श्रमिक दिवसले नछोएका मजदुरहरु - Butwal Online
श्रमिक दिवसले नछोएका मजदुरहरु

बुुटवल,१८ बैशाख 
आज विश्वभर १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै गर्दा दिन रात नभनि काम गर्ने कतिपय मजदुरहरुलाई मजदुर दिवसको बारेमा समेत थाहा छैन भने कतिपयलाई थाहा भएर पनि बिहान बेलुकाको छाक टार्नकै लागि दिनभर काम गर्न बाध्य छन् ।


मजदुर दिवसकै दिन आज बुटवलको जितगढी स्थित तिनाउ नदी किनारमा कपडा धुदै गरेको अवस्थामा भेटीएका २३ बर्षीय राजकुमार कनौजीया (धोबी) ले आफुलाई मजदुर दिवसको बारेमा जानकारी नभएको बताए ।

उनले भने–‘जानकारी भएर पनि के गर्नु मजदुर दिवस भनेर काम नगरी कसैले पैसा दिन्न ।’ भारत बस्ती जिल्ला घर भएका उनि आगामि जुनमा हुने आफ्नो बिहेकालागि पनि कस्सिएर काम गर्न बाध्य छन् । बाबु आमा कोही छैनन्,परवारमा कसैको नोकरी छैन त्यसैले काम नगरी खान छैन् ।
बिहान ८ बजेखि अपरान्ह ३ बजे सम्म नियमीत कपडा धुने काम गर्दै आएका कनौजीयाले मासिक १२ हजार नेपाली रुपयाँ पाउने बताए ।
भारतको गोरखपूरबाट कपडा धुने कामका लागि बुटवल आएका अतुल कनौजीयाको पनि अवस्था त्यस्तै छ ।
घर परिवारमा कसैको नोकरी नभएकोले बाध्य भएर कपडा धुने काम गर्दै आएको उनले बताए ।

मजदुर दिवस भन्ने त सुनेको थिए–तर कहिले हो भन्ने थाहा नभएको बताउदै उनले भने साहजी इन्डिया गएका छन् काम त नगरी भएन्–उनले भने ।
अस्पत्ताल र होटलहरुका कपडाहरु धेरै आउने भएकाले पनि मजदुर दिवसमा मात्रै नभएर कुनै दिन पनि काम बन्द नहुने उनले जानकारी दिए ।
बुटवलकै जितगढीमै घर भएका ५४ बर्षीय बद्री धोबीले मजदुर दिवस भन्ने त थाहा थियो तर काम त नगरी भएन उनले भने ।
बिगत ३ पुस्तादेखि कपडा धुदै आएका धोबी परिवारको पालन पोषण र पढाई खर्च जुटाउनकालागि पनि दिनहु काम नगरी नहुने बताउछन् ।
कपडा धुने कामबाट मासिक ४० हजार कमाई हुने बताउदै उनले बचत भने १०÷१२ हजार मात्रै हुने गरेको बताए ।
कपडा धोएरै उनले एक छोरालाई स्नातक सम्मको अध्ययन गराईसकेका छन भने एक छोरा अहिले बिबिएस पढ्दै गरेको उनले जानकारी दिए ।
उता छुट्टीमा मामा घर आएका भारत सिद्धार्थनगर नौगढका १९ बर्षीय सुभम बरुणले पनि कपडा धुने काममा सघाउने गरेको बताए ।
बुटवलको जितगढीमा मात्रै ८ घर परीवार कपडा धुने काम गर्ने धोबी समुदाय बसोबास रहेको छ ।

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारा उनिहरुका हकमा भने लागु हदैन । उनिहरुको आराम गर्ने समय भनेको कपडा धुने,सुकाउने र सकाएको कपडा सम्बन्धित ठाउमा पु¥याएपछि मात्रै हुन्छ जति घण्टा लागे लागोस ।
धोबी समुदायको मात्रै नभएर नेपालका बिपन्न परिवारका हरेक मजुरहरुको अवस्था पनि त्यस्तै छ ।
जो सरकारी जागिरमा छन्,जो ठुला कम्पनिमा काम गर्छन उनिहरुलाई मजदुर दिवसका दिन र अन्य सार्वजनिक बिदाका दिन छुट्टी हुन्छ तर जो बिपन्न परीवारका असंगठीत मजदुरहरु छन् उनिहरु मजदुर दिवसको दिन मात्रै नभएर अन्य सार्वजनिक बिदाका दिन समेत काम गर्न बाध्य छन् ।

श्रमिकले आफ्नो श्रमको समय,मुुल्य र सेवा तोक्ने अवस्था छैन । श्रमिकको जीवन श्रम खर्चिदामात्र चल्ने गरेको छ ।
श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । मजदुर आन्दोलन चर्कदै गर्दा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत् मजदुरमाथि व्यापक दमन ग¥यो । प्रहरीको गोली लागि सात मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महीनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालियो । विश्वका मजदुरले सो दिवसलाई विशेष पर्वका रुपमा लिँदै गुणस्तरीय जीवन बिताउन आफ्ना सुविधाको समयानुकूल बढोत्तरी तथा आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।

विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलन सुरु भएसँगै नेपालमा यो दिवस मनाउन थालिएको हो ।
विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको छ । ८ घण्टा काम ८ घण्टा आराम ८ घण्टा मनोरञ्जन भनिएतापनि जिविकोपार्जनका लागि स्वदेश तथा विदेशमा १६ घण्टा बढी खटिने मजदुरको हकहित,अधिकार र सेवाको सुनिश्चितता हुुनु आवश्यक छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार