नवजात शिशुका लागि गर्नुपर्ने आवश्यक स्याहार - Butwal Online
नवजात शिशुका लागि गर्नुपर्ने आवश्यक स्याहार

नेपालमा एक हजार जीवित जन्मेका शिशुमध्ये २१ जना जन्मेको २८ दिन नपुग्दै मर्छन् । त्यसैले, नवजात शिशुका लागि गर्नुपर्ने आवश्यक स्याहारका विषयमा जानकारी भएमा शिशुको जीवन रक्षामा ठूलो सहयोग पुग्छ ।

स्वास्थ्यसंस्था, घर वा जुनसुकै ठाउँ र अवस्थामा जन्मेको भए पनि नवजात शिशु स्याहार अत्यावश्यक  हुन्छ । अब जानौँ, नवजात शिशु स्याहार विधि :

    • शिशु जन्मनुअघि नै न्यानो कपडाको तयारी गरिराख्नुपर्छ । जन्मनासाथ शिशुलाई सफा नरम कपडा लगाइदिएर न्यानो पारी राख्नुपर्छ ।
    • शिशुलाई मायाको अँगालोमा (आमाको नांगो छातीमा शिशुको नांगो छाती टाँसी न्यानो पारेर राख्ने विधि) राख्नुपर्छ ।
    • आमाले नवजात शिशुमा हुने खतराका लक्षणबारे स्वास्थ्यकर्मीबाट जानकारी लिइराख्नुपर्छ । यसो भएमा आफनो बच्चालाई कुनै समस्या आएमा थाहा पाउन सकिन्छ । र, उपचारका लागि तुरुन्त स्वास्थ्य संस्थामा लैजान सकिन्छ ।
    • शिशु जन्मेको १ घन्टाभित्रै आमाको दूध खुवाउनुपर्छ । जन्मनासाथ शिशुलाई आमाको दूध चुसाएमा सुत्केरीको साल चाँडो झर्न मद्दत पुग्छ । साथै, सुत्केरीको असामान्य रक्तश्राव हुनबाट बचाउँछ ।
    • आमाको बिगौती दुध नवजात शिशुका लागि पहिलो खोप हो । यस्तो दूधमा नवजात शिशुलाई संक्रमणबाट रोक्न सक्ने प्रतिरोधात्मक तŒव पाइन्छ । शिशुले पनि आमाको दूध सजिलो गरी पचाउन सक्छ ।
    • नवजात शिशुलार्ई दिउँसो र रातिआमाको दूध दुई–दुई घन्टाकोे फरकमा खुवाउनुपर्छ ।
    • शिशुले आमाको दूध चुस्न नसकेमा दूध निचोरेर चम्चाले बिस्तारै खुवाउनुपर्छ ।
    • शिशुको नाभी काटेपछि त्यसमा कुनै चिज नलगाई सुक्खा र सफा राख्नुपर्छ । यसो गर्नाले संक्रमणबाट बचाउन सकिन्छ । नाभीमा जथाभावी तेल वा अन्य कुनै पनि पदार्थ राख्दा नाभीको संक्रमण भई शिशु बिरामी हुने तथा मृत्युसम्मको खतरा हुन्छ ।
    • नवजात शिशुलाई छुनुअघि पानी हातमा राख्ने चलन हाम्रो यहाँ छ । तर, पानी मात्र छोएर हातमा भएको कीटाणु नाश हुँदैन । त्यसैले नवजात शिशुलाई समाउनुअघि हात राम्रोसँग धुनुपर्छ । यसो गरेमा शिशुलाई संक्रमण हुने सम्भावना कम हुन्छ ।
    • शिशुलाई जन्मेको २४ घन्टापछि मात्र नुहाइदिनुपर्छ । यसो गरेमा उसलाई चिसो लाग्दैन ।
    • शिशुलाई आँखामा तेल हाल्ने तथा गाजल लगाउने गर्नुहुँदैन । यसले आँखामा संक्रमण हुन सक्छ ।
    • शिशुलाई कुनै खतको चिह्न देखिएमा तुरुन्त स्वास्थ संस्थामा लैजानुपर्छ ।

शिशुको नाभी काटेपछि त्यसमा कुनै चिज नलगाई सुक्खा र सफा राख्नुपर्छ, यसो गर्नाले संक्रमणबाट बचाउन सकिन्छ

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार