मातातीर्थ औँशीको दिनमा ८० वर्षीया आमाको चिठी - Butwal Online
मातातीर्थ औँशीको दिनमा ८० वर्षीया आमाको चिठी

छोरा, शुभ आशीर्वाद !

बुहारी र नातिनातिनामा धेरै धेरै सम्झना !

पशुपतिनाथको कृपाले आरामै छौं। प्यारी बुहारी र साना दुई नातिनातिनालाई कस्तो छ ?  नदेखेको धेरै भयो तर याद ताजै छ। असीम सम्झनासँगै आशीर्वाद र माया सुनाइदिनु है। म पनि तिमीहरूको मायाले आजका दिनसम्म बाँचेकै छु।छोरा, जतिसुकै व्यस्त भए पनि समय निकालेर पत्र पढ्नु ल। तिमीले मलाई मातातीर्थ नुहाउन सागर जाऊ भनेर आ श्रममा छोडेको आज ठीक एक वर्ष भएछ। मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) आउनासाथ मलाई त्यो दिनको झलझली याद आउँछ।

बारीमा गोड्ने बेला भएका मकै, करेसामा लहलहाउँदै गरेका स्कुस, फर्सी र कल्कलाउँदा काँक्रा पनि सम्झिरहेकी छु। यहाँ त्यस्तो केही छैन। अझ त्यहाँ हुर्किंदै गरेका आँप, लिची र तिनका फेदमा रोपेका खुर्सानी त्यत्तिकै लहलह होलान्।तिमीले मलाई लिएर हिँड्दा ‘म पनि आमासँगै जान्छु’ भन्दै कोकोहोलो मच्चाएर रुने नातिनी। अनि ‘हजुरी कति बेला फर्कने ?     छिटो आउनु है !’ भन्ने नाति सम्झिरहेकी छु। नातिले धेरै पापा ल्याइदिनु भनेको थियो। त्यो सम्झिँदा आँखा भरिन्छ आँसुले। ‘तपाईं नहुँदा घर सुनसान लाग्छ’ पनि भनेका थिए। ती शब्द सम्झिँदा अहिले पनि आँसु रोकिँदैनन्। साँझ सुत्ने बेलामा सधैं मलाई संगिनीको भाकामा लोरी गाउन लगाएर निदाउने नानीहरूको यादले सताइरहन्छ। अझ उनीहरू बिहानै उठेर आँगनमा खेलेको चित्र आँखामा प्रत्येक दिन आउँछ र मन कटक्क काट्छ।छोरा, तिमीहरूका बाउ बितेपछि छोरा–बुहारी अनि तिनै नातिनातिनाको मुख हेरेर बाँचेकी थिएँ। तिमीहरूलाई हेरेरै बाउलाई भुल्ने प्रयास गरेकी थिएँ।

तिमीहरू कामबाट ढिला गरी घर फर्किंदा तिनै नातिनातिनाको कपाल सुम्सुम्याउँदै पिँढीमा बसेर बाटो हेर्थें। आज आ श्रमको उराठ लाग्ने बाटोमा जति हेरे पनि तिमीहरूको अनुहार देख्न पाएकी छैन। हातखुट्टा लाग्दासम्म तिमीहरू साँझ घर फर्किंदा दालभात पकाएर राख्थें। हातखुट्टा नचल्ने भएपछि तिमीहरूले मलाई यो आ श्रमसम्म ल्याएर छोड्यौ। मैले बुझेकी छु– यो तिमीहरूको बाध्यता हो। तिमीहरूको यो निर्णयसँग मलाई अलिकति पनि विस्मात छैन। विस्मात त तिमीहरूलाई देख्न नपाउँदा मात्र लाग्छ। विस्मात त चाडपर्वमा तिमीहरूले मीठोमसिनो खायौ कि छैन भन्ने कुरा सम्झेर लाग्छ। विस्मात त हरेक व्रतपछि नातिनातिनालाई प्रसाद दिन नपाउँदा लाग्छ।तिमीहरूको बाध्यता सम्झेर मन बुझाउने प्रयास गर्छु। तर कमलो मन छ। आँसु झरिहाल्छ।

बिहान सबेरै घरबाट दुवैजना काममा निस्कनुपर्ने दैनिकी त्यही छ कि फेरियो ?     बुहारी खाना पकाएर हतारहतार नानीहरूलाई स्कुलमा छोडेर जान्छिन् होला ! तिमीहरू साँझ घर फिर्न ढिला हुँदा नातिनातिना कता बस्छन् ?   तिमीले आ श्रममा छोडेर घर पुग्दा मलाई कत्ति खोजे होेलान् ?   कहाँ जानु भो ?     कहाँ छोडेर आउनु भो भन्दै कत्ति खोजे होलान् ?    तिमीले के भनेर जवाफ दियौ ?    मनमा यस्तै कुरा खेलिरहन्छन्। सायद मेरा हातखुट्टा नबसेका भए आजसम्म म पनि नातिनातिनासँगै हुन्थें। तिमीहरू बेलैदेखि आफ्नो स्वास्थ्यको ख्याल गर्नू। रोगले चापेपछि परिवारबाट टाढा जानुपर्दा अति नै मन दुख्दो रहेछ।

मेरो बाकसमा मखमलको थैली छ। त्यसमा २५० रुपैयाँ राखेकी थिएँ। एक सय तिमीले अफिस जाँदा खाजा खानू। एक सय रुपैयाँ बुहारीलाई तरकारी किन्न दिनू। ५० रुपैयाँ नातिनातिनालाई बाँडिदिनू। मिस्रीको पोकोचाहिँ ल्याइदिनू। राति तिमीहरूको यादले निद्रा नलाग्दा मुख सुक्छ। त्यो बेला चुस्दै सुत्छु।

यहाँ खुसी छैन। पुराना दिन सम्झिँदै कहिले रुन्छु र कहिले हाँस्छु। तिमीले कार लिएर अफिस निस्केको र बुहारी स्कुटरमा छोराछोरीसँग घरबाट बाहिर निस्केको दृश्य देख्न नपाएको वर्ष दिन भयो। अनि साँझमा सबै घर फर्केर भेला हुँदाको रमाइलो अब सम्झनामा पनि धमिलो भइसक्यो। मैले जानीनजानी केलाएको तरकारी बुहारीले चुरा बजाउँदै पकाएको याद ताजै छ। अझ त्यो भात र तरकारीको मिठास त भुल्नै सक्दिनँ। कहिलेकाहीं आ श्रममा पाउजु लगाएर चुरा बजाउँदै कोही महिला आउँदा बुहारीको झल्को आउँछ। हेर्छु अर्के मान्छे देख्छु। अनि मुख छोपेर रुन्छु।यस वर्षको मातातीर्थ औंसी वैशाख २१ गते परेको रहेछ। यहाँ आ श्रममा बसेका साथीका छोराछोरी कसैले भेट्न आउँछु भनेर फोन गर्छन्। कोही लिन आउने भएका छन्। त्यो दिन यहाँ म एक्लै हुन्छु।

छोरा, जसरी पनि फुर्सद मिलाएर बुहारी र आँखाका नानी समान नातिनातिनालाई लिएर मलाई भेट्न आऊ है। तिमीलाई देख्न धेरै मन छ। नातीनातिनाको साह्रै न्यास्रो लागेको छ। मेरो बाबू कस्तो भयो होला ?  अनि बुहारी कस्ती भइन् होला ?   नातिनातिना कत्रा भए होला ?        सबैलाई एकपटक भेटेर गफ गर्ने भित्री इच्छा छ।तिमीहरू जसरी पनि भेट्न आउनू। आमालाई भेट्न जाँदा हामी सँगै आउँछिन् भनेर डराउनु पर्दैन। मलाई भेट मात्र दिए पुग्छ। अब फेरि घर गएर तिमीहरूलाई अल्झाउन चाहन्न। हरेक दिन यहीं रमाउने कोसिस गर्दै छु। दौंतरीहरू पनि छन्। उनीहरूसँग तीतामीठा अनुभव साटासाट गर्छौं। ए, अनि त्यो मेरा लुगा कपडा राख्ने बाकसमा थैली छ। मखमलको थैलीभित्र दुई सय ५० रुपैयाँ राखेकी थिएँ। एक सय तिमीले अफिस जाँदा खाजा खानू। एक सय रुपैयाँ बुहारीलाई तरकारी किन्न दिनू।

अनि ५० रुपैयाँ नातिनातिनालाई बाँडिदिनू। त्यही बाकसमा भएको मिस्रीको पोकोचाहिँ च्यापेर ल्याइदिएस्। राति तिमीहरूको यादले निद्रा नलाग्दा खुब मुख सुक्छ। त्यो बेला चुस्दै सुत्छु।खुर्सानी र साग बेचेर राखेका पैसा छिमेकीलाई सापट दिएकी थिएँ। फिर्ता लिने बेला भयो। कोको सँगै छन् भनेर यहीं आएपछि भन्छु। अनि म सुत्ने ओछ्यानछेउको खोपामा बत्ती कातेर राखेकी थिएँ। बुहारीले साँझ बत्ती बाल्नू। माली गाई दूध दिँदै छ कि थाक्यो ?   थाक्यो भने बेचिदिनू। बरु दूध डेरीबाट लिएर नातिनातिनालाई खुवाए हुन्छ।छोरा, मलाई यहाँ लाउन र खानको कुनै दुःख छैन। आ श्रमका नानीहरूले राम्रो चाकर गरेका छन्।

मेरा लागि केही उपहार चाहिन्न। केवल बुहारी र नातिनातिनाको मुख हेर्ने मन छ। मेरो इच्छा पनि अरू केही छैन। बस्, तिमी, बुहारी र नातिनातिनालाई एकपटक नजिकबाट देख्ने इच्छा छ।अब धेरै गन्थन नगरौं। यो पत्रमा तिमीहरूलाई भुलाइराख्नु उचित हुँदैन। फेरि पनि मातातीर्थ औंसीको दिन जसरी पनि समय मिलाएर आउनू। आखिर मेरो को नै छ र ?   बाउआमा सानैमा बिते। तिमीहरूका बाउले छोडेको पनि एक कोरी (२० वर्ष) पुग्न लागेछ। त्यसैले फेरि भन्छु, त्यो दिन सय काम छोडेर मलाई भेट्ने समय मिलाएस्।

तिमीहरूकै मायामा बाँचिरहेकी आमा

 यो पनि पढ्नुहोस 

पहाडको गाउँमा जन्मिएकी मेरी “आमा”

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार