लैंगिकता, महिला र बालबालिकाका क्षेत्रमा लगानी बढाउन सुझाब - Butwal Online

बुटवल –दिगो र प्रभावकारी विकासका लागि लैंगिकता, महिला र बालबालिकाका क्षेत्रमा लगानी बढाउन सरोकारवालाले सुझाब दिएका छन् । विकासको सुचकांकका लागि पनि लक्षीत वर्गको क्षेत्रमा गरेको लगानीलाई प्रभावकारी बनाउन र लिपीवद्ध गर्न उनीहरुले आग्रह गरे ।


तिलोत्तमा नगरपालिका र सञ्चारिका समूह प्रदेश ५ ले आयोजना गरेको समाचारमा लैंगिकता, महिला र बालबालिका विषयक अन्तर संवादमा सहभागीले यस्तो आग्रह गरेका हुन् । स्थानीय तहले भौतिक पूर्वाधारलाई मात्रै विकासको मापन बनाउने र प्रचार गर्ने गर्दा सामाजिक विषय ओझेलमा परेको सरोकारवालाले बताए । यो अवस्था फेर्न नीति, योजना, बजेट र कार्यक्रमलाई लैंगिक र समावेशी बनाउन उनीहरुले आग्रह गरे । स्थानीय निकाय छदा कुल बजेटको ३५ प्रतिशत बजेट लक्षीत वर्गलाई छुट्याउने प्रावधान हटाएको भएपनि त्यस क्षेत्रमा बजेट नघटाउन उनीहरुले सुझाब दिए ।
कार्यक्रममा समाचारमा लैंगिकता, महिला र बालबालिकाका विषयमा पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार दिपक ज्ञवालीले अवधारणा प्रस्तुत गरेका थिए । उनले जनसंख्यामा ५१ प्रतिशत महिला र २० प्रतिशत बालबालिका रहेपनि संचार माध्ययमले उनीहरुका मुद्धालाई खासै ध्यान नदिएको बताए । औपचारिक समाचारमा मात्रै आधारित रहदा यति ठूलो जनसंख्याले संचारमाध्ययममा सही ठाउ नपाएको भन्दै यसलाई फेर्न आग्रह गरे । तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरी चौधरीले नगरपालिकाले न्यायीक समिति, नीति र विकास योजनाबाट सामाजिक विषयलाई प्राथमिकता दिएको बताइन् ।

तर, तत्काल नतिजा नआउने भएकाले तिनको पनि उपलब्धीलाई लिपीबद्ध गर्न नसकिएको उनले जनाइन् । उपप्रमुख चौधरीका अनुसार नगरपालिकाले ४ वर्षभित्रमा लैंगिकमैत्री शहर बनाउन नगरपालिकाले कार्ययोजना तयार गरेको छ । महिलालाई सीप र रोजगारीमा जोड्न स्रोत व्यवस्थापनमा सहयोग गरेको छ । बाल विकासका लागि सामुदायिक बाल विकास केन्द्रका बालबालिकालाई निशुल्क खाजाको व्यवस्था गरेको छ । हरेक विद्यालयमा यौटा नमुना कक्षाको व्यवस्था गरेको छ । विद्यालयका छात्रालाई निशुल्क प्याडको व्यवस्था गरेको छ भने विद्यालयमा यौटै रङ लगाएर बालमैत्री बनाउने अभ्यास गरेको छ । सुरक्षीत मातृत्व सेवालाई प्रभावकारी बनाउन सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई थप ५ सय रुपैया“ सहयोग गरेको छ ।
नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले लक्षित वर्गको सशक्तिकरणका लागि माग र आवश्यकतामा आधारिक कार्यक्रमलाई जोड दिएको बताए । आर्थिक सशक्तिकरणका लागि उनीहरुको सीपलाई रोजगारीमा जोड्न हरेक काममा अनुदान र सहयोगको व्यवस्था गरेको उनले बताए ।
नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत कृष्णप्रसाद सापकोटाले महिला र बालबालिकाका लागि यति नै भनेर प्रतिशतमा लक्षीत बजेट नुछुट्याएपनि हरेक खालका अभियान र क्रियाकलापमा जोडेको बताए । अब महिला र बालबालिकाका क्षेत्रलाई प्राथमिकतामा राखेर गरेका कामको लिपीबद्ध गर्ने उनले बताए । कार्यक्रममा संचारिका समूहका महासचिव अमृता अनमोलले समाचारमा लैंगिकता, महिला र बालबालिकाको विषय उठान र स्थानीय तहलाई सचेत बनाउन कार्यक्रम आयोजना गरेको बताइन् । प्रेस युनियन रुपन्देहीका अध्यक्ष रेखा भुसालले महिलाका सवालमा नगरपालिका थप संवेदनशील हुनुपर्ने बताइन् । पत्रकार इन्दिरा अर्यालले महिलासंग जोडिएका यौनिकता र विवाह संस्कार फेर्ने अभियान थाल्न आग्रह गरिन् । संस्थाका अध्यक्ष पार्वती पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव माया केसीले गरेकी थिइन् ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार