बुटवलको वाइपास सडकमा फुटपाथसहित डवल लेनको बन्ने भयो नयाँ पुल - Butwal Online

बुटवल, फागुन २८ । बुटवलको व्यस्त वाइपास सडकको तीनकुने नजिकैको सोह्र–छत्तीस नहरमा अब नयाँ पुल बन्ने भएको छ । बुटवल उपमहानगरपालिकाले साँघुरो र कमजोर बन्दै गएको पुललाई हटाएर फुटपाथसहित डवल लेनको बनाउन लागेको हो ।


सबैभन्दा ठूलो जनसंख्या रहेको वडा नं.११ र ९ लाई जोड्ने यो महत्वपूर्ण पुलको नगर प्रमुख शिवराज सुवेदीले मंगलबार एक समारोहबीच शिलन्यास गर्नुभयो । बुटवलका आन्तरिक वाइपासका सबै सडकहरुलाई स्तरोन्नति र विस्तार गरिने बताउँदै प्रमुख सुवेदीले विकास निर्माणका काममा नियमित निगरानी गर्न स्थानीय उपभोक्ताहरुलाई आग्रह गर्नुभयो ।
पुल निर्माणका लागि बाबुल–दिव्या जेभी कम्पनीसंग हालै सम्झौता भएको र ०७६ असारमा निर्माण सक्ने लक्ष्य रहेको बुटवल उपमहानगरपालिका योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिनुभयो । एक करोड ४० लाख २४ हजार ३ सय ८६ रुपैयाँ बराबरमा ठेक्का सम्झौता भएको इन्जिनियर रुक्मागत बस्यालले बताउनुभयो ।
शिलन्यास समारोहमा उपप्रमुख गुमादेवी आचार्य, वडा न ९ का अध्यक्ष बिष्णुबहादुर थापा, ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, वडा सचिव टीका भण्डारीलगायतले समयमै निर्माणकार्य सक्न आग्रह गर्नुभयो । बुटवल उपमहानगरले कालिका पथ र श्रवणपथलाई आन्तरिक वाइपासका महत्वपूर्ण सडकका रुपमा स्तरोन्नति गर्न लागिरहेको छ । यहीँ क्रममा तीनकुले नजिकैको सोह्रछत्तीसको पुल बन्न लागेको हो ।
श्रवणपथ अन्तगर्तकै हिलपार्क गेट नजिकैको सुखौरा खोलामा पनि अर्को पुल निर्माण भइरहेको छ । आन्तरिक वाइपासका सडकहरुलाई बुटवलको चक्रपथमा जोड्ने गरि निर्माण कार्यका योजना बनिरहेको उपपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकरी दिनुभयो । बुटवल उपमहानगरले सबै १९ वटै वडाहरुलाई सडक सञ्जाल पु¥याउँदै त्यसैमार्फत छिमेकका अरु पालिकाहरुसंग जोड्नेगरि योजना बनाइएको प्रवक्ता रेग्मीको भनाई छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार