रूपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

धावनमार्ग निर्माण सम्पन्न भएपछि अन्तर्रा्ष्ट्रिय स्तरका उडान भर्न सकिन्छ । ४ तहमा निर्माण हुने धावन मार्गको ३ तहमध्ये पहिलो र दोस्रो तह र तेस्रो तह सम्पन्न भएको छ भने अन्तिम चरणको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

धावन मार्गको प्रत्येक पत्र कालोपत्रे ७ दशमलव ५ मिटरको छ । धावन मार्गको लम्बाई ३ किलोमिटर छ । आयोजना प्रमुख प्रवेश अधिकारीले वैशाखभित्र धावन मार्ग निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताए ।

धावन मार्ग कात्तिकदेखि कालोपत्रे गर्न शुुरू गरिएको थियो । धावनमार्ग पूर्णरुपमा तयार भएपश्चात् आपतकालीन अवस्थामा काठमाडौंमा अवतरण हुन नसक्ने अन्तराष्ट्रिय उडानका विमानलाई लुम्बिनीमा अवतरण गराउन सकिने आयोजना प्रमुख अधिकारीले बताए । आयोजनामा हालसम्म ७० प्रतिशतभन्दा बढी काम सकिएको छ ।चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले निर्माणको कामलाई तीब्रताका साथ अगाडि बढाएको छ । दिनरात गरेर १ सय ५० जना कामदार खटिएका छन, जसमध्ये ७० जना चिनियाँ छन् । ट्याक्सी–वेको काम पनि धमाधम भइरहेको छ । १ सय ६० वटा ट्याक्सी पार्किङ गर्ने पार्किङस्थल बनाइँदै छ । ट्याक्सी–वेको लम्बाई १ हजार १ सय मिटर लामो र २३ मिटर चौडाइको हुुनेछ ।

त्रिभुवन अन्तराष्टिय विमानस्थल साँघुरो भएको, कुनै पनि समस्या आउँदा भारत र नजिकका विभिन्न विमानस्थलमा जहाज डाइभर्ट गर्नुपर्ने बाध्यता गौतमबुुद्ध विमानस्थल बनेपछि अन्त्य हुने अपेक्षा गरिएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सोही वर्षको पहिलो महिनाभित्रै अन्तराष्ट्रिय उडान भर्ने अधिकारीले बताए । निर्माण सम्पन्न गर्ने अन्तिम मिति २८ जुुन २०१९ सम्म रहेको छ । हाल विमानस्थलको धावन मार्गमा अन्तिम तहको कालोपत्रे, टर्मिनल भवन, पानी ट्यांकी, कन्ट्रोल टावर लगायतको काम धमाधम भइरहेको छ । टर्मिनल भवनको छाना हाल्न बाँकी छ । छाना आइसकेको र केही दिनभित्रै छाना हाल्ने काम शुरू हुने आयोजना प्रमुख अधिकारीले बताए । टर्मिनल भवनको आगमन र प्रस्थान एवं प्रशासनिक भवनको पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । त्यहाँ विद्युत् जडान र अन्य काम पनि भइरहेको छ । ७ तलाको हुने कन्ट्रोल टावर निर्माण भइसकेको छ । उडान र अवतरणमा प्रयोग हुने विद्युतीय उपकरण जडान गर्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार