देवदहमा अपराधको अर्थशास्त्र - Butwal Online
देवदहमा अपराधको अर्थशास्त्र

देवदह क्षेत्रमा पछिल्लो समयमा व्यक्ति हत्या जस्तो जघन्य आपराधिक घटनामा वृद्धी भएको छ । युवा संघ रुपन्देहीका अध्यक्ष एवम युवा व्यवसायी दुर्गा तिवारी ,युवा संघका अर्का नेता एवम काठ व्यवसायी वसन्त पौडेल,देवदह–२ की एकजना वर्षिया २२ वार्षिया सुत्केरी महिला नमकला पाण्डे, त्यसै गरी देवदह–५ निवासी वयोवृद्धाको हत्याको पिडा कम हुन नपाउदै २०७५ फागुन २६ गते कल्कलाउदो युवा अनिश पुरीको हत्याले देवदहको जनमानसलाई आतंकीत तुल्यायो ।


निरन्तर रुपमा भईरहेको व्यक्ति हत्याले वुद्धको मावलीस्थलको परिचय र चिनारीलाई समेत प्रभावित गर्न पुग्यो । हत्या,हिसां र आतंकले देवदहवासी त त्रसित बनेकै छन । देवदहलाई हेर्ने वाहिरी दृष्टिकोणमा समेत भिन्नता आएको छ । अन्यत्र जादा देवदहवासी हौं भन्ने परिचय दिन समेत देवदहका नागरिकलाई गाह्रो हुन थालेको छ । निरन्तर रुपमा भई रहेको श्रृंखलावद्ध हत्या काण्डले देवदह प्रतिको आम मानिसहरुको धारणामा परिवर्तन आएको छ । शान्त,सुन्दर र सु–सस्कृत देवदह,अशान्त,असुरक्षीत वन्दै गएको अनुभुति भईरहेको छ ।

अपराध र देवदह बीचको सम्वन्ध

देवदह क्षेत्र बसोवासका हिसावले पुरानो क्षेत्र भए पनि वीसको दशकको उत्तरार्ध पछि पहाडबाट बसाई सरेर आउने क्रम बढे लगतै यहाको जनघनत्वमा वृद्धी हुदै गयो । मानिसहरुको चाप संगै यहा अपराधका घटनाहरु वढदै गए । दक्षिणी तराई क्षेत्रमा डाकाहरुको विगविगी हुदा यस क्षेत्रमा पनि त्यसको प्रभाव परेको पाका पुराना मानिसहरुको अनुभव रहेको छ ।

तत्कालिन समयमा घोषणा नै गरेर डाकाहरुले यहाका गाउवस्तीहरुमा लुटपाट मच्चाउथे । डाकाहरुको लुटपाटको घटनाले आतंकित सर्वसाधारण पुराना घटनालाई स्मरण गर्दा समेत भयभित हुन्छन । उतिवेला डाकाहरुद्धारा लुटिएका घरपरिवारका सदस्य तथा देवदह–८ का वडा अध्यक्ष डण्डपानी भट्टराई भन्छन–“सुरक्षा प्रशासनको खासै व्यवस्था थिएन,डाकाहरु निर्वाध रुपमा आउने र घरमा रहेका अन्नपात,भाडाकुडा लुटेर लैजान्थे ।

” डाकाहरु आउदा प्रतिकार गर्ने कसैको क्षमता थिएन । त्यसरी हुने गुण्डागर्दी र लुटपाटका घटनालाई आपराधिक श्रृंखलाको पहिलो चरण मान्न सकिन्छ ।
२०३६ सालको घटस्थापनाको दिनमा वच्चासिहँ डाकाको अगुवाईमा देवदहको खैरेनी वजारमा अवस्थित साझा संस्थामा डकैती भयो । डाकाहरुसँगको प्रतिकारको क्रममा दुई जना स्थानियवासीले ज्यान गुमाउन पुगेका थिए ।

त्यस समयमा कुनै घरमा भैसी खरिद गरेर ल्याएमा डाकाहरुले भैसी लुट्न आउने भएकाले भैसीको दाम्लो वा साङ्लामा तालाचापी लगाएर सुरक्षा गर्नु पर्ने बाध्यता थियो ।
कसैले खेतमा फलाएको अन्नवाली वेचविखन गरेर पैसा वुझेको थाहा पाउना साथ रातीमा लुटेराहरु दलवलका साथ लुटन आउने गरेको स्थानीय समाजसेवी माधव रिमाल बताउछन् । यहीका कुनै व्यक्तिले डाकाहरुलाई सूचना प्रवाह गर्ने र त्यही सूचनाका आधारमा उनीहरु लुटपाट गर्न आउथे ।
पञ्चायती व्यवस्थाको चरमकाल अर्थात २०३६ सालतिर देवदहमा वसाई सरी आउनेको संख्यामा वृद्धी भएको थियो । त्यसरी बसाई सराईको दर बढनुमा यहा रहेको वन क्षेत्र र त्यसबाट हुने लाभ नै प्रमुख थियो ।

तीसको दशकको उत्तरार्धमा पञ्चायती व्यवस्थाका हिमायतीहरुले वनजंगल अतिक्रमण गरेर वस्ती बसाउन शुरु गरे पछि यहा विभिन्न ढंगका अपराधहरुको श्रृंखला शुरु भएको पाईन्छ । अभाव,गरीवी र अन्य समस्याका कारण देवदहमा वसाई सरेर आउनेहरु आप्mनो स्वाभिमान र पहिचान भन्दा पनि जीवीकोपार्जनलाई मूख्य ठानेर चल्न थाले ।
केही चतुर,चलाख र पहुच भएका व्यक्तिहरुले उनीहरुलाई वन पैदावरको तस्करीमा संलग्न गराउथे । काठको तस्करी गरेर जीवीकोपार्जन गर्नेहरु अपराध कर्ममा समेत जोडिन्थे । एक समय देवदहमा काठ तस्कर र तिनका मतियारको विगविगी रहेको पुराना वासिन्दाहरु बताउछन ।
देवदह वुटवलबाट नजिकै रहेकोले वुटवल तथा वरपरका क्षेत्रमा अपराध गरेर यहाँ सेल्टर लिन आउनेको समेत संख्यामा कमि थिएन । २०४२ सालमा पत्रकार पदम ठकुराठीलाई गोली प्रहार गर्ने अभियुक्त विकाश गुरुङ लुक्नकै लागि देवदहमा आएर लामो समय वसेका थिए ।

देशका विभिन्न ठाउमा हत्या,लुट र वलत्कार जस्ता अपराध गर्ने अपराधीहरु यही आएर लुकीछिपी वस्ने गरेको अनुसन्धानको क्रममा पुष्टी भएको छ । अपराधीहरुले विभिन्न खालका अपराध तथा फिरौती असूल्नका लागि देवदह क्षेत्रलाई प्रयोग गर्दै आएका थिए । सैनामैनाको एक युवतीलाई अपहरण गरेर राख्नका लागि देवदहको घोडाहामा घर भाडामा लिएको तथ्य अपराधीहरु पक्राउ परे लगतै प्रहरीले सार्वजनिक गरेको थियो ।

गर्भवति महिला सुनिता हत्याकाण्डले देशव्यापी रुपमा चर्चा पाएको थियो । परिवारकै सदस्यहरुले गुण्डा प्रयोग गरेर उनको हत्या गराएका थिए । उक्त हत्या काण्ड पछि घरेलु हिंसा र दाईजो विरोधी अभियानले सामाजिक रुपमा ठुलो तंरग पैदा गरेको थियो । लुटपाटको नाममा होस वा अन्य कारणले होस, व्यक्ति हत्याको घटना देवदहमा धेरै भएको पाईन्छ । खैरेनी,पिपलडाडा,घोडाहामा विभिन्न समयमा भएका हत्याकाण्डमा १० जनाको ज्यान गएको थियो ।
चर्चित घटना सुरजपुरा घटना पनि आपराधिक घटनाको निरन्तरताको एउटा कडी थियो । त्यस घटनामा पनि एकजना व्यक्तिले ज्यान गुमाउन पुगेका थिए भने राष्ट्रका चर्चित नेताहरुमाथि साँघातिक हमला भएको थियो ।

अपराधमा विविधता

माओवादी द्धन्द्धको अन्त्य भए पश्चात देवदहमा विविधतायुक्त आपराधिक गतिविधिको श्रृंखला शुरु भयो । लागु औषधको प्रयोग तथा ओसार–पोसाार, नदीजन्य पद्धार्थको तस्करी ,मानव वेचविखनको हव,वेश्यावृति,संगठित अपराध, वलत्कार,जुवातास जस्ता अवाञ्छीत कृयाकलापहरुले यहाका वासिन्दालाई प्रभावित तुल्याई रहयो ।
विशेष गरी लागु औषधको प्रयोग तथा ओसार–पोसारमा युवा समुह सक्रियतापुर्वक लाग्न थाले । उनीहरुको विचमा लागु औषधको विक्रि–वितरण र प्रयोगका सन्दर्भमा समुहगत झै–झगडा हुन थाल्यो । यहाका युवाहरु विभिन्न समुहमा विभाजीत भएर लडाई–झगडा गर्दथे ।
वाहिरबाटै शक्ति झिकाएरै भए पनि ग्याङ फाईट गर्ने,खुकुरी,भाला प्रहार गर्ने जस्ता घटनाहरु घटन थाले । घरेलु हातहतियार मात्र होईन, पेस्तोल तथा वन्दुककै प्रयोग गरेर यहाका केही युवाहरु अपराधमा जोडिन थाले । वीच वजारमा वन्दुक पडकाउने, गोली हानेर मानिसलाई घाईते बनाउने जस्ता अपराधले प्रश्रय पाउदै गयो । शक्ति र सार्मथ्यको सञ्चय गरेर युवाहरुमा डन बन्ने होडवाजी शुरु भयो । त्यसको परिणाम मनोज पुन जस्ता अपराधीहरुको जन्म हुन पुग्यो । मनोज पुनसँग जोडीएका अपराधीक समुह निर्माण व्यवसायी, ठेकेदार कम्पनी,स्थानिय व्यापारीहरुसँग हप्ता असुली गर्ने,प्रतिशतका आधारमा कमिसन माग्ने जस्ता कार्यमा संलग्न हुन थाले ।

राजनीतिक दलहरुको कमजोरी

आपराधिक गतिविधि मौलाउदै जानुमा थोरवहुत राजनीतिक दलहरुको भुमिका पनि जिम्मेवार देखिएको छ । अपराधमा फसेकाहरुलाई प्रहरी प्रशासनले गिरफतार गर्दा तुरुन्तै गएर छोड्न दवाव दिने दलहरुको प्रवृतिले अपराध कर्मलाई वल पुगेका हो । आपराधिक कृयाकलापमा संलग्न व्यक्तिले कसुर अनुसारको दण्ड सजाए नपाउदा त्यस्ता व्यक्तिमा थप मनोवल बढने हुन्छ ।

आप्mनो मतदाता र सर्मथक बढाउनका लागि अपराधीहरुलाई कम सजाए दिलाउने वा मुद्धा कमजोर बनाउने खेलमा लागेको आरोप दलहरुलाई लाग्ने गरेको छ । अपराध कर्ममा विशेष गरी युवापुस्ता बढी सक्रिय भएर लागेको पाईन्छ । शिक्षा ग्रहण गरेर उज्जवल भविष्य निर्माण गर्ने उमेर समुहका युवाहरु लागु औषधको अम्मली वन्नु समाजकै लागि दुर्भाग्यको विषय हो ।

उनीहरु दुव्र्यसनसँगै विभिन्न अपराध कर्ममा समेत लागिरहेका हुन्छन । तिनै युवाका अभिभावकहरु कुनै न कुनै दलमा आवद्ध छन । उनीहरुले आफु आवद्ध दललाई प्रयोग गरेर आपराधिक कार्यमा संलग्न भए पनि राजनीतिक दलको सहयोगमा आप्mना सन्तानलाई कानुनी दायाराबाट मुक्त गर्न लागि पर्छन ।

सुरक्षा प्रसासनको निरीहता

देवदहमा आपराधीक घटनाहरु बढदै जादा सुरक्षा प्रशासन भने निरीह बनेको छ । आवश्यक जनशक्ति र श्रोत साधनको अभावमा सोचे जस्तो भुमिका पुरा गर्न नसकिएको सुरक्षा निकायको धारणा छ ।
स्थानियवासीको भनाई भने त्यो भन्दा वेग्लै रहेको छ । सुरक्षा निकाय अपराधपुर्ण घटनाको निरुपणमा कमजोर देखिनु लज्जास्पद रहेको स्थानियको आरोप छ । तस्करी र अवैध कारोवारको पछि लागेर गलत आम्दानीको श्रोतको खोजी गर्न प्रहरी प्रशासन लागि परेकोले सुरक्षा व्यवस्थालाई चुस्त बनाउन नसकेको सर्वसाधारणको दावी छ ।

विगत लामो समय देखि देवदहको सुरक्षाका लागि ईलाका प्रहरी कार्यालय स्थापनाको माग भई आए पनि स्थानिय तहले भवन निर्माणका लागि आवश्यक पहल नगर्दा ईप्रका स्थापनामा विलम्व भएको हो ।
जिल्ला सुरक्षा समितिले २०७४ सालमै ईलाका प्रहरी कार्यालय स्थापनाको लागि निर्णय गरेको र स्थानिय तहबाट जग्गाको भोगाधिकार सहितको सिफारीस आएमा त्यसको प्रकृया शुरु हुने सुरक्षा समितिका संयोजक तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना बताउछन ।
देवदहको भुगोल तथा सेवा क्षेत्र ठुलो भएको र प्रहरी चौकीले मात्र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सम्भव नभएको स्थानिय राजनीतिक दलको ठम्याई भए पनि उनीहरुले ईलाका प्रहरी कार्यालय स्थापनाका लागि प्रभावकारी भुमिका निर्वाह गर्न सकेका छैनन । अर्को तर्पm देवदहमा सुरक्षा निकायको जिम्मा लिएर खटिएका प्रहरीहरुले खुलेर काम गर्न नपाएको सुरक्षा अधिकारीहरुको ठहर रहेको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार