रतिशत सम्म लिमिटेडले बोनस बाडेपनि कर्मचारी मजदुर प्रति व्यवस्थापन पक्षले वेवास्ता गर्दै आएको मजदुरहरुले बताएका छन् । लिमिटेडले हाल साङजेम उपल्लो र तल्लो गरी ५४ मेगावाटको जलविद्युतको काम गरिरहेको छ । यस अघि कालिकागण्डकी, मस्याङदी लगाएतका जलविद्युतका उपकरणहरु बनाइसकेको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार