सेवाग्राहीलाई सघाउन बुटवलमा जनप्रतिनिधिको सहायता कक्ष - Butwal Online
सेवाग्राहीलाई सघाउन बुटवलमा जनप्रतिनिधिको सहायता कक्ष

बुटवल, फागुन २२ । स्थानीय सरकारमा सेवा लिन आउने कुनै पनि सेवाग्राहीका कामलाई सहज र छरितो बनाउने उद्देश्यले बुटवल उपमहानगरपालिकाले जनप्रतिनिधि सेवाग्राही सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।


खासगरी भवन निर्माण, घर–नक्सासम्बन्धी काम र पूर्वाधार निर्माणका कामहरुमा सेवाग्राही तथा उपभोक्ता समितिका गुनासाहरु आइरहेका बेलामा जनप्रतिनिधिहरुले नै सहजिकरण गर्ने गरि मुलुकमै पहिलो पटक यस्तो सेवाग्राही सहायता कक्षा बुटवलमा सुरु गरिएको हो ।
बुधबार एक समारोहका बीच नगर प्रमुख शिवराज सुवेदीले उक्त सहायता कक्षको शुभारम्भ गर्नुभयो । त्यसक्रममा उहाँले सेवाग्राहीका काममा सहजिकरण ल्याउने र परिवर्तनको समेतकेही अनुभूति दिलाउने लक्ष्यका साथ यस्तो कक्ष सञ्चालनमा ल्याइएको बताउनुभयो ।
उहाँले कुनै पनि सेवादेहीले वा जनप्रतिनिधिले जायज काममा पनि आनाकानी गर्ने, अतिरिक्त लाभको आशा गर्ने र सेवाग्राहीलाई झन्झट दिने गरेमा उजुरी पेटिकामा विवरणसहित उजुरी दर्ता गराउनेसमेत व्यवस्था मिलाइएको जानकारी दिनुभयो । त्यस्ता उजुरीहरुको छानबिन गरेर सम्बन्धित व्यक्तिलाई आवश्यकताअनुसारको निकायबाट जवाफदेही बनाइने उहाँको भनाइ थियो ।
त्यस अवसरमा उपप्रमुख गुमादेवी आचार्यले नागरिक वडापत्रलाई व्यवहारिक बनाउने गरि यस्तो कक्षको सञ्चालन गरिएको बताउनुभयो । सेवाग्राहीका गुनासा कम गर्ने र सेवाप्रवाहलाई चुस्त बनाउने उद्देश्यले नौलो थालनी गरिएको कार्यपालिका सदस्य तथा सहायता कक्षका संयोजक रञ्जित शेरचनले बताउनुभयो ।
जनप्रतिनिधि सेवाग्राही सहायता कक्षमा कार्यपालिका सदस्यहरु नै पालैपालो निरन्तर रहनेगरि समयतालिका मिलाइएको नगरकार्यपालिका सदस्य तथा वडा नं. ६ का अध्यक्ष जगदिशचन्द्र आचार्यले बताउनुभयो ।


सेवाग्राही शुभारम्भ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल, उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मी, वरिष्ठ अधिकृत विष्णुप्रसाद खनाल, वरिष्ठ अधिकृत तथा उपमहानगरका योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठ, वरिष्ठ इन्जिनियर गौतम रौनियार, इन्जिनियरहरु अनिल माण्डव्य, ज्ञानप्रसाद अर्याल, पत्रकार महासंघ पाँच नम्बर प्रदेशका कार्यवाहक अध्यक्ष भरत केसी, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, पानस फाउण्डेशनका अध्यक्ष डीआर घिमिरेलगायतले सहज र छरितो सेवाप्रवाहमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
यो सहायकता कक्षमा संयोजकसहित कार्यपालिकाका सात जना सदस्यहरु हुनुहुन्छ । कार्यपालिका सदस्यहरु सीता थापा आचार्य, विमला श्रेष्ठ, माया बराल, शुष्मा अर्याल र डिलबहादुर नेपालीले पालैपालो सेवाग्राहीका काममा सहयोग गर्नुहुनेछ ।
घरनक्सा पासको टाइम कार्ड लागू
बुटवल उपमहानगरपालिकाले भवन संहीताको पूर्ण कार्यान्वयनमा जोड दिंर्दै सेवाग्राहीका लागि घरनक्सा पास सम्बन्धी विशेष जानकारी पुस्तिकासहितको टाइम कार्ड लागु गरेको छ । बुटवल उपमहानगरपालिकामा घर बनाउने कुनै पनि सेवाग्राहीले आफुले पालना गर्नुपर्ने नियम र भवनसंहीताको मापदण्डका सबै प्रक्रियाका बारेमा पूर्ण जानकारीसहितको पुस्तिका प्रकाशन गरिएको उपहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।


बुधबार एक समारोहका बीच उपमहानगरपालिका प्रमुख सुवेदीले उक्त व्यवस्थाको सुरुआत गर्नुभयो । सेवाग्राही हेमबहादुर रावललाई त्यससम्बन्धी इजाजतपत्र, घरनक्सापास सम्बन्धी जानकारी पुस्तिकासहितका कागजात हस्तान्तरण गर्दै उक्त कार्यक्रमको शुभारम्भ गरिएको योजना प्रमुख इन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो । बुटवल उपमहानगरपालिकाले अहिले इलेक्ट्रोनिक्स विल्डिङ परमिट सिस्टममा भवनहरुको विवरणलाई अनलाइनमार्फत व्यवस्थित गरिरहेको छ । गत वर्ष वैशाख १ गतेदेखि यस्तो प्रणाली सुरु गर्ने बुटवल उपत्यका बाहिरको पहिलो नगर हो । यस प्रणाली अन्तर्गत हालसम्म एक हजार दुई सय ७६ नक्सा दर्ता भएको र तीन सय ५० जनाले सम्पन्न प्रमाणपत्र लिइसकेको इन्जिनियर सन्तोष पाण्डेले जानकारी दिनुभयो ।

 

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार