प्रथम गुल्मी साँस्कृतिक पर्यटन एवं व्यापार मेलाबाट २७ लाख बचत - Butwal Online
प्रथम गुल्मी साँस्कृतिक पर्यटन एवं व्यापार मेलाबाट २७ लाख बचत
  • ४५ प्रतिशत सामाजिक कार्य र ६५ प्रतिशत सँस्थागत विकासमा खर्च गरिने
  • गुल्मी, २२ वैशाख । २०७५ चैत २० गतेदेखि ३० गतेसम्म संचालन भएको ‘प्रथम गुल्मी साँस्कृतिक पर्यटन महोत्सव एवं व्यापार मेला’ मा २७ लाख बचत भएको छ ।

    आइतबार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गर्दै सो रकम बचत भएको जानकारी गराइएको हो । सो रकममध्ये ४५ प्रतिशत अर्थात १२ लाख १५ हजार सामाजिक कार्यअन्तरगत रेसुगां नगरपालिकासँग समन्वय गरी हाटबजार निर्माणमा सहयोग गर्ने मेला मुल आयोजक समिति सह–संयोजक नवराज भुसालले जानकारी दिए ।

    पत्रकार सम्मेलनमा महोत्सवको कुल ८४ लाख २० हजार बराबरको आयव्यय पनि प्रस्तुत गरिएको छ । कुल ७२ हजार पाचँ सय टिकटबाट २८ लाख २० हजार, स्टलबाट २७ लाख, मेलाबाट १४ लाख तथा प्रायोजक सहयोगबाट १५ लाख आम्दानी भएको आयोजकले जनाएको छ । खर्चतर्फ कलाकारमा १९ लाख, यातायात तथा खानातर्फ तीन लाख, स्टल निर्माणमा आठ लाख २० हजार खर्च गरिएको छ ।

    त्यस्तै सुरक्षातर्फ तीन लाख, प्रचार–प्रसार तथा व्यवस्थापनतर्फ १६ लाख, मञ्च तथा गेट निर्माणमा पाचँ लाख र मेलाबाट बचत २७ लाख भएको जनाइएको छ । महोत्सवमा कुल एक लाख भन्दा बढी दर्शकले मेला अवलोकन गर्नुका साथै १० करोडभन्दा बढीको कारोबार भएको छ । महोत्सवमा जम्मा दुई सय १० वटा स्टल रहेको थिए ।

    जसमध्ये जिल्लाका १२ वटै स्थानीय तहको स्टल समावेश गरेको थियो । भने ३३ वटा स्टल कृषि घरेलुको लागि निःशुल्क प्रदान गरिएको मेला मुल आयोजक समितिका सह–संयोजक भुसालले जानकारी दिए । महोत्सवमा पिपलका पातमा अतिथिको व्याच बनाइएको थियो । खादा निषेध गर्नुका साथै गुल्मीको गुड र कफि उपाहारको रुपमा प्रदान गरिएको थियो ।

    स्थानीय तहको आ–आफ्नै प्रदर्शन

    गुल्मी महोत्सवमा जिल्लाका १२ स्थानीय तहले आआफ्नै प्रमुख उत्पादन र पहिचान प्रर्दशन गरेका थिए । धुर्कोट गाउँपालिकाले जमुनापारी र बयर जातको दुई बोका प्रदर्शनमा राखेको थियो । भने इस्मा गाउँपालिकाले सेरामिक्सबाट उत्पादन भएका माटाका भाँडालाई प्रमुख आकर्षणको रुपमा महोत्सवमा राखेको थियो ।

    मदाने गाउँपालिकाले कलात्मक ढुंगा, मालिका गाउँपालिकाले महोत्ससव अवधीमा आलु र तरुल,सत्यवति गाउँपालिकाले बोका र शालिकग्राम, तथा कालीगण्डकी गाउँपालिकाले कालो सिमीलाई प्रदर्शनमा राखेका थिए । मुसिकोट नगरपालिकाले आँपचौरको कफी र वामीको मह, गुल्मीदरवार गाउँपालिकाले खुकुरी, छत्रकोट गाउँपालिकाले खुदो, रुरु गाउँपालिकाले गुण र चन्द्रकोट गाउँपालिकाले सिलाम भाँगो प्रदर्शनमा राखेको घिमिरेले जानकारी दिए ।

    गुल्मी महोत्सवमा नेपाली सेनाको बिरभद्र जंग गुल्मले मौलिक ऐतिहासिक सरायँ नाच प्रस्तुत गरेको थियो । मेलामा ७३ जना नेपालका ख्याती प्राप्त हास्य व्यग्य सहित बिभिन्न बिधाका कलाकारहरुले प्रस्तुती दिएका थिए ।

    हुमाकान्त पोखरेल

    हुमाकान्त पोखरेल बुटवल अनलाइनका गुल्मी सम्बादाता हुन्

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार