प्रदेश ५ को प्रदेशसभाको पहिलो बैठक बसेको १ वर्ष पुरा - Butwal Online

बुटवल, २१ माघ । प्रदेश ५ को प्रदेशसभाको पहिलो बैठक बसेको १ वर्ष पुगेको छ । सरकारले बुटवललाई अस्थायी राजधानी तोकेपछि प्रदेश ५ का ८७ प्रदेशसभा सदस्यले गतवर्षको पुस २७ मा बुटवल उद्योग वाणिज्य संघको सभाहलमा सपथ लिएका थिए । एक बर्षको उपलक्ष्यमा स्थापना दिवस समेत प्रदेश सभाले मनायो ।


प्रदेश सभा स्थापना भएको १ बर्ष पुग्दा समेत प्रदेशको स्थायी नामाकरण र राजधानी दिन नसकेको प्रदेश सभाले १ वर्षको अवधिमा जम्मा १६ वटा कानून निर्माण गरेको छ । १ वर्षमा प्रदेश सभाका ६३ वटा बैठक बसेको छ । प्रदेशको अहिले तेस्रो अर्थात् विधेयक अधिवेशन चलिरहेको छ । प्रदेश सभाको पहिलो अधिवेशनबाट ८ र दोस्रोबाट ७ र तेस्रोबाट एउटा कानून निर्माण गरी प्रमाणीकरण भइसकेको छन् । प्रदेश सभा स्थापना दिवसको अवसरमा बोल्दै प्रदेश प्रमुख उमाकान्त झा ले पुर्वाधार, जनशक्ति अभावको बाबजुत प्रदेश सभाले गरेको कार्यको मुल्यकन गर्नुपर्ने बताएका छन् । उनले समृद्ध नेपाल , सुखी नेपालीको नारालाई साकार पार्ने दायित्व सबैको रहेको भन्दै यसमा सबैले साथ दिनुपर्ने बताए ।
यो एक बर्षको अवधि भौतिक पुर्वधारको व्यवस्थापन, कर्मचारीको अभावका बीच पनि सफल भएको महशुस सत्तापक्षले गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलले कर्मचारी अभाव भातिक पुर्वधारका बीच पनि प्रदेश सरकाले उपलब्धी हुने गरी काम गरेको बताए ।
यसबीचमा प्रदेशको स्थिति पत्र, नीति तथा कार्यक्रम, आर्थिक वर्ष २०७४÷७५ को बजेट, २०७५÷७६ को बजेट पास गरेको भएको थियो । तर प्रतिपक्ष दलले भने सरकारले १६ वटा विधेयक बनाउनु बाहेक अन्य कुनै पनि काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।



प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदिय दलका नेताबलदेव शर्मा पोखरेलले सरकारले गति लिने गरी काम नगरेको आरोप लगाए । “हामीले बारम्बार प्रदेशको राजधानी र नामाकरण गर्न भन्यौ, तर अहिले सम्म भएन” उनले भने । त्यस्तै राष्ट्रिय जनता पार्टीकी सांसद कल्पना पाण्डेले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताईन ।
त्यस बाहेक पनि प्रदेश सरकारको एक बर्ष त्यति सुखद भने बन्न सकेन । प्रदेश सभाले ८ करोड रूपैयाँका १४ वटा गाडी खरिद गरेको छ । ती गाडीमा अनियमितता भएको आशंकामा सार्वजनिक लेखा समितिले छानबिन गरिरहेको छ । प्रदेश सभालाई पहिलो वर्षमै भ्रष्टाचारको दाग लागेर छानबिनको प्रक्रिया अगाडि बढेको छ । स्थापना दिवसको अवसरमा उत्कृष्ठ कर्मचारीको रुपमा सचिवालयका कम्प्युटर अधिकृत मनोज कुमार पाण्डेय, नायव शुब्बा दिवाकर पन्थी, मर्यादापालक जवान ओम प्रकाश डांगी, कार्यालय सहयोगी कल्पाना विष्ठ लाई नगद सहित सम्मान गरिएको थियो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार