प्रबिधिको बिकासक्रमसँगै पथ्थरकट्टाहरुको व्यवसाय संकटमा - Butwal Online
प्रबिधिको बिकासक्रमसँगै पथ्थरकट्टाहरुको व्यवसाय संकटमा
  • हात मुख जोर्न सामाजिक सूरक्षा भत्ताकै भर
  • बुटवल,२० बैशाख 
    प्रबिधिमा भएको बिकासक्रमसँगै परम्परागत व्यवसाय संकटमा पर्दै जान थालेको छ । यसैक्रममा सिलौटाको व्यापार व्यवसाय गरेर जिविकोपार्जन गर्दै आएका पत्थरकट्टा समुयायको पेशा पनि संकटमा पर्दै गएको छ । प्रबिधिमा भएको बिकासक्रमसँगै उनिहरुको पेशा संकटमा परेको हो ।


    ढंगाको सिलौटामा पिस्दै आएको मसला,चटनी जस्ता खाद्यबस्तु हात मिक्स्चरमा पिस्ने क्रम बढ्दै गएपछि पछिल्लो समय पथ्थरकट्टाहरुको पेशा संकटमा पर्न थालेको हो ।

    मसला तथा अचार पिस्न मेसीनको प्रयोग हुन थालेपछि सिलौटाको व्यापार संकटमा पर्दै गएको बुटवल उपमहानगरपालिका वडा नं ११ हात्तिसँुढ बस्ने ४० बर्षिय गुडिया कुसवडीयाले बताइन् ।
    बिगतका बर्षहरुमा एक सिजन (४÷५ महिना) मा सिलौटा बेचेर ४०÷५० हजार रुपयाँ आम्दानी हुने गरेकोमा पछिल्लो समयमा मुस्किलले १५÷२० हजारमा झरेको उनले जानकारी दिइन् ।

    सोही पेशा गरेर कमाएको पैसाले बुटवलको हात्तिसँुढमा सुकुम्बासी जग्गा किनेर घर बनाउन सफल भएका कुसवडीया परिवारलाई हाल सो पेशाबाट गुजारा चलाउन समेत मुस्किल भएको बताउछन् ।
    त्यसो त उनिहरुका बाउ बाजेले बिगतमा गाई,गोरु,रागा,भैसी बाध्न र दाई लगाउन प्रयोग हुने डोरी बनाएर बिक्रि गर्ने गरेर आम्दानी गर्ने गरेको स्मरण गर्दै कुसवडीयाले कृषिमा ट्रयाक्टरको प्रयोग बढ्दै गएपछि सो व्यापार समेत हुन छाडेको बताइन् ।

    सिलौटा बनाउन प्रयोग हुने ढुंगा लोप हुदै जादा संकटमा परेको सो पेशा मुस्किलले ढंगा पाइहाले पनि बिक्रि नहुने समस्याले पेशा थप संकटमा परेको सो पेशामा संलग्न २१ बर्षिय राजकुमार पथ्थरकट्टाले बताए ।


    साइज हेरेर एउटा सिलौटाको ५ सय देखि ९ सय सम्ममा बिक्रि गर्दै आएका पथ्थरकट्टाहरु सिलौटा बिक्रि गर्न गाउँ गाउँ देखि राजधानी काठमाण्डौ सम्म पुग्ने गरेको बताउछन् भने ढुंगा खोज्न पाल्पाको दोभान,दाङ तथा भारतका बिभिन्न ठाउँहरुमा पुग्नुपर्ने बताउछन् ।

    सिलौटाको व्यापारमा कमि आएपनि अल्पसंख्यक जातीको रुपमा सरकारले दिने प्रति व्यक्ति मासिक २ हजार रुपयाँ भत्तानै उनिहरुको जिविकोपार्जनको स्थायी आम्दानीको स्रोत बनेको छ ।
    परम्परागत पेशा संकटमा परेपछि बिहान बेलुका हात मुख जोर्न सरकारले दिने सामाजिक सूरक्षा भत्तामै निर्भर पर्नुपरेको उनहरुको भनाई छ ।
    महंगी दिन प्रति दिन बढ्दै जादा सरकारले उपलब्ध गराउने मासिक २ हजार रुपयाँले गुजारा चलाउन समस्या हुने गरेको उनिहरुको गुनासो छ ।
    सञ्चार माध्यमहरुमा सामाजिक सूरक्षा भत्ता बढ्ने चर्चा चलेको जानकारी पाएका उनिहरु भत्ता बृद्धिको प्रतिक्षामा रहेका छन् ।
    बुटवलको हात्तिसुँढमा मात्रै हाल ११ घर परिवार कुसवडीया (पथ्थरकट्टा) समुदायको बसोवास रहेको छ भने रुपन्देहीको भैरहवा,पट्खौली,धकधही,हकुही,छपीया लगायतका ठाउँमा उनिहरुको बसोबास रहेको छ ।
    स्थायी अस्थायी बसोवास जहाँ भए पनि घुम्ति व्यापार भएका कारण उनिहरु एकै ठाउँ भने बस्न पाउदैनन् ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार