बुटवलको विकट बस्ती ज्यामिरेमा जनप्रतिनिधिहरु

बालबालिकाको शिक्षा र सुरक्षा पहिलो प्राथमिकतका

बुटवल, मंसिर १९ । बुटवल उपमहानगरपालिका–१२ ज्यामिरे टोल उपमहानगरको सबैभन्दा विकटको बस्ती हो । वरीपरी जंगल र खोस्लाले घेरिएर रहेको यो बस्तीमा करिब एक दजर्न जति घरपरिवार छन् । त्यो बस्तीको सुरक्षा र स्थानान्तरणका बारेमा जनप्रतिनिधिले चासो दिएका छन् ।


ती घर परिवारले आफुहरुको बस्ती जोखिममा रहेको भन्दै जनप्रतिनिधिसमक्ष उचित व्यवस्थापनको माग गरेका थिए । उनीहरुका गुनासो सुनेपछि नगरप्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्यसहितको टोलीले उक्त बस्तीको स्थलगत अवलोकनमा पुगेको थियो ।

त्यहाँको अवस्था, सम्भावना र त्यसको कार्यान्वयनका लागि स्थानीयहरुकै सुझावका आधारमा योजना बनाइने प्रमुख सुवेदीको भनाइ छ । कृषि उद्यम र पशुपालनको प्रचूर सम्भावना रहेको र त्यसका लागि यातायात र खानेपानीको व्यवस्था पहिलो प्राथमिकता रहेको भन्दै नगरप्रमुख सुवेदीले निजी क्षेत्र तथा माथिल्ला सरकारहरुसंगको समन्वयमा सम्भावनाको थप अध्यय्न गरिने प्रमुख सुवेदीले बताए ।

‘यो क्षेत्रलाई नगरको पर्यापर्यटनका रुपमा विकास गर्न सकिन्छ, कृषि र पशुपालनका सम्भावनाका बारेमा पनि थप छलफल आवश्यक छ’ नगरप्रमुख सुवेदीले भन्नुभयो, स्थानीय समुदायको आवश्यकता र राय सुझावका आधारमा नयाँ कार्यक्रम बनाइने छ ।’


स्थानीयहरुले बस्तीसम्म पुग्ने बाटो बनाइदिन, गाउँमै अक्षर चिन्न सक्ने गरी बालकक्षाको व्यवस्था मिलाइदिन, विद्युतको व्यवस्था मिलाउन तथा पानीको मुहान संरक्षण र सिंचाईको व्यवस्था मिलाइदिन आग्रह गर्दै आएका थिए । तर, त्यहाँका युवाहरुले भने गाउँलाई नै स्थानान्तरण गर्न आग्रह गरेका थिए । उनीहरुका अभिभावकहरुले भने गाउँसम्म मोटरबाटो नबनेकाले समस्या उत्पन्न भएको र पानीको समस्या वर्षेनी बढ्दो रहेको भन्दै व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
नगरप्रमुख सुवेदीले वैकल्पिक उपायका बारेमा नगर कार्यपालिकामै छलफल गरिने बताए । उनले बस्तीको जोखिमका बारेमा आफुले जानकारी राखेको र अब सुरक्षाका उपायहरुलाई तत्कालै गम्भिरताका साथ अगाडि बढाइने बताए ।
उपप्रमुख गुमावेदी आचार्यले बालबालिकाहरुले पढ्नकै लागि धेरै सास्ती र जोखिम मोल्नु परेको विषयलाई आफुले गम्भिरताका साथ लिएको बताईन ।
वडा अध्यक्ष दुर्गा सुवेदीले बस्तीको उचित व्यवस्थासहित संरक्षण वा स्थानान्तरणका बारेमा बृहत छलफल गरिने बताए । वडा सदस्य भूपेन्द्र थापा, चारपाला सामुदायिक वनका पदाधिकारीहरुले बस्तीको जोखिम न्यूनिकरणका लागि बुनपाको कार्यक्रममा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।


बालाबलिकाको शिक्षा पहिलो प्राथमिकता
नगरप्रमुख सुवेदीले जंगलमा दैनिक दुई घण्टा हिंडेर पढ्न जाने बालबालिकाहरुको सुरक्षा र वैकल्पिक व्यवस्था पहिलो प्राथमिकतामा राखेको बताए । उनले बालबालिकाको माग र चाहना बमोजिम तत्कालै उचित व्यवस्था गर्नेतर्फ आफुले पहल सुरु गर्ने बताए ।
यो गाउँबाट अहिले सात जना विद्यार्थीहरु दैनिक दुई घण्टा हिंडेर तल तामनगरमा अध्ययन गर्न जाने आउने गर्दछन । विद्यालय नजिक नहुंदा र जंगलको बाटो हिड्न पर्दा पढाइ निकै अप्ठ्यारो भएको विद्यार्थी विना गहा मगरको गुनासो छ । भर्खर कक्षा १२ पास गरेर माथिल्लो तहमा अध्ययन गर्ने गाहा त्यहाँका साना भाइ–बहिनीहरुलाई विद्यालयसम्म ल्याउने लैजाने अभिभावक समेत बनेका छन् ।
यो गाउँमा ८ वटा घर रहेका छन् भने त्यहाँबाट छुट्टी भिन्न भएका र तर पनि घर परिवार सारेका गरी १४ वटा घरहरु रहेको उनीहरुले बताएका छन् । त्यहाँका बासिन्दाहरु अहिले बाख्रापालन र भुइँकटहर खेती गर्दै आएका छन् । धेरैको मुख्य पेशा पशुपालन नै रहेको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार