पाल्पामा सुर्यमुखी फुलको व्यावसायिक परीक्षण - Butwal Online

पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिकामा पाल्पामा सूर्यमुखी फूल खेतीको परीक्षण सफल भएको छ । पहिलो पटक यहाँ लगाइएको सूर्यमुखी फूल सफल भएपछि अब यसको व्यावसायिक खेती गर्ने कृषकको तयारी छ ।



गाउँपालिकाले सूर्यमुखी फूल खेतीका लागि ३० किलो बीउ सहयोग गरेको थियो । परीक्षणका रुपमा लगाइएको सूर्यमुखी फूल पहिलो वर्षमा नै आठ सय देखि एक हजार किलोसम्म उत्पादन लिन सकिने कृषक लक्ष्मण आचार्यले बताए । कम लगानी र मिहिनेतमा सूर्यमुखी फूलको व्यावसायिक खेती गरेर राम्रो आम्दानी लिन सकिन्छ । यसभित्र अन्य बालीहरु लगाएर कृषकले आयस्रोत बढाउन सक्नेछन् । बजारमा माग बढ्दो रहेकाले पनि बिक्रीका लागि कृषकले समस्या भोग्नु पर्दैन ।

पहिलो पटक लगाइएको खेती राम्रो भएपछि अर्को वर्ष गाउँपालिकाभित्र विस्तार गर्ने कृषि प्राविधिक सन्तोष कँडेलले बताए । पाल्पाको बगनासकाली गाउँपालिकाका कृषकले चार वर्षअघि देखि नै व्यावसायिक रुपमा सूर्यमुखी फूलको खेती गर्दै आइरहेका छन् । यस वर्षदेखि निस्दी गाउँपालिकामा पनि व्यावसायिक रुपमा यसको खेती शुरु भएको छ ।

सूर्यमुखी फूल खेतीभित्र पनि अन्य विभिन्न बाली लगाउन सकिने, कम लगानी, मिहिनेतमा यसको व्यावसायिक खेती गरेर यथेष्ट कमाउन सकिने कृषि प्राविधिकहरु बताउँछन् । उत्पादित वीउबाट तेल उत्पादन गरी मनग्य आम्दानी लिन सकिन्छ भने डाँठलाई दाउराका लागि प्रयोग गर्न सकिन्छ । अन्य खेतीको तुलनामा धेरै परिश्रम र झन्झट गर्न नपर्ने, एक पटकमा तेब्बर बाली उत्पादन लिन सकिने हुँदा राम्रो आम्दानीको स्रोतका रुपमा लिइन्छ ।

सूर्यमुखी फूललाई बाह्रै महीना फुलाउन सकिन्छ । फूलका कारण मौरीलाई चरन हुने अर्कोतर्फ वीउबाट तेल आउने भएकाले कृषकहरुको आकर्षण बढेको पाइएको छ । सौन्दर्यताका लागि केही बोट घरको आँगनको डिल, छेउछाउमा लगाउँदै आइए पनि यस खेतीबाट राम्रो आम्दानी लिने उद्देश्यले कृषकले अहिले व्यावसायिक रुपमा खेती गर्न थालेका हुन् ।

रासस

बुटवल अनलाइन रासस को ग्राहक हो

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार