तीन पुस्तादेखि हाम्रो परिवार साहित्यमा छ । नेपालमा एक पुस्ता साहित्यमा लाग्यो भने आर्थिक अभावका कारण परिवारको जग यसरी हल्लन्छ । मन हुँदाहुँदै पनि दोस्रो पुस्तालाई त्यो बिरासत हस्तान्तरण गर्न कुनै श्रष्टा चाहँदैन । सायद यही कारण नाम चलेका कुनै पनि साहित्यकारका सन्तानले साहित्यलाई निरन्तरता दिएको मैले देखेको छैन । यो बाध्यता हो भन्ने मलाई बारम्बार अनुभव भइरहन्छ । हाम्रो परिवार त्यसको अपवाद रही आएको छ ।

साहित्यलाई जीवन कर्मकै हिस्सा बनाउने संस्कार हजुरबुवा पण्डित सोमनाथ घिमिरे व्यासदेखि नै हाम्रो घरमा शुरु भएको हो । त्यसैको निरन्तरताका रूपमा बुवा रोचक घिमिरेको सम्पादन र प्रकाशनमा विगत ५८ वर्षदेखि ‘रचना’ साहित्यिक पत्रिका प्रकाशित हुँदै आएको छ । द्वैमासिक रूपमा प्रकाशित हुने यस पत्रिकाको हालसम्म १५८ औं पूर्णाङ्क प्रकाशित भइसकेको छ ।

साहित्य शिरोमणि लेखनाथ पौडेल र महाकवि लक्ष्मीप्रसाद देवकोटाका अनन्य मित्र मेरा हजुरबुवा सोमनाथ घिमिरेका केही कृति चर्चित थिए । बुवाले साहित्य सृजनाका साथ ‘रचना’ को प्रकाशन सुरु गरेपछि हाम्रो परिवार साहित्यकारहरूसँगको संसारमा प्रवेश भयो । म जन्मनुभन्दा ११ वर्ष अघि नै ‘रचना’ प्रकाशन हुन थालिसकेको थियो । अहिले नाति पुस्ता साहित्यको संसारमा छौ किनभने ‘रचना’ लाई सम्पादन सहयोगीको जिम्मेवारी मैले लिएको छु । प्रवन्धनको काम दाजु सुधीर घिमिरेले गर्दै आएका छन् ।

‘रचना’को सम्पादन सुरु नभएको भए हामी दुई भाइ रहरमा साहित्य कोर्दथियौं होला तर साहित्यको संसार हामीलाई थाहा हुने थिएन । नेपालका ‘लिजेन्ड’ साहित्यकारहरूलाई मैले पनि प्रत्यक्ष भेट्न पाउने थिइन । अहिले उहाँहरुसँगको उठबसको स्मरणसम्म गर्न पाउँदा पनि गौरवानुभूतिले मन गदगद हुन्छ । बुवासँग राम्रो सम्बन्ध भएकाहरूमध्ये सिद्धिचरण श्रेष्ठ, भैरव अर्याल, भूपी शेरचन, जगदीश घिमिरे, वासुदेव लुइँटेल, रमेश विकल, कमल दीक्षित, मनु ब्राजाकी, मनुजबाबु मिश्र, शिव रेग्मी, बालकृष्ण पोखरेल आदि अहिले हामी बीच हुनुहुन्न । वहाँहरूसँग मैले पनि थोरबहुत संगत गर्ने अवसर पाएको छु । यिनैमध्ये कवि भूपि शेरचनसँग सम्बन्धित आफ्नो बाल्यकालीन स्मरण यहाँ चर्चा गर्दैछु ।

भूपेश, कवि भूपि शेरचनको सुपुत्र । ऊ मेरो कक्षा एकदेखिको सहपाठी हो । कक्षा तीनसम्म हामीले शहीद स्मारक आवासीय माध्यमिक विद्यालयमा पढ्यौं । त्यसपछि कक्षा ४ मा मलाई काका टेकप्रसाद घिमिरेले सिद्धार्थ वनस्थलीमा भर्ना गरिदिनुभयो । वहाँ त्यहीं पढाउनुहुन्थ्यो । हामी दाजुभाइ नै त्यहाँ भर्ना भएका थियौं ।

स्कूल खुलेको पहिलो दिन नै हामी स्कूल गयौं । स्कूलकै बसबाट स्कूल जाने आउने गर्दथ्यौं हामी । हाम्रो रुटमा चल्ने बसको पहिलो स्टप नागपोखरी थियो । त्यसपछि गहिरीधारा, टंगाल, नक्साल, कमलपोखरी, डिल्लीबजार, बानेश्वर, गौशाला, चावहिल, महाराजगञ्ज हुँदै बसले बालाजुस्थित स्कूल पुर्‍याउँथ्यो र त्यही रुट हुँदै फर्काउँथ्यो ।

साथीहरू सबै नयाँ अनि स्थान, परिवेश सबै नौलो भएकोले होला ! स्कूल खुलेको पहिलो दिन त्यति रमाइलो भएन । पढाइ नभएकोले त्यो दिन खेलेर नै बित्यो ।

दुईचार दिन त्यसरी नै बित्यो । मेरो बस स्टप टंगालमा थियो । बस रोक्ने यो तेस्रो स्टप थियो । एकदिन हामी बस चढ्दा भूपेश पनि त्यही बसमा रहेछ । उ पहिलो स्टप नागपोखरीबाट चढेको थियो । सीटहरू खालीखाली नै थिए । बसभित्र भूपेशको र मेरो देखादेख भयो । ऊ पनि मेरै स्कूलमा भर्ना भएको रहेछ । पुरानो स्कूलमा पनि सँगै पढेको र अहिले पनि सँगै हुन पाउँदा हाम्रो खुशीको सीमै रहेन । हामी झनै नजिकियौं । कमलपोखरी स्टपबाट वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठ पनि बस चढ्थे । उनी पनि मिल्ने साथी भए ।

भूपेश र म साहित्यिक वातावरणमै हुर्किएकाले हाम्रो सम्बन्ध अन्य साथीहरूमाझ विशेष हुने गर्दथ्यो । चार कक्षामा पढिसक्दा नै हामी लक्ष्मीप्रसाद देवकोटा, पारिजात, सिद्धिचरण श्रेष्ठ, वालकृष्ण सम, लेखनाथ पौडेल जस्ता साहित्यिक महारथीहरूका नामसँग परिचित भै उहाँहरूका बारेमा आफूलाई लागेका कुराहरू चर्चा गर्ने भैसकेका थियौं ।

तर, यस्ता चर्चा हामीले उहाँहरूका कृतिहरू पढेर, उहाँहरूलाई साँच्चिकै जानेर, बुझेर गरेका भने हुँदैनथ्यौं । ११-१२ वर्षको केटौले उमेरमा साहित्य बुझ्ने ल्याकत हुने कुरा भएन पनि । घरमा आफ्ना बुवालाई भेट्न आउने विभिन्न साहित्यकारहरूले गर्ने साहित्यिक भलाकुसारी सुनेर उहाँहरूले गरेका कुराहरूका आधारमा नै यी साहित्यकार यस्ता हुन् ! यी यस्ता हुन् भनेर आपसमा तर्क वितर्क गर्दथ्यौं हामी । तर, ती तर्क वस्तुनिष्ठ विश्लेषणमा आधारित नभई वालसुलभ उरण्ठ्याउले लहडी तर्क पनि हुन्थे ।

तर, पनि साथीहरूमाझ हामी विशेष हुन पुग्थ्यौं । किनभने तिनीहरूले पनि ती साहित्यिक नामहरू रेडियो, पत्रपत्रिकामा सुनेका-पढेका हुन्थे र यस्ता ठूला ठानिएका मान्छेहरूलाई यिनीहरूले चिनेका रहेछन् भनेर तिनीहरू हामीलाई विशेष नजरले हेर्थे ।

त्योबेला भूपि शेरचन अत्यन्त चर्चित हुनुहुन्थ्यो । उहाँका कविता छाप्न पाउनु पत्रिकाका लागि पनि इज्जतका कुरा हुन्थे । ‘रचना’मा उहाँका धेरै चर्चित कविता छापिएका थिए । त्यसमध्ये ‘घण्टाघर’ कविता प्रकाशित भएपछि त्यसले नेपाली साहित्यमा सानोतिनो तरंग छाएको थियो । ‘हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए, बन्दैन देश दुईचार सपुत मरेर नगए’ कविता पनि पहिलो पटक ‘रचना’ मै प्रकाशित भएको थियो ।

भूपेश र मेरो दोस्ती गाढा हुनुमा रचनामा यी कविता छापिनुले पनि महत्वपूर्ण भूमिका खेलेको थियो भन्ने अहिले आएर थाहा हुँदैछ । एकातिर पिता पिता बीचको सर्जक र सम्पादकका रूपमा रहेको साहित्यिक सम्बन्ध अनि अर्कोतिर भूपेश र मेरो कक्षा एक देखिकै आत्मीय सम्बन्धले गर्दा हामी दुवै परिवारबीच अत्यन्त सुमधुर सम्बन्ध हुनपुग्यो । आज पनि त्यो सम्बन्ध यथावत छ ।

०४१ सालको चैतमा रमेश विकलको गाउँ आरुबारीमा ‘ग्राम निर्माण बन्धु मण्डल क्लब’ को आयोजनामा वृहत् कवि सम्मेलन भएको थियो । उक्त सम्मेलनमा प्रमुख अतिथिका भूपी शेरचन र सिद्धिचरण श्रेष्ठ सभापति हुनुहुन्थ्यो । कवि सम्मेलनमा हामी पनि बुवाको पछि लागेर त्यहाँ गएका थियौं । घर र्फकंदा हामी भूपिकै गाडीमा घर फर्केका थियौं । त्यतिबेला उहाँ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सदस्यका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई प्राज्ञका हैसियतले गाडी सुविधा प्राप्त थियो । उहाँले हामीलाई हाम्रो घर टंगालमा छोडेर आफ्नो नक्साल, नारायण चौरको घर जानुभएको थियो ।

त्यसबेला भूपिले धेरै समयदेखि नयाँ कविता लेख्नुभएको थिएन । गाडीमा र्फकंदा र बेलाबेलाको फोन सम्पर्कमा उहाँसँग बुवाले कविता लेख्न छोड्नु नहुने भन्दै ‘रचना’का निमित्त नयाँ कविता माग्नुभएको थियो । बुवाको अनुरोध अनुसार छोरा भूपेशको हातबाट ‘जब रात पर्छ’ कविता मेरो हातमा आइपुथ्यो र मेरो हातबाट बुवाले प्राप्त गर्नुभयो । कविताको साथमा एउटा पत्र पनि थियो ।

कवितामा ‘दुई विरोधी महाबली बुढाहरू’ को प्रसङ्ग छ । पत्रमा ती दुई बुढाहरु अमेरिका र रुसका तत्कालीन राष्ट्रपतिहरू भएको कुरा उल्लेख गर्नुभएको छ । त्यो कविता ०४२ सालको ‘रचना’ बैशाख-जेठमा प्रकाशित छ ।

भूपि शेरचन पछिल्लो चरणमा निकै बिरामी हुनुभयो । हामी उहाँको घरमा जाँदा प्रायः उहाँलाई ओछ्यानमा पल्टिरहेको अथवा घरको छतमा डुलिरहेको देख्थ्यौं । एकपटक उहाँको घर नजिकैको नारायण चौरको खाली जग्गामा सर्कस लगाइएको थियो । सर्कस आयोजनास्थल ठूला-ठूला पाल-पण्डालले घेरिएका भए पनि भूपिको घरको छतबाट भने चटकेका चटकहरू प्रष्टै देखिन्थे । यही कारण हामी निशुल्क भूपिको घरको छतबाट निशुल्क सर्कश हेरेर मनोरञ्जन लिन्थ्यौं ।

एक दिन हामी स्कुलबाट फर्केर घरको छतबाटै सर्कसका दृश्य हेर्दै थियौं । भूपिले ‘तिमीहरू त्यहीँ गएर सर्कस हेरर आओ’ भनेर भूपेश र मलाई टिकट काट्ने पैसा दिएर सर्कस हेर्न पठाउनुभयो । जाने बेलामा उहाँले भन्नुभएको थियो, ‘हामीलाई छेक्ने गरी सीटमा नबस्नु है ।’

भूपेश र म टिकट काटेर रिंगको सबै भन्दा माथिल्लो लाइनमा बसेर सर्कस हेर्न थाल्यौं । हामी बसेको ठीक पछाडिपट्टी उहाँको घर थियो । घरको छतबाट उहाँ लगायत उहाँका परिवारका अन्य सदस्यहरूपनि सर्कस हेर्दैहुनुहुन्थ्यो । सर्कस स्थलमा तलतल मात्र पर्दाले छेकिएको थियो । घरको माथिल्लो भागबाट सर्कस प्रष्टै देखिन्थ्यो ।

सर्कसमा कुनै विशेष दृश्य आउँदा हामी पछाडि र्फकन्थ्यौं । उहाँहरु पनि छतमा बसेर ती दृष्य हेरेको देख्दा सँगै बसेको भान भइरहेको थियो । त्यसमध्ये एउटा दृश्यमा भूपि हाँसेको अहिले पनि आँखाभरि नाचिरहन्छ । मुखमा अनेक रङ पोतेर अग्लो जीउडालको एउटा जोकर रिंगमा प्रवेश गर्‍यो । उसँग अर्को एउटा बामपुड्के जोकर पनि सँगै थियो । तिनीहरू अनेक हाउभाउ गरेर दर्शक हँसाउनमा तल्लीन थिए ।

यसैबीच पुड्के जोकरले एउटा भरिएको ग्यालेनभरी पानी लिएर आयो । अग्ले जोकरले त्यो पानी घुटु घुटु पारेर सबै निल्यो । जति जति पानी पिउँदै जान्थ्यो उसको भुँडी पनि फुल्दै जान्थ्यो । पानी पिउँदा पिउँदा उसले भरिएको ग्यालेनको सबै पानी रित्यायो । हेर्दाहेर्दै उसको भूँडीले ठूलै आकार लिएको देखियो । पानी पिउँदैमा मान्छेको भूँडी बेलुनमा पानी भरेजस्तो तत्कालै फुल्दै जाने होइन । तर, त्यो जोकर दर्शकलाई मनोरञ्जन दिलाउन आफ्नो भूँडी भरिएको अभिनय गर्दैथियो । हामीलाई उसले ग्यालेनभरीको त्यत्रो पानी एकैचोटि कसरी खायो होला भनेर आश्चर्य लाग्यो । उसले पानी पिएकै छैन ! हामीलाई झुक्याएर शरीरभित्रै कतै लुकाएको होला भन्ने लागिरहेको थियो ।

अग्लेे जोकर सम्पूर्ण ग्यालेन रित्याएपछि आफ्नो भूँडी दमाहा जत्रो बनाएर दर्शक भएतिर रिंग वरिपरि एक दुई राउण्ड घुम्न थाल्यो । यसैबीच पुड्के जोकरले विभिन्न हाउभाउ गर्दै पानी खन्याउने एउटा बाटा त्यहाँ लिएर आयो । अग्ले जोकरले हामी बसेतिर पिठ्यूँ फर्काएर मलद्वारबाट पानी झारेको जस्तो अभिनय गर्दै ध्वारार्र पानीको धारा बाटामा बगाउन थाल्यो ।

मूत्र नलीबाट झार्नुपर्ने पानी मलद्वारबाट उसले कसरी झार्‍यो ? भनेर हामी आश्चर्यमा पर्‍यौं । त्यो जोकरले आफूले पिएको पानी निकालेकै होइन, पहिलेदेखि नै कसैगरी आफ्नो जीउभित्र कतै लुकाएर राखेको पानी पाइपमार्फत् झारेको होला भन्ने हामीले अनुमान गर्‍यौं । किनभने तत्कालै पिएर मूत्रासयमा जम्मा भएको पानी तुरुन्तै धारा बगे जसरी शरीर बाहिर निस्कन असंभव नै हुन्छ । दर्शकहरू भने पेट मिचीमिची हाँस्दै ताली पिटिरहेका थिए ।

यो दृश्य भूपि शेरचनहरू पनि आफ्नो घरको छतबाट हेर्दै हुनुहुन्थ्यो । हामी बसेको सीट पछाडिबाट उहाँहरूलाई घरको छतमा हाँसिरहनुभएको प्रष्टै देखिन्थ्यो ।

०४६ सालमा भूपेश र म हाम्रा विद्यालयमा पढाउनुहुने श्रद्धेय गुरु भीमदर्शन रोकाको महाराजगञ्ज, बाँसबारीस्थित घरमा अंग्रेजी विषयको ट्यूशन पढ्न जान्थ्यौं । उहाँ साह्रै सरल किसिमले विद्यार्थीलाई बुझाउने क्षमता राख्नुहुन्थ्यो । कतिसम्म भने उहाँले सिकाएपछि पटक्कै जान्दै नजान्ने विद्यार्थी पनि अंग्रेजीमा केही न केही जान्ने र बुझ्ने भएर र्फकन्थ्यो ।

रोका र भूपि शेरचन अत्यन्तै मिल्ने साथी पनि हुनुहुँदोरहेछ । पछि थाहा पाउँदै जाँदा उहाँ त नेपाली साहित्यमा आधुनिक मुक्तक विधाको सुरुवात गर्ने व्यक्तिमा पर्नुहुन्छ भन्ने कुरा थाहा भयो । रोका सरले एक घण्टा हामीलाई पढाउँदा आधा घण्टा अगाडि नै आइपुग्न सुझाव दिनुहुन्थ्यो । आधा घण्टासम्म हामीलाई जीवन र जगतबारे विभिन्न प्रेरणाप्रद कुराहरू सुनाउनुहुन्थ्यो । पढाउने कोठामा हार्मोनियम, मादल, बाँसुरीहरू पनि हुन्थे । अनेक हाउभाउ गर्दै कहिलेकाहीँ हामीलाई गीत र राग पनि सुनाउनुहुन्थ्यो । त्यतिबेला उहाँलाई प्यारालाइसिस भएर हातखुट्टामा समस्या देखिएको थियो । अलिक खोल्चिएर हिँड्नुहुन्थ्यो । हात पनि राम्रोसँग नचल्ने हुनाले उहाँले वाद्ययन्त्र भने बजाउनुभएको देखिएन ।

उहाँको कुरा सुन्न पाउँदा हामी मन्त्रमुग्ध हुन्थ्यौं । आधा घण्टाअघि बोलाउनुभए पनि एक घण्टा अघि नै हामी उहाँको घरमा पुग्थ्यौं । पढाउने अवधि एक घण्टाको भएपनि प्रायः डेढ दुई घण्टा त सँधै बितेकै हुन्थ्यो । ट्युसन पढाए वापत उहाँले प्रतिमहिना पचहत्तर रुपैयाँ लिनुहुन्थ्यो । यो तत्कालीन अवस्थामा चलेको भन्दा कम मूल्य हो । विद्यार्थीलाई शोषण गरेर पैसा कमाउने भन्दा पनि उहाँ आफूले जानेको ज्ञान बाँडेर कसरी उसलाई क्षमतावान बनाउने भन्नेतर्फ उन्मुख हुनुहुन्थ्यो । त्यसैले गुरू दक्षिणावापत नगण्य शुल्क मात्र लिनुहुन्थ्यो । कतिपय विद्यार्थीहरु त्यति शुल्क पनि तिर्न नसक्ने हैसियतका हुन्थे । उनीहरुसँग जोरजबरजस्ती गरेको मैले कहिल्यै सुनिनँ । आफ्ना अभिन्न मित्रका पुत्र भएकाले होला, भूपेशसँग पनि कहिल्यै शुल्क लिनुभएन ।

म ट्युसन पढ्न जान थालेपछि उहाँ चुलिएकै साहित्यकार-मुक्तककार हुनु भएको र भूपीका अभिन्न मित्र समेत भएको कुरा थाहा पाएँ । बुवाले उहाँसँग रचना मागेर ल्याउन भन्नुहुन्थ्यो । तर, उहाँले कहिल्यै पनि रचनालाई आफ्नो सिर्जना दिनु भएन ।

त्यो बेलासम्म साहित्यप्रति उहाँलाई एककिसिमले वितृष्णा जस्तो भएको रहेछ । लक्ष्मीप्रसाद देवकोटा, भूपी शेरचन, शंकर लामिछाने, बालकृष्ण सम, बालचन्द्र शर्मा, कृष्णचन्द्र सिंह प्रधान, विजय मल्ल, भैरवबहादुर थापा जस्ता साहित्यिक महारथिहरू साहित्य नै सबैथोक हो भन्नेहरुसँग गहिरो दोस्ती भएका रोका सरमा साहित्यप्रति त्यस्तो वितृष्णा भयो होला ? कहिल्यै थाहा पाउन सकिनँ । यद्यपि कुनै साहित्यकारहरूको प्रसंग चल्दा उहाँहरूलाई अत्यन्त श्रद्धा गर्न भने उहाँ छोड्नुहुन्नथ्यो ।

०४६ साल जेठ १ गते भूपि शेरचनको निधन भयो । संयोगबस यो खबर मैले रोका सरलाई सुनाउनुपर्‍यो । बुवाको निधनका कारण भूपेश केही दिन ट्यूशन पढ्न आउन नसक्ने जानकारी दिने उद्देश्य थियो । तर, आफ्नो अभिन्न मित्रको देहान्तको खबर सुन्नुपर्छ भन्ने कल्पना उहाँले गर्नुभएकै रहेनछ । मेरो खबरसँगै सबै विद्यार्थीहरुका माझमा उहाँ आँखाबाट बलीन्द्र धारा वषर्ाउँदै एकछिन टोलाउनुभयो । हामी सबै अवाक भएर उहाँलाई हेरिरह्यौं । एकछिन् पछि भन्नुभयो, ‘बाबु हो, म आज निकै दुखित छु । मैले मेरा परम मित्र गुमाएको छु । तिमीहरूलाई पढाउन सक्तिनँ । आजलाई घर जाओ ।’

एकपटक रोका सर गम्भीर बिरामी पर्नुभएको थियो । उपचारका क्रममा उहाँलाई केही रगतको आवश्यकता परेछ । विद्यार्थीहरूमाझ उहाँ कतिसम्म लोकप्रिय हुनुहुन्थ्यो भने उहाँका निमित्त रक्तदान गर्न ६०-७० जनाले त नाम नै लेखाएका थिए ।

विद्याथ्र्ाीहरूबाहेक उहाँ विद्यालयका गुरु-गुरुआमामाझ पनि त्यत्तिकै पि्रय हुनुहुन्थ्यो । विद्यालय सँधै निश्चित समयमा पुग्नुहुन्थ्यो । एकदिन उहाँ निर्धारित समय भन्दा केही ढिलो स्कुल पुग्नुभएछ । प्रधानाध्यापक लक्ष्मण राजवंशी सरले किन ढिलो आउनुभयो सर आज ? भनेर सोध्नुभएछ । त्यो दिन उहाँको साइकल चोरी भएको रहेछ । पैदलै आउनुपर्दा उहाँलाई ढिलो भएको रहेछ ।

लक्ष्मण राजवंशी सरसँग आफू ढिलो हुनुको कारण बताएर उहाँ आफ्नो कक्षातिर जानुभएछ । कक्षा सकेर बेलुका घर र्फकने बेला लक्ष्मण राजवंशी सरले उहाँलाई उहाँको साइकल भेटिएको र त्यो उहाँले सँधै साइकल राख्ने ठाउँमा रहेको कुरा बताइदिनुभएछ । स्कूल बाहिर हराएको आफ्नो साइकल स्कूलभित्रै फेला परेको कुराले रोका सर खुशी हुनुभएछ । तर, त्यहाँ पुग्दा आफ्नो पुरानो साइकलको बदला त्यस्तै मोडलको नयाँ साइकल पो देख्नुहुन्छ । भएको के रहेछ भने उहाँको साइकल हराएको खबर थाहा पाएपछि स्कुलका गुरु-गुरुआमा पनि मर्माहत हुनुभएछ । अनि सबैले पैसा उठाएर तत्कालै उहाँले चढ्ने किसिमकै मोडलको नयाँ साइकल किनेर ल्याइ उहाँले थाहा नपाउने गरी उहाँको नियमित साइकल राख्ने स्ट्याण्डमा राखिदिका रहेछन् । यो कुरा मैले स्वयं लक्ष्मण राजवंशी सरको मुखबाट सुनेको हुँ ।

०५९ साल चैत २४ गते रोका सर पनि दिवंगत हुनुभयो । उहाँको सम्झना र सम्मानमा वनस्थलीका ०४० सालको व्याचका विद्यार्थीहरूले ‘भीमदर्शन रोका स्मृति कोष’ स्थापना गरे । जब-जब चैत महिना आउँछ, मलाई भूपिको निधनमा उहाँले विद्यार्थीमाझ तप्पतप्प चुहाएको आँशु आद आउन थाल्छ ।

 

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार