आर्चरी : बालिकादेखि वृद्धसम्म खेलाडी - Butwal Online

बाँके, ८ वैशाख

तराईमा गर्मीले तताउँदै गएको छ । बिहानीको घामको झुल्कोसँगै गर्मी बढ्दै जान्छ, दिउँसोसम्म पुग्दा ३५ डिग्री सेल्सियसको हाराहारीमा पुग्छ । यही बेला नेपालगञ्जलाई केन्द्र बनाएर आठौँ राष्ट्रिय खेलकूद चलिरहेको छ ।



खेलकूदको रौनकले बेग्लै रङ लिएर देशको वातावरणलाई तरङ्गित तुल्याइरहेको छ । खेलाडी खेलिरहेका छन्, प्रशिक्षक खेलाइरहेका छन्, आयोजक खेल महोत्सव आयोजनामा रमाइरहेका छन् र दर्शक जता मन लाग्यो उतैतिर आफूलाई पु¥याइरहेका छन् ।

परिवेश खेलकूदमय छ, कतै फुटबल, कतै क्रिकेट, कतै जुडो, कराँते, तेक्वान्दो वा उसु, कतै भलिबल धेरै खेल उमेरअनुसार पनि खेल्ने गरिन्छ । तर प्रदेश प्रहरी तालीम केन्द्र नेपालगञ्जमा चलिरहेको आर्चरी प्रतियोगिताभित्रको रहस्य भने अलि फरक छ ।

जहाँ १२ वर्षीय अनुष्का शेरचनदेखि ७० वर्षीय रामप्रसाद राईले खेलिरहेका छन् । पोखरा महानगरपालिका–४ रानीपौवाकी अनुष्का कक्षा ७ मा भर्खरै उत्तीर्ण भएकी छन् । उनी आठ प्रतिस्पर्धीलाई उछिन्दै राष्ट्रिय प्रतियोगितामा सहभागी भएकी हुन् । त्यसो त उनको परिवार नै खेल क्षेत्रमा कतै न कतै आबद्ध छ । बुबा योगेन्द्र शेरचन आर्चरी खेलकै प्रशिक्षक हुन् । योगेन्द्रले धेरै पटक ओलम्पिकमा टिम प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् भने फुपु शान्ति शेरचन पाँचौँ राष्ट्रिय खेलकूदमा स्वर्ण पदक विजेता तथा ११ औँ ओलम्पिककी उच्च स्कोरर हुन् ।

उनका दाजू अनिप शेरचन पनि आर्चरी तथा कराँतेका खेलाडी हुन् । यही पारिवारिक पृष्ठभूमिबाट आएकी अनुष्का १० वर्षको उमेरदेखि नै आर्चरी खेलतर्फ मोडिइन् । १२ वर्षको कलिलो उमेरमै राष्ट्रिय खेलकूदमा भाग लिने अवसर पाइन् । आफूभन्दा अग्रज र खारिएका खेलाडीसँग अनुष्काले प्रतिस्पर्धा गरिरहेकी छन् । छयानब्बे प्रतिस्पर्धीका बीचमा एउटा बालिकाले तीर प्रहार गरिरहँदा दर्शकले अचम्म मान्दै चासोका साथ हेरिरहन्छन् । आफूभन्दा निकै अग्रजसँग प्रतिस्पर्धा उनका लागि चुनौतीपूर्ण छ ।

उनी भन्छिन्, “खेल जितिहाल्छु भन्ने त लागेको छैन । तर आफूभन्दा योग्य, अग्रज र अनुभवी खेलाडीसँग खेल्न पाउँदा धेरै कुराहरु सिक्ने अवसर पाइरहेकी छु ।” आर्चरीमै ओलम्पियन बन्ने उनको धोको छ । “१३ औँ सागमा पनि भाग लिन्छु”, अनुष्का भन्छिन्, “आर्चरी मेरो जीवन भइसक्यो । आर्चरीमै रमाउँछु ।”

अनुष्का प्रतिस्पर्धीमध्येकी सबैभन्दा कान्छी हुन् । तर त्यही प्रतियोगितामा ७० वर्षीय रामप्रसाद राईले पनि भाग लिएका छन् । विसं २००६ मा जन्मिएका उनी विसं २०१८ मा बेलायती सेनामा भर्ना भए । त्यहाँ रहँदा उनले अन्य खेलहरु खेले पनि आर्चरी भने कहिल्यै खेलेनन् ।

विसं २०५६ मा बेलायती सेनाबाट अवकास पाएका राई त्यसपछि विभिन्न समाजिक सङ्घसंस्थामा क्रियाशील रहे । बुढ्यौलीले छोप्दै जाँदा आफूलाई स्वस्थ राख्न कुनै खेल खेल्नुपर्छ भन्ने सोचेर उनी आर्चरी खेल खेल्न थाले । उनी भन्छन्, “यसमा अन्य खेलजस्तो दौडधुप गर्नुपर्दैन ।”

छ वर्षदेखि नियमितरुपमा आर्चरी खेलिरहेका राईले सातौँ राष्ट्रिय खेलकूदमा देशभरबाट पाचौँ स्थान हासिल गरेको सुनाउँदै भने, “बुढेसकालमा सहजै खेल्न सकिने भएकै कारण मैले यो खेल खेलिरहेको छु । मलाई १३ औँ सागमा पनि भाग लिने धोको छ ।”

नेपाल आर्चरी सङ्घका अध्यक्ष दीपकराज गुरुङ यो खेलमा उमेरको कुनै हद नहुने बताउछन् । उनले भने, “आर्चरीलाई थप व्यावसायिक बनाउँदै र खेलाडीलाई खेलप्रतिको जिम्मेवारी बढाएर पदक भित्र्याउन हामी लागि परेका छौँ ।”

सङ्घले सबै प्रदेशमा खेलाडी उत्पादन गर्ने योजना बनाएको गुरुङको भनाइ छ । “आर्चरी खेलको प्रवद्र्धन र विकासका लागि खेलमा देखिएको सहभागिताले हामीलाई थप उत्साहित बनाएको छ । बालिकादेखि वृद्धसम्मको उपस्थिति झनै महत्वपूर्ण छ । हामीलाई यसले थप हौसला दिएको छ ।”

उनले बालिकादेखि वृद्धसम्मको सहभागिताले अन्य खेलाडीको मनोबल पनि बढाएको बताए । उनि भन्छन , “यहाँको सहभागिताले खेलाडीमा उत्साह बढाएको छ ।” नेपालमा आर्चरीको शुरुआत विसं २०४४ देखि नै भए पनि भर्खरैमात्र गति लिन थालेको हो ।

खेल्ने ठाउँको अभाव, प्राविधिक जनशक्तिको अभाव, राज्यको न्यून लगानी आदि कारण नेपालले प्रशस्त सम्भावना भए पनि सम्भावित सफलता निकाल्न नसकेको अध्यक्ष गुरुङको भनाइ छ । उनले भने, “विगतको नेतृत्वले चासो दिएन, अहिले बामे सर्ने अवस्थामा आएको छ ।” रासस

रासस

बुटवल अनलाइन रासस को ग्राहक हो

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार