हक्कीमा पुलिस र आर्मी तथा प्रदेश ५ र सुदूरपश्चिम सेमिफाइनलमा - Butwal Online

बाँके, २ बैशाख 
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बाँकेको मंगल प्रसाद मावि खेल मैदानमा जारी पुरुष हक्की प्रतियोगितामा समूह ए बाट विभागिय टोली नेपाल पुलिस र नेपाल आर्मी सेमिफाइनलमा प्रवेश गरेका छन् । भने समूह वी बाट प्रदेश ५ र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार भएको खेलमा प्रदेश नं. २ लाई ६–० गोलले पराजित गरेपछि पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको २१ औँ मिनेटमा पुलिसका रोमन राणाले गोल गरेर खाता खोले । त्यसको लगत्तै उनले नै ३६ औँ मिनेटमा अर्को गोल गरे ।
लगातार गोलको बर्षा गरेको पुलिसका योगेशकुमार बाह्रघरेले ३८ औँ मिनेटमा गोल गर्दा रोमन राणाले ४५ औँ र ४७ औँ मिनेटमा थप दुई गोल गरे । भने, ५३ औँ मिनेटमा पुलिसका केशवराज जोशीले पेनाल्टी कर्नरलाई गोलमा परिणत गरे ।

जितसँगै नेपाल पुलिस क्वल सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलवारदेखि सेमिफाइनलका खेल हुने भएको छ । विहान नेपाली सेना र प्रदेश ५ तथा बेलुका नेपाल पुलिस र सुदूरपश्चिम प्रदेश वीच खेल हुने मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए ।
यसैगरि, खजुरास्थित शुक्र माविमा भएको महिला हक्की प्रतियोगिताको तेस्रो दिन सोमवार विहान भएको पहिलो खेलमा गण्डकी प्रदेशले प्रदेश २ लाई २–० ले पराजित गरेको छ । खेलको २१ औँ मिनेटमा गण्डकी प्रदेशकी सविना पुनमगरले गोल गरिन् ।

तेस्रो क्वार्टरमा प्रदेश २ ले राम्रो अवसर पाएपनि गोल गर्न सकेन । त्यसको फाइदा उठाउँदै ५८ औँ मिनेटमा गण्डकी प्रदेशकी करुणा दर्लामीले गरेर २–० ले आफ्नो टिमलाई अग्रता दिलाइन् ।
त्यसैगरि नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश वीच भएको खेल बराबरी भएको छ । खेलको २७ औँ मिनेटमा सुदूरपश्चिमकी अनिता श्रेष्ठले गोल गरिन । त्यसको जवाफमा नेपाल आर्मीकी दिपकुमारी घलेले १ गोल गरेर आफ्नो टिमलाई बराबरीमा ल्याइन् । खेल अवधिभर नेपाल आर्मीले दुई र सुदूरपश्चिमले एउटा पेनाल्टी कर्नर पाएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार