बुटवल, २९ माघ । प्रदेश नम्वर ५ को स्थायी राजधानी र नामाकरण सिफारिस गर्न बनेको विशेष समितिका सदस्यहरुको नाम फेरबदल भएको छ । आज बसेको प्रदेश सभा बैठकमा समितिका सदस्यहरुको नाम फेरबदल भएको हो ।


यस अघिका बैठकमा विशेष समितिमा प्रदेशका १२ जिल्लाकै सदस्यहरुको प्रतिनिधित्व हुनुपर्ने विषय उठ्दै आएको हो । नेपाली काग्रेसका तर्फबाट प्रदेश सभाका सदस्य रुपन्देहीका अष्टभुजा पाठकको स्थानमा नवलपरासीका बैजनाथ कलवार तथा नेकपाका तर्फबाट सदस्य बनेको अर्घाखाँचीका चेतनारायण आचार्य स्थानमा बाँके का बावुराम गौतम र बर्दियाका दिपेश थारुको स्थानमा रुकुमका तेज बहादुर वलीको नाम थपिएको छ ।
नाम फेरबदल सम्बन्धमा बैठक अघि सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दल बीच सहमती भएपछि निर्धारित समय भन्दा ३५ मिनेट ढिला गरी मात्र बैठक बसेको थियो । प्रतिपक्ष दलले अष्टभुजा पाठकको स्थानमा नवलपरासी बाट बैजनाथ कलवारलाई राख्ने निर्णय गरेपछि मात्र सत्तारुढ दल नेकपाले बैठक बसेर सदस्यहरु फेरबदल गरेको हो ।
समितिले अब फागुन ५ गते देखि तिब्र गतिमा काम गर्ने बताइएको छ । समितिले एक हप्ता सम्म जिल्लामा पुगेर सुझाव लिने नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले जानाकारी दिए । फागुन ५ गते विशेष समिति सुझाव सल्लाहका लागि जिल्ला दौडमा हुने भएकाले प्रदेश सभा बैठक समेत त्यस बीचमा नबस्ने बताइएको छ ।
यसैबीच प्रदेश सभा बैठकमा मंगलबार प्रदेश नंं ५ खानी अन्वेषण र व्यवस्थापन सम्बन्धी बनेको विधेयक माथी दफाबार छलफल भएको छ । छलफलमा बोल्दै नारायण प्रसाद आचार्यले खानीको अन्वेषणको अधिकारी प्रदेश सरकारको हुनुपर्ने बताए । त्यस्तै डिल्ली बहादुर चौधरीले खानी अन्वेषण गर्दा पानीको मुहना, बालुवा खानीको संरक्षण गर्दै गर्नुपर्ने बताए । त्यस्तै पुष्पा थरुनीले जोखिम र दुर्घटना न्युनिकरणको कार्ययोजना बनाएर मात्र अन्वेषण गर्नुेमा जोड दिईन । सांसद तुलारम घर्ती मगरले सिद्धार्थ राजमार्गमा बाटो विग्रनु खानीकै कारण भएको भन्दै कहाँबाट कसरी खानी लैजाने भन्ने अधिकार स्थानियलाई दिनुपर्ने बताए ।
छलफल पछि उठेका प्रश्नको जवाफ दिदै मन्त्री लिला गिरी बातावरणिय प्रभाव, पानीका मुहानको संरक्षणमा ध्यानमा दिएर काम गर्ने बताए ।
त्यस्तै बैठकमा प्रदेश नं. ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिबेदन सहितको विधेयक सभामा प्रस्तुत भएको छ । उक्त विधेयकलाई प्रदेश मामिला तथा कानुन समितिका सभापती दामा कुमारी शर्माले सभामा प्रस्तुत गरेकी थिईन । त्यसैगरी प्रदेश नं. ५ प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नविकरण तथा स्तरोन्नती गर्न बनेको विधेयक र प्रदेश नं. ५ बालबालिकाको हक अधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बैठकमा पेश भएको थियो ।
संसदको अर्को बैठक फागुन ५ गते बस्नेछ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार