बटौली, १७ पुस । प्रदेश नं. ५ मा पर्ने राष्ट्रिय गौरवका आयोजना निर्माणमा प्रदेश नं. ५ सरकारले चासो देखाएको छ । प्रदेशको समृद्धिका आधार राष्ट्रिय गौरवका आयोजनाहरु रहेको भन्दै मुख्यमन्त्री शंकर पोखरेलले निर्माणधिन आयोजनाहरु छिटो सम्पन्न गर्न सम्बन्धित आयोजना प्रमुखलाई निर्देशन समेत गरेका छन् ।


मुख्यमन्त्री कार्यालयमा मंगलबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं ५ मा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाका कामको प्रगतिका सम्बन्धमा आयोजना प्रमुख तथा प्रतिनिधी सँग जानकारी लिएका थिए । छलफलमा अधिकांश योजना प्रमुख तथा प्रतिनिधीले बजेट र दक्ष जनशक्तिका कारण कामलाई तिब्रता दिन नसकिएको गुनासो मुख्यमन्त्री पोखरेल सम्म राखेका थिए ।
छलफलमा आयोजनाको खर्च, बाँकी काम र परियोजना सम्पन्न गर्न लाग्ने समय तथा रकमका सम्बन्धमा पोखरेलले जानाकारी लिएका थिए । छलफलमा आयोजना निर्माणका लागि आवश्यक बजेटका लागि प्रदेश सरकारले पहल गर्ने प्रतिबद्धता मुख्यमन्त्री पोखरेलले गरे । लुम्बिनीमा कम पर्यटक आएकोमा मुख्यमन्त्री पोखरेलले चासो समेत देखाए । पछिल्लो समय लुम्बिनीमा आउने पर्यटकको संख्या घट्नुमा केही गम्भिर कारण समेत हुन सक्ने बताए । उनले गुरुयोजना निर्माणको कामलाई समेत छिटो टुंगाउन निर्देशन दिए ।
मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धिको रूपमा प्रदेश सरकारले कृषिलाई मुख्य आधार बनाएकाले भेरी बबइ डाइभर्सन, बबइ सिँचाइ आयोजनाजस्ता महत्वपूर्ण ठूला आयोजना बाँके, बर्दियाका उर्वर कृषिभूमिलाई आधुनिकीकरण र व्यवसायीकरण गरेर प्रदेशलाई कृषिहबको रूपमा स्थापित गर्न महत्वपूर्ण हुने बताए । उनले पूर्व–पश्चिम हुलाकी सडक तराईका जनताको समृद्धिसँग जोडिएको आयोजना भएकाले यसको निर्माणमा राज्यको विशेष चासो रहको बताए ।
प्रदेश नं ५ मा राष्ट्रिय गौरवका आयोजनाका रूपमा रुपन्देहीमा गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी गुरुयोजना, बवई सिँचाइ आयोजना, भेरी बवई डाइभर्सन आयोजना तथा हुलाकी राजमार्गजस्ता महत्वपूर्ण आयोजना सञ्चालित छन् । सिक्टा सिचाई आयोजनाका निर्देशक कृष्ण प्रसाद नेपालले धुलनशिल माटोका कारण नहर निर्माणको काम ढिलाइ भएको बताए । आयोजना निकुञ्जभित्र समेत पर्ने भएकाले निकुञ्जमा काम गर्न समेत अप्ठयारो भएको उनको भनाई थियो ।
कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्र शाक्य, भैरहवा विमानस्थलका महेश नेपाली लगाएतले आयोजनाको बारेमा जानाकारी दिएका थिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार