१८ वर्षदेखि व्यवसाय गर्दै न्यूनदृष्टियुक्त - Butwal Online
१८ वर्षदेखि व्यवसाय गर्दै न्यूनदृष्टियुक्त

चिप्लेढुङ्गा, ११ वैशाख 

पोखरा बागलुङ (भूपि शेरचन) राजमार्गमा १८ वर्षदेखि एक दृष्टिविहीनले ओखलमा टिमुर र खुर्सानी कुटेर व्यापार गर्दै आएका छन् । अन्नपूर्ण गाउँपालिका–३ का ५० वर्षीय अमृत तुलाचनले विसं २०५८ देखि उक्त व्यापार गर्दै आएका हुन्  ।

क्षयरोगका बिरामी उनले नौ वर्षसम्म नियमित औषधि खान्थे । विस्तारै औषधिको असरले उनको  दृष्टिशक्ति गुम्न पुगेको तुलाचनले बताए ।
एक छोरा, दुई छोरीका बुबा उनले सोही समस्याका कारण ५ कक्षाको मात्रै अध्ययन गर्नुभएको छ । “शुरुका दिनमा छरछिमेकको घरमा खुर्सानी मसला कुट्दै आएको थिएँ ।

२०५८ मा राजमार्गमा होटल खुल्दै गएपछि आफैँले टिमुर र खुर्सानी बेच्न थालेको हुँ ।” उनले भने । बागलुङ–पोखरा राजमार्गमा लुम्ले कृषि अनुसन्धान केन्द्रको मुलगेट अगाडि रहेको दाजुको होटलबाट उनले व्यापारको शुरुआत गरे।

बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म दैनिक आठ घण्टा ओखलमा निरन्तर टिमुर खुर्सानी कुटेर धुलो बनाउँदै आउनुभएको छ । पोखरा–बागलुङ राजमार्गमा उनको होटलमा खाजा खाना आउनेदेखि बाटोमा हिँड्दा देख्नेसम्म उनका ग्राहक छन् ।

नेपाल दृष्टिविहीन सङ्घ कास्कीको कार्यसमिति सदस्यसमेत रहनुभएका तुलाचनले सरकारले अपाङ्गता भएकालाई पनि विभिन्न रोजगारमूलक अवसर प्रदान गर्दै आएको भन्दै सबैले आफ्नो सीप र क्षमताअनुसारको काम गरेर आत्मनिर्भर हुन आग्रह गर्छन ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार