भैरहवा भन्सारमा घुसको दररेट, यसरि हुन्छ खुलेआम घुस कारोबार - Butwal Online

३ वैशाख, काठमाडौं 

भैरहवा भन्सार कार्यालयको चिरफार आजको अन्नपूर्णले गरेको छ । अन्नपूर्णका अनुसार यो भन्सार कार्यालयमा खुलेआम घुस कारोबार हुने गरेको छ । भन्सार कार्यालय सञ्चालनका लागि सरकारले कर्मचारीको व्यवस्था गरेको छ । तर, यो कार्यालयमा कर्मचारीको कुर्सी प्रायः खाली हुन्छ । एजेन्टले नै भन्सार चलाइरहेका हुन्छन् ।

अन्नपूर्ण लेख्छ– भन्सारमा वस्तुका आधारमा भन्सार मूल्य तय गर्न दररेट बनेको हुन्छ । हरेक वर्ष नयाँ बजेटमा आउने यो सामान्य विषय हो । मुलुककै दोस्रो ठूलो भैरहवा भन्सारमा भने गाडी पास गराएबापत तिर्नुपर्ने घुसको समेत दररेट कायम छ । त्यो कुनै भित्तामा टाँसिएको त छैन । तर, कर्मचारी र एजेन्टलाई कण्ठै छ ।

अन्नपूर्णका अनुसार, भन्सार कार्यालय वरपर एजेन्टको अड्डा छ र त्यही दररेट पाइन्छ । भैरहवा भन्सारबाट दैनिक करिब साढे पाँच सय मालवाहक गाडी भित्रिने गरेका छन् । अन्नपूर्णको दाबी अनुसार, यो कार्यालयमा दैनिक सवा आठ लाखको घुस कारोबार हुन्छ । वर्षमा ३० करोडभन्दा बढी । यसरी कारोबार हुने घुस कार्यालय सहयोगीदेखि मन्त्रीसम्म पुग्ने गरेको अन्नपूर्णको समाचारमा उल्लेख छ ।

नेपाली जेलमा ११ सय विदेशी रहेको अर्को खबर पनिअन्नपूर्णमा छ । आपराधिक गतिविधिमा संलग्न विभिन्न मुलुकका नागरिक देशका जेलहरुमा सजाय काटिरहेका छन् । जेलमा सबैभन्दा बढी भारतीय नागरिक छन् । यसरी जेलमा रहेका १९४ जनालाई लागूऔषध कारोबारको अभियोग छ ।

ध्वंसात्मक गतिविधिको आरोपमा सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठक प्रवल जनसेवाश्रीबाट सम्मानित भएको रोचक खबर पनिअन्नपूर्णमा छ ।

अन्नपूर्णका अनुसार उनी गत वर्ष मात्रै अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष भएका थिए । राजनीतिक दलनिकट शिक्षक संगठनका अध्यक्ष भए पनि उनले नेतृत्व गरेको स्कुलको अध्ययनअध्यापन अब्बल छ । उनी बुटवल उपमहानगरपालिका–१० स्थित कालिका मानविज्ञान माविका प्रधानाध्यापक पनि हुन् । यो समाचार लक्ष्मण पोखरेल र सलमान खानले अन्नपूर्ण पोस्टका लागि लेख्नु भएको हो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार