आम्दानीको स्रोत बन्दै कृत्रिम जलाशय - Butwal Online
आम्दानीको स्रोत बन्दै कृत्रिम जलाशय

घोराही, १७ बैशाख । घर छेउको कुलोबाट कलकल पानी बगिरहेको छ । गाउँमा यसरी कुलोमा कसरी पानी आयो भन्ने जो कोहीले सोध्छन । गाउँदेखि उत्तरपूर्वतर्फ निकै ठूलो जलाशय छ । जेनेरेटरबाट त्यहीँ जलाशयको पानी बारी र खेतमा पु¥याइएको छ । घोराही उपमहानगरपालिका–१७ ढिकपुर गाउँमा खेतीपाती त्यही कृत्रिम जलाशयको पानीले धानिएको छ ।

फाइल तस्बिर



उपमहानगरपालिकाले केही वर्ष पहिले बनाएको उक्त जलाशयको पानीले अहिले ढिकपुर गाउँ तरकारीखेती व्यवसायमय बनेको छ । ढिकपुर गाउँका ५६ घरधुरीमध्ये ३४ घरपरिवारले त्यहीँ जालशयको पानीले व्यावसायिक खेती गरेका छन् । कृत्रिम जलाशयको पानीले मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएको स्थानीय भीमबहादुर चौधरीले बताए । करेला, बन्दा, भण्टा, काउली, गोलभेँडा, लौका, काँक्रा, खुर्सानी, घिरौला, सिमी र बोडी जस्ता तरकारीको खेती गरिएको उनको भनाइ छ । सशस्त्र द्वन्द्वको समयमा नेपाली सेनाको जागिर छाडेर विदेश पुगेका चौधरीले सोचे जस्तो कमाइ नहुँदा फर्किएर तरकारी खेती थालिएको अनुभव सुनाए ।

“विदेशमा पनि सोचे जस्तो कमाइ भएन”, उनले भने, “घर आउँदा मेरो मात्रै जग्गा बाँझो थियो, गाउँलेले यही जलाशयको पानीबाट खेती गरेको देखेर मैले पनि तीन वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएको छु ।” कृत्रिम जलाशय बनेपछि ढिकपुर गाउँबाट एकजना पनि युवा विदेश नगएका र व्यावसायिक खेतीमा लागेका उनको भनाइ छ ।

“उत्पादन र बजार राम्रो छ युवा विदेश जाने सोचमै छैनन्”, उनले भने । जलाशय संरक्षण समितिका अध्यक्ष किरण चौधरी पनि पूर्व नेपाल प्रहरी हुनुहुन्छ । प्रहरीको जागिर छाडेर खेतीमा होमिएका चौधरीले कृत्रिम जलाशय स्थानीयवासीलाई बरदान भएको बताए ।

उनले भने , “विदेश जाने र अन्यत्र कमाउन जाने सोच यहाँका युवामा आउँदैन, आफ्नै बारीमा पौरखमा रमाएका छन् ।” उपमहानगरले कृषि र पानीको स्रोत बढाउन विभिन्न ठाउँमा कृत्रिम जलाशय बनाउँदै आएको छ । ढिकपुर गाउँको वरीपरी तीनवटा जलाशय बनाएको छ । किसानलाई सहज होस् र व्यावसायिक बनुन भन्ने उद्देश्यले सो काम गरेको नगर प्रमुख नरुलाल चौधरीले बताए । सिँचाइसँगै पानीको स्रोत बढाउने, पर्यटकलाई आकर्षण गराउने सोच उपमहानगरको रहेको र वर्षेनी यस्ता जलाशय बनाउँदै आएको उनको भनाइ छ ।

रासस

बुटवल अनलाइन रासस को ग्राहक हो

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार