बुटवल, चैत १८ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले औद्योगिक क्षेत्रमा देखिएको अन्यौलको अवस्थालाई चाँडै चिर्ने बताएका छन । उनले संघीयतामा मूलुक गएपछि औद्योगिक प्रशासनमा अलमल देखिएको स्विकार गर्दै अबको दुई महिना भित्र त्यो समस्या समाधान गर्ने बताए । नेपाल सुनचाँदी व्यवसायी महासंघको छैठौं बार्षिक साधरणसभालाई सोमबार बुटवलमा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले औद्योगिक प्रशासनमा दुविधा देखिएको बताए ।


उनले भने –‘औद्योगिक व्यवसाय ऐन संशोधन गर्न खोजेका थियौं । तर यो संशोधन हुन सकेन, अब चाँडै हुनेछ ।’ उनले अब आउने संघीय संसदमा औद्योगिक व्यवसाय ऐन संशोधन गरेर औद्योगिक क्षेत्रमा देखिएको समस्या हल गरिने बताए । उनले सरकार निजि क्षेत्रको प्रबद्र्धन गर्न आवश्यक कानुन निर्माण गरेर सहज वातावरण बनाउने बताए । व्यवसाय दर्ता, नविकरण र कुन उद्योग कस्ले हेर्ने भन्ने अन्यौलता रहेकाले अब केहि महिनाभित्रै १० ठाउँ धाउनुपर्ने समस्याको अन्त्य गरिने बताए ।
ठूला व्यवसायाई लगानी बोर्ड मार्फत एकद्धार प्रणाली लागू गर्न लागिएको अर्थमन्त्री खतीवडाको भनाई छ ।उनले सरकार श्रमजिवि वर्गको पक्षमा रहेकाले सिपमूलूक उद्योगको प्रबद्र्धनमा सहयोगी बन्ने बताए ।
उनले सुनको माग कमी भएको उद्योगीहरुको गुनासोलाई पुर्नविचार गर्न सकिने बताए । उनले सुनलाई आयात मात्रै नभई निर्यात पनि गर्नुपर्नेमा जोड दिए । उनले सुनको आयात र निर्यातका लागि सुनको बैंक स्थापना गर्नुपर्ने बताए । उनले सुनचाँदी व्यवसायीहरुलाई सुन आयात मात्रै नभई यस्ता सुनचाँदी जस्ता धातुहरुको उत्खनन गर्ने सोँचमा लाग्न समेत आग्रह गरे । उनले खानीजन्य उद्योगमा विदेशी लगानीकर्ताको इच्छा बढ्दै गएकाले यस तर्फ नेपालका उद्योगीहरुलाई ध्यानआकर्षण गराए ।
सरकार र निजि क्षेत्रले संयुक्त रुपमा तालिम सञ्चालन गरेर युवा पुस्तालाई जनशक्तिका रुपमा अगाडि ल्याउनुपर्ने बताए । उनले नयाँ पुस्तालाई ल्याउनका लागि सरकार बजेट व्यवस्थापन गरेर जान तयार रहेको बताए ।
उनले सुनचाँदी व्यवसायीहरुलाई लगानी सम्मेलनमा रहेका योजनामा सहकार्य गरेर आफ्नो व्यवसाय माथि उकास्न तर्फ लाग्न समेत आग्रह गरे ।


कार्यक्रममा पूर्व मन्त्री एव्म संघीय सांसद छविलाल विश्वकर्माले सुनचाँदी नेपालको मौलीक पेशा र सिप भएकाले यसको प्रबद्र्धनमा लाग्नुपर्नेमा जोड दिए । उनले नेपालमा आर्थिक प्रगतीका लागि यस्ता सिपमूलूक उद्योगको प्रबद्र्धन गर्न अग्रसर हुनुपर्ने बताए ।
प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले उद्योगी व्यवसायीहरुले व्यवहारिक रुपमा सकस भोगेकाले यसको नितिगत रुपमा सम्बोधन गर्नुपर्ने बताए । कार्यक्रममा सहभागी व्यवसायीहरुले सुनचाँदीको माग बढि भएपनि कमी भएकाले बृद्धि गर्न माग गरेका थिए । सरकारले सुनको आयात र निर्यातमा नितिगत रुपमा सुधार गर्नुपर्ने भएकाले त्यसलाई तुरुन्त सच्चाउन समेत आग्रह गरे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन कुमार सुनारले सनुको माग ३० देखि ३५ किलो दैनिक रहेकाले यसलाई बृद्धि गर्न माग गरे ।
वार्षिक ५० अर्बको कारोबार हुने सुनचाँदी व्यवसायमा स्पष्ट ऐन नहुँदा व्यवसायीहरुले अनावश्यक झनझट भोग्नुपरेको बताए । कार्यक्रममा संघीय सांसद हिराचन्द्र केसी, प्रदेश नम्बर ५ का सांसद भोज प्रसाद श्रेष्ठ, जिल्ला समन्वय समितिका संयोजक एकराज विश्वकर्मा, नेपाल सुनचाँदी व्यवसायी महासंघका सल्लाहाकार रणेन्द्र बराईली, तिर्थमान शाक्य, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन लगायतले बोल्दै सुनचाँदी व्यवसायलाई कानुनी रुपमा अपराधि बनाउने काम भएकाले त्यसलाई राज्यले सुधार गर्नुपर्ने बताए । सो अवसरमा दुई जना पत्रकारलाई सम्मान गरिएको छ ।
नागरिक दैनिकका पत्रकार सन्तोष न्यौपाने र एबिसि टेलिभिजनका रविन्द्र पौडेललाई अर्थमन्त्री खतिवडाले नगद र सम्मानपत्रले सम्मान गरेको छ ।
रुपन्देही सुनचाँदी व्यवसायी संघको आतिथ्यतामा मणिग्राममा शुरु भएको केन्द्रीय साधारणसभाको बन्दसत्र मंगलबार हुने छ । साधारणसभामा देशैभरका ३ सय ५० प्रतिनिधि र १ सय ५० पर्यवेक्षक सहभागी भएका छन । मंगलबार घोषणापत्र जारी गर्दै सकिने रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष एमवि विश्कर्माले जानकारी दिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार