लुम्बिनी खुकुरी क्रिकेट क्लब र तिरुपति क्रिकेट क्लब विजयी - Butwal Online

भैरहवा, २३ वैशाख 

सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा रुपन्देही क्रिकेट संघको समन्वयमा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी दोस्रो मेयर कप टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब र तिरुपति क्रिकेट क्लब विजयी भएका छन् । खुकुरीले बुद्ध क्रिकेट क्लबलाई १ सय ८५ रनको विशाल अन्तरले पराजित गर्यो भने तिरुपतिले लर्डबुद्ध क्रिकेट क्लबलाई १० विकेटले पराजित गरेको हो ।

टस हारेर ब्याटिङ गरेको खुकुरीले निर्धारित खेलमा ७ विकेट क्षतिमा २ सय १९ रन बनायो । जसमा प्रज्वल थापाले ५०, निश्चल चौधरीले ३८, अन्तिम थापाले २९, मानबहादुर थापाले नटआउट २६ र साहव आलमले २५ रनको योगदान गरे । बलिङमा बुद्धका अजय त्रिपाठी र जमाल अहम्मदले २–२ विकेट लिए ।

जवाफमा बुद्धले ११.२ ओभरमा सबै विकेट गुमाई ३४ रन मात्रै बनाउन सक्यो । उसका लागि इमरान अलीले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसलाई सस्तैमा समेट्न बलिङमा म्यान अफ द म्याच समेत रहेका खुकुरीका अन्तिम थापाले ४ तथा मानबहादुर थापाले ३ विकेट लिए ।

अर्को खेलमा जितका लागि लर्डबुद्धबाट पाएको ३१ रनको लक्ष्य तिरुपतिले विना क्षति ९.४ ओभरमा ३४ रन बनाउँदै पुरा गर्यो । उसका लागि संदीप सुनार र शौरभ खनालले नटआउट १३ तथा ९ रन बनाए । यसअघि टस जितेर व्याटिङ गरेको लर्डबुद्ध ११.३ ओभरमा अलआउट हुँदै ३० रनमै समेटिएको थियो । जसमा सुरज धवलले ८ रन बनाउनुाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् । बलिङमा तिरुपतिका अनिल खरेलले ३, कृष्ण कार्की, रोविन क्षेत्री र विक्रम भुसालले २–२ विकेट लिए । अनिल म्यान अफ द म्याच भए ।

मंगलबार पहिलो खेल शिवशक्ति क्रिकेट क्लब र मास्टर्स–११ क्रिकेट क्लब तथा दोस्रो खेल साई ग्लोबल क्रिकेट क्लब र बुम एमसीसी क्रिकेट क्लबबीच हुनेछ । प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले १० तथा बेष्ट बलर र बेष्ट ब्याट्सम्यानले ५–५ हजार एवं प्रत्येक दिनको म्यान अफ द म्याचले १–१ हजार प्राप्त गर्नेछन् । ८ क्लब सहभागी प्रतियोगिता वैशाख २५ गतेसम्म चल्नेछ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार