पहाडको गाउँमा जन्मिएकी मेरी “आमा” - Butwal Online
पहाडको गाउँमा जन्मिएकी मेरी “आमा”
  • आमालाई सम्झिन र माया गर्न मातातीर्थ औँसी कुर्नु पर्दैन
  • रमेश पराजुली 
    बुटवल, २१ वैशाख । आमा ! आहा कति मिठो शब्द, कति प्रिय लाग्ने शब्द म जे छु त्यसको कारण हुनुहुन्छ मेरी आमा । मेरो जीवनको अस्तित्वको केन्द्रमा कोही छ भने मेरी आमा हुनुहुन्छ । मलाई लाग्छ मेरी आमा सामान्य अरु नारी भन्दा फरक हुनुहुन्छ पहाडी जिल्ला गुल्मीको पश्चिम गाउँमा जन्मिएकी मेरी आमा त्यो बेला महिलालाई पढाउने चलन नभएको र उनीहरु नपढ्ने अनि त्यति बेलाको समयमा छोरिलाई पढाउनु हुदैन भन्ने खराब सोच भएकाले होला मेरी आमाले स्कुलमा गएर औपचारिक रुपमा पढ्नु भएन तरपनी मलाई लाग्छ मेरी आमा कसरि एति धेरै शिक्षित हुनुभयो ?



    आमा हजुरले मलाई हुर्काउन, बढाउन जुन प्रकारले कष्टपूर्ण र दुःखदायी जीवन बिताउँदै, दुःखका काँडेतारहरू पन्छाउँदै, भविष्यप्रति उत्साहित भएर हेर्नुभयो र मबाट हजुरहरूले धेरै आशा र भरोसा पनि गर्नु भएको छ । स्वाभाविक रूपमा एउटा छोराबाट आमाबाबाहरूले आशा गर्ने कुरा ठिकै पनि हो तर अहिले हजुरसँग सँगै बसी हजुरलाई खुशी दिन नपाउदा मुटु भक्कानिएर आउंछ । मेरी आमाले जेजे गर्नु भयो सायद मैले पनि त्यही नै सिकेँ । जीवनमा प्रेम सिकेँ । दिन सिकेँ । सन्तुष्टि सिकेँ । दुःखलाई लुकाएर हाँसी रहन सिकेँ । बाँडेर खान सिकेँ । जे सिकेँ सबै मैले मेरी आमाबाटै सिकेँ । म जन्मेदेखि अहिलेसम्म मैले मेरी आमाबाट जे देखेँ त्यही सिकेँ । लाइफको भ्यालु हुन्छ नि के ठीक, के बेठीक ? केको चाहाना राख्ने, केको नराख्ने ? केलाई प्रेम गर्ने, केलाई घृणा गर्ने ? यो सबै आमाबाहेक अरु कसैले पनि सिकाउन सक्दैन । यो कुरा आमाले बोलेर भनेर सिकाउने कुरा होइन । बच्चाले आमालाई अब्जर्भ (नियाल्छ) गर्छ । के गर्नु भयो, के भएन ? के पढ्नु भो, के भएन ? अनि त्यो बाट सिक्छ । बाँडेर पनि सन्तुष्ट हुन मैले सिकेँ । त्यो कुरा मेरो स्वभाव बन्न पुग्यो । आमाले जीवनमा दिएर पनि सन्तुष्ट हुन सिकाउनु भयो । मैले दिन सिकेँ । सधैँ हाँसिरहन सिकाउनु भयो । मैले जीवनमा खुशी हुन सिकेँ ।

    मेरी आमा जो सहनशीलताको प्रतिक हुनुहुन्छ, जस्तो सुकै दु:ख कष्ट, पिडा खप्न सक्नु हुन्छ र आफूलाई खरो रुपमा जस्तो सुकै अग्नि परिक्षामा उतार्न सक्नु हुन्छ विभिन्न दुख, कष्ट, पिडा सहेर हुर्काउनुभो, पढाउनुभो आफुले दुख, कष्ट, पीडा सहेर मलाई सधैभरी खुसी बनाउनु भो आफुले खाइ नखाई मेरो पेट भरिदिने मेरी आमा उहाँले गर्नु भएको दु:ख कस्ट र सहनु भएका पीडाहरु यी सबै कुराहरुको विश्लेषण गर्दा धेरै अर्थमा र धेरै कोणमा मेरी आमा अरु सामान्य नारी भन्दा फरक हुनुहुन्छ ।

    हुन त बुवाको पनि मेरो जीवनमा कम योगदान भने छैन । निकै हक्की, कुनै पनि कुरामा कम्प्रमाइज गर्नु हुन्न । मैले जे भनेपनि मेरा इच्छा, चाहना पुरा गर्न तयार बुवाको त्यो स्वभावले साहस र दृढता सिकायो । तर आमाको व्यवहारले जीवनमा अर्को पाठ सिकायो । म निकै अभावमा पनि बाचेँको छु । हामी चारजना दिदिभाई कान्छो म दिदिहरुले पनि मलाई कुनै कुराको अभाव महसुस हुन दिनुभएन म अहिले जुन अवस्थामा छु यहाँ सम्म आउनुमा मेरा दिदिहरुको पनि ठुलो हात छ, सपोर्ट छ, योगदान छ । गौरव गर्ने कुरा हामीलाई बुवा आमाले सिकाउनु भयो । अभावकैबीच पनि उहाँहरुले छाती चौडा र शिर ठाडो पारेर हिँड्न सिकाउनुभयो । यसमा बुवाको हक्की र आमाको सन्तुष्टि दुवै चीजले काम ग¥यो । आमा सन्तुष्ट हुनुभयो । तर खुशीको उन्मादी उहाँमा कहिल्यै पनि आएन ।

    हरेक सम्बन्धमा मिलावट देखे नक्कली रङहरुको सजावट देखे तर वर्षौं देखि हेरि रहेको छु आमाको अनुहार न कहिल्यै थकान देखे, न ममतामा कुनै मिलावट देखे, नत त कुनै बनावट देखे ! आजभोलि आमाको माया वास्तविकता भन्दा बढी फेशबुक का भित्ताहरूमा व्यक्त हुन थालेको छ । बाध्यता भनौ या विवशता यो वर्षपनि आमासँग सँगै बसेर यो बिशेष दिन मनाउन पाहीएन तर आज हजुर सङ्ग सङ्गै बसी हजुरलाई खुसी दिन नपाएता पनि हजुरले म प्रति गरेको माया, ममता र स्नेह सम्झिरहेकोछु सधैभरि सम्झिरहनेछु । आखिर आमाको माया जो छोराछोरी माथि खनिएर बसेको हुन्छ । आमाको जस्तो माया संसारको जुन कुनामा खोजे पनि पाइँदैन । जतिनै पैसाले किन्छु भने पनि नपाउने एक मात्र चिज आमा हो र उहाँको स्नेह ।

    आफ्नो ज्यानको आहुति दिएर जन्माउने, हाम्रा हरेक खुसीका लागि मैनबत्ती जसरि जलिदिने, हरेक छोरा छोरी जति नै ठूलो भएर गल्ति गर्दा पनि सानो बच्चाले गरेको जस्तो मानेर क्षमा दिने, छोरा छोरीको मायाको आस नगरी एकोहोरो माया दिईरहने निस्वार्थी, निश्चल, विशाल दिल भएकी ईश्वरको रूप आमा तपाईँ महान हुनुहुन्छ । यो समयमा धेरै आमाहरू बृद्ध आश्रममा छोडिएका, कति आमाहरू हेलाका पात्र भएको देखेका छौं। तर, जुन आमाले पनि छोरा छोरीको लागि जहिले, जुन बेला पनि भलो नै सोचिरहन्छिन्। त्यसैले हामी छोराछोरी पनि आमालाई माया दिन कन्जुस नगरौं।

    आमालाई सम्झिन र माया गर्न आजकै दिन कुर्न पर्छ भन्ने पनि छैन आमालाई कुनै शब्दमा समेटेर सकिदै सकिदैन शब्दमा समेटेर साँगुरो बनाउन चाहिन ! मम्मी हजुरलाई कहिल्यै पनि दुखी देख्न नपरोस् बस यहि कामना गर्छु तपाईंको माया, ममता, स्नेह र साथ सहयोगले गर्दानै मैले यो सुनोेलो संसार हेरिरहेको छु, रमाएको छु यो सबै योगदान कसको हो र…? त्यसैले आजमात्र होइन सधै सधै तपाईंको माया,ममता र स्नेहको कदर गर्नेछु । दया, माया, करूणा र सद्बबुद्धि कि खानी माता हजुरलाई कोटिकोटी प्रणाम ।

    म घरबाट निस्कने बेलामा सधैं अनेकौं सपना बुन्दै आशिर्वाद दिनुहुन्छ मेरि आमा तपाईं का आशिर्वाद सपनाहरू पूरा गर्ने लक्ष्य मा निरन्तर प्रयास मा लागीरहेको छु र लागिरहनेछु यद्यपि समयसँगै हरेक कुरामा आएको परिवर्तनका कारण आज आमाछोरा वा आमाछोरीबीचको सम्बन्ध मानसिक रूपमा धेरै टाढा नहोला तर शारीरिक रूपमा भने टाढिँदै गएको पाइन्छ । आजको व्यस्त युगमा सबैसँग सँगै बसिरहने समय हुँदैन। करियर बनाउने दौडमा आमादेखि छुट्टएिर बसेका कतिपय सन्तान मदर्स डे मा इन्टरनेटमार्फत न्याउरो अनुहार लगाएर बल्लतल्ल केही क्षण कुरा गर्ने फुर्सद निकाल्छन् त कतिपयले त्यसो गर्न पनि नभ्याएर तिथिअघि नै वा केही दिनपछि भए पनि अनलाइन गिफ्ट पठाएर चित्त बुझाउँछन्। समय फेरिएको छ, क्रियाकलाप बदलिएका छन् तर आमाप्रतिको श्रद्धा र महत्त्व उही उचाइमा छ। युगकवि सिद्धिचरण श्रेष्ठले ‘आमा’ कवितामा लेखेका छन् ।

    आमा तिमी जन्म दिने मलाई
    आमा तिमी प्राण दिने मलाई
    आमा तिमी बोट, म फूल त्यसको
    हो दान तिम्रै जति जे छ मेरो

    आमाको माया भन्दा ठूलो कुनै कुरा पनि यो संसारमा छैन् । धनी र गरिबको चुंगलमा होईन् । आमाको माया निस्वार्थ र सधै सकारात्मक सोच भएकै कारण आज हामी यो धर्तीमा उभिन पाएका छौं । आमालाई कुनै शब्दमा बयान गर्न सकिदैन् । आमाको माया अपरम्पारे छ । त्यसैले आमाको सम्मान गरौं ।

    “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” आफूलाई जन्म दिने बाबुआमा भन्दा ठुलो यो संसारमा कोही हुँदैनन् । कवि भूपी शेरचनको यो उद्गारलाई हामीले कहिल्यै विर्सन सक्ने कुरो पनि त भएन । आमा– जननी, जन्मदाता र कर्मदाता हुन् । नौ महिनासम्म आफ्नो कोखमा राखेर हुर्काउने, बढाउने, पढाउने लगायतको कामहरु आमाले नै गर्नुहुन्छ । सबैको मुखमा आपत पर्ने बितिकै ‘आमा’ भन्ने शब्द फुत्किहाल्छ । चाहे गर्भमा होस्,चाहे काखमा, चाहे घर, स्कुल, कलेज, कार्यालय, विदेश जहाँ रहे पनि आफ्नो सन्तानको समान रुपले माया गर्ने ज्ञानकी खानी आमा नै हुन् ।

    सरस्वातिको अक्षराम्भ गर्ने पहिलो पाठशालाकी गुरु पनि आमा नै हुन् । त्यसैले आमाको माया अपरम्पार रहेको छ । जसलाई बजारमा किन्न पाइदैन । परम्परादेखि नै आमालाई माता, जननी, धर्ती, देवी लगायतका विभिन्न रुपमा हामीहरुले पुज्दै आएका छौं । हाम्रा सन्तनीहरुलाई समेत आमाको महत्व र त्यागबारे जानकारी गराउँदै जानुपर्छ । सुख,दुःख, सफलता र असफलताको कडीको रुपमा आमालाई जहिले पनि सकारात्मक दृष्टिकोणले हेर्नुपर्दछ । आमाको अर्तीउपदेशलाई सधै सिरोपर गरेर यात्रा गर्न सकिएमा सफलता टाढा छैन । बाँचुन्जेल आमालाई सम्मान गर्न नसक्नेले मरेपछि ‘मेरी आमा यस्ती र उस्ती’ भन्नेहरु पनि समाजमा प्रशस्त छन् ।

    अर्कोतर्फ सम्पति हुन्जेल आमाबुबा, सम्पति नभएपछि बृद्घाश्रम पु¥याउने छोराछोरीहरु समेत हाम्रै समाजमा छन् । मातातिर्थ औशीको दिन औपचारिकताका लागि आमा भेट्न जाने, आमा गुमाएकाहरुले दानदक्षिणा गर्ने चलन छ । “खाए खा नखाए घिच” भनेजस्तै आफू उच्च ओहदामा पुग्दा समेत आमाको कन्त विजोग हेरेर बस्न सक्नेहरु पनि समाजमा नै छन् । मातृ वात्सल्यतालाई भुलेर आजकल मानिसहरु पश्चिमी शैलीमा उत्रिएका कारण आमालाई माया गर्ने भन्दा पनि हेंला गर्ने, गालीगलोच गर्ने गलत प्रवृत्ति समाजमा बढ्दै गएको छ । आफ्नो सम्पूर्ण जीवन परिवारमै गुमाएका आमाबुबाहरुलाई छोराछोरीहरुले अंश र सम्पतिको लागि अनेकन हर्कत गरेको देख्दा लाज लाग्छ । “कुमालेको चक्र” जस्तै हाम्रो जिन्दगी घुमीरहन्छ र आफ्नो पनि पालो आउने कुरा किन बिर्सेका हुन आजका युवापुस्ताले ? यो प्रश्नको बिषय बनेको छ ।

    मातातीर्थको उत्पत्तिका सम्बन्धमा प्रचलित एउटा कथा यस्तो छ । कथा अनुसार धेरै वर्ष पहिले त्यस ठाउँमा गाईबस्तु चराउने चौर थियो । एक दिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाहरूले पनि रोटीका टुक्रा फ्याँके, तिनमध्ये आमा जीवित हुनेले फ्याँकेको रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटीमात्र अलप भए ।

    कथाअनुसार पहिलोचोटी रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । यो कुरा चाल पाई गाउँलेहरूले औँसीका दिन मृत आमा त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाइ त्यसको नाम मातातीर्थ राखे । यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेहरूले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो । आमाको महत्वलाई संस्कृतका विभिन्न श्लोकमा यसरी वर्णन गरिएको छ, ‘मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव ।’

    ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ 
    ‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’

    औँसीलाई पितृको तिथि मानिन्छ । भदौ कृष्ण औँसीमा बाबुको मुख हेर्ने पर्वका रुपमा मनाइन्छ । यस दिन बाबुलाई मीठा चीजबीज खान र राम्रा कपडा लगाउन दिइन्छ । बाबुको मुख हेर्ने दिन उपत्यकाको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वरमा दिवंगत पिताको सम्झनामा श्राद्ध गरिन्छ । गोकर्णेश्वरलाई पितृतीर्थका रुपमा लिइन्छ । यहाँ श्राद्ध गरेमा घर र मामाघरका समेत सात पुस्ताका पितृले मोक्ष पाउँछन् भन्ने मान्यतासमेत छ ।

    अन्त्यमा : देविको प्रतिरूप, ममताकी खानी अनि वालापनमा हाम्रा हरेक ईच्छा, आकाङ्क्षा अनि चाहना पूरा गरिदिने कल्पवृक्ष सरि यस पृथ्वी लोकका सम्पूर्ण आमाहरूलाई कोटि कोटि नमन । [email protected]

     

     

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार