उपहार सम्पूर्ण आमाहरुलाई - Butwal Online
उपहार सम्पूर्ण आमाहरुलाई

                                                   आमा बिल कुमारी लम्सालको साथमा कवि सोतन्त्र लम्साल

आमा,
मलाई उ त्यो जुन चाहियो भन्दा
आमाले गमलाभरी पानी राखेर ल्याइदिनु भयो
त्यो गगनको जुन पनि उसकै समिपमा
र मज्जाले खेल्यो जुनसँग धोको पुग्नेगरी ।

आमा मलाई निन्द्रा लागेन भन्दा
मस्ता निन्द्राबाट उठेरपनी गाइदिनु भो
मिठा-मिठा गीतहरु सुम्सुमाउदै उसको निधार
र दिनु भयो उसलाई मिठो सपनी,

आफ्नै गल्तीले भुइमा लडेर फहरिदा पनि
आमाले भुइलाई नै लात्तोले हान्दै
गर्नु भयो उसैलाई माया र दिनु भयो
फेरी उठन र लड्न सक्ने साहस ।

आमा मलाई भालेको डाकोसँगै उठाइदिनु भनेर
उसले दिएको त्यो ठाडो आदेशको पालना गर्दै
बिहान सम्म कुरेर बस्नु भो त्यो भालेको डाकोलाई
र बनाइदिनु भो उसलाई समयपालक ।

जिन्दगीमा सफल हुन उसले दिएका हरेक परिक्षाहरुमा
उसले भन्दा धेरै मेहेनत, पुकार र तपस्या गरेर
बनाइदिनु भयो उसलाई एउटा सफल पुरुष

खुडकिला बनीदिनु भो उसले चढेको शिखरहरुको,

जन्माए,
हुर्काए ,
बढाँए,
पढाँए,
भनेर कहिलै गर्नु भएन कुनै माग
न गुनासो न त लिनु नै भो कुनै पारिश्रमीक
तर,
बाबु मेरो बुढेसकालको साहारा बनिदेउ
भनेर मात्र एउटा अनुरोध गर्दा
सन्तान त कुकुरले पनि जन्माउछन भन्दै
अन्धी आमालाई बृद्दाआश्रममा छोडेर
श्रीमती र छोरो लिएर अमेरीका पसेको छोरोले
आज बषौँपछी घर जग्गाको लालपुर्जामा टासेको
आमाको सादा फोटोलाई
मोबाइलबाट खिचेर राखिदियो फेसबुकमा
र लेखिदियो
“ममताकी खानि, मेरी आमा”

Happy Mother’s Day

कवि सोतन्त्र लम्साल

 

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार