बुटवल उपमहानगरले सयौं युवालाई सिकायो ईलम

मेयर युवा इलम कार्यक्रम प्रभावकारी बन्दै 

बुटवल, माघ ९ । बुटवल उप महानगरपालिकाले यहाँका सयौं युवाहरुलाई इलम सिकाएको छ । उपमहानगरले एक परिवार एक रोजगार÷स्वरोजगार (नगर प्रमुख यूवा इलम) कार्यक्रम अन्तर्गत पाँच सय युवाहरुलाई इलम सिकाएको हो ।
मेयर युवा इलम नामको नौलो कार्यक्रममार्फत पहिलो चरणमा बुटवलका १९ वडाका तीन सय ६५ युवाहरुलाई इलम सिकेको प्रमाणपत्रसमेत वितरण गरिएको छ ।


इलम सिकेका युवाहरुलाई दक्षताका आधारमा रोजगारादाताहरुको सहकार्यमा रोजगारीसमेत दिने गरी इलम सिकाउने अभियान सुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।
बुटवलका प्रमुख सुवेदीले सुरुदेखि नै प्राथमिकता दिदै आएको युवा स्वरोजगार कार्यक्रम यस क्षेत्रको नमुना र स्वागतयोग्य कार्यक्रम मानिएको छ । सोही अभियान स्वरूप पहिलो चरणको प्राबिधिक तालिम लिएका दुई सय ३२ जना युवाहरुलाई बुधबार एक समारोहका बीच प्रमाणपत्र वितरण गरिएको छ ।
सीप विकास तालिम केन्द्रमार्फत यी युवाहरुलाई कुक, एसी तथा रेफ्रिजेरेटर मर्मत तथा प्लम्बिङ्ग र फेशन डिजाइनर सम्बन्धी सीप सिकाइएको थियो । कुक तालिम लिएका ८० जना, एसी तथा रेफ्रिजेरेटर मर्मत तालिम लिएका ४६ जना, प्लम्बिङ्ग तालिम लिएका १२ जना र फेशन डिजाइन तालिम लिएका ९४ जनालाई बुधबार सीप सिकेको प्रमाण पत्र वितरण गरिएको उपमहानगरका प्रमुख सुवेदीले जानकारी दिनुभयो । सिकाइएका बुटवलको समृद्धिका लागि बुटवलबासीकै योगदान र सहकार्य भन्ने मान्यताका साथ अभियानमा तालिम प्रदायक र रोजगारदाताले समेत सहकार्य गर्न आएको मेयर सुवेदीको भनाइ छ ।


उपमहानगरपालिकाले सुरु गरेको यो अभियानमा यसक्षेत्रका रोजगारदाता र प्राबिधिक शिक्षा केन्द्रहरुले सहकार्य गरेका छन् । तालिम लिन इच्छुकको विषय छानेर तिनै तालिम प्रदायककोमा पठाइएको र तालिम कम्तिमा तीन महिनाको सिकाइएको उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो ।
सीप सिकेका युवाहरुलाई रोजगारीका लागि रोजगादाताहरुसंगको समन्वयमा अर्को चरणको कार्यक्रमसमेत अगाडि बढाउने बारेमा छलफल भइरहेको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो ।
त्यसअवसरमा सीप विकास तालिम केन्द्र बुटवलका केन्द्र प्रमुख उमेश शर्मा, शाखा अधिकृत बालकृष्ण पौडेललगायतका विभिन्न विषयका प्रशिक्षकहरुले बुटवल उपमहानगरपालिकाको अभियानले सीपयुक्त जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । अभियानले युवाहरुमा उत्साह र जाँगर बढाएको उल्लेख गर्दै उहाँहरुले अब उपल्लो स्तरको तालिमको समेत व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
दक्षजनशक्ति उत्पादनमा उपमहानगरको सराहनीय काम ः रोजगारदाता
रोजगारदाता संस्थाहरुका तर्फबाट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसी, बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि अर्याल, उद्योग संघका वरिष्ठ उपाध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका महासचिव प्रकाश ढकाललगायतले दक्ष जनशक्तिको अभाव भइरहेका बेलामा बुटवल उपमहानगरपालिकाले महत्वपूर्ण कामको सुरुआत गरेको भन्दै अब आफुहरुले तालिम लिएका युवाहरुबाटै जनशक्ति लिने प्रतिबद्धता जनाउनुभयो ।


तालिमले हिम्मत आँखा देखायो, बढायो ः प्रशिक्षार्थीहरु
विभिन्न विषयमा तालिम लिएका प्रशिक्षार्थीहरुले तालिमले आफुहरुको आँखो खुलेको र हिम्मत बढाएको प्रतिक्रिया दिएका छन् । सुरुमा पत्रकारिता तालिमको चाहना राखेका तर, साथीहरुसंगै एसी बनाउने तालिम लिएका बुटवल–१६, सेमलारका युवा त्रिभूवन कंडेलले तालिमले आत्मविश्वास हौसला दुबै बढाएको बताउनुभयो । उहाँले आधारभूत तालिम लिएकालाई अर्को एड्भान्स तालिमको व्यवस्था गर्न जरुरी रहेको कंडेलजस्ता युवाहरुको माग छ । कुकको तालिम लिएकी कालिकानगरकी मायादेवी सारु, बेलबासकी सिर्जना पन्थी, पाखापानीकी बेबी रायमाझी तथा फेसन डिजाइनको तालिम लिएकी राधिका घिमिरेलगायतले तालिमले दक्ष बनाउने काम गरेको प्रतिक्रिया दिनुभयो । उहाँहरुले अर्को उपल्लो स्तरको तालिमको पनि खाँचो रहेको बताउनुभयो ।
सीप सिकेका विषयहरु
युवाहरुलाई हेभी हाइड्रोलिक सिस्टम (स्काभेटर, डोजर, ग्रेडर, रोलर, भाइब्रेटर) का उपकरणहरुको मर्मत गर्नेबारे तालिम दिइएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले बताउनुभयो । अटो मेकानिक्स, जनरल मेकानिक्स, विल्डिङ सोलार इलेक्ट्रिकल, होटल म्यानेजमेन्ट अन्तर्गतको कुक तालिम, तथा एसी, रेफ्रिजरेटर मर्मतलागायतका विषयमा तालिम दिइएको उपमहानगरपालिकाका सामाजिक शाखा प्रमुख भुवाप्रसाद लुइँटेलले बताउनुभयो । पहिलो चरणको तालिम समापन समारोहको सञ्चालन सामाजिक शाखाका अधिकृत दामोदर ज्ञवालीले गर्नुभएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार