बुटवलको बसपार्कमा ३ हप्ता लगातार सरसफाई हुने - Butwal Online
बुटवलको बसपार्कमा ३ हप्ता लगातार सरसफाई हुने

बुटवल, २७ बैशाख 

बुटवलको बसपार्कमा ३ हप्ता लगातार सरसफाई हुने भएको छ । बुटवल तिनाउ सरसफाई अभियानले अभियानको ५० औं हप्ता पुग्न लागेको अवसरमा बसपार्कमा ३ हप्ता लगातार सरसफाई गर्न लागेको हो ।

अभियानले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी गत बर्ष असार ९ गते देखि सुरु भएको अभियान जेठ १८ गते ५० औं हप्ता पुग्दै छ । अभियानका संयोजक ठाकुर गैह्रेले बसपार्क बाट अभियान सुरु भएकाले अभियानको ४७ औं देखि ५० औं हप्ता बसपार्कमा गर्न लागिएको उनले बताए ।

बुटवल सुन्दर र सफा छ भन्ने सन्देश बसपार्कमा आएका यात्रुहरुबाट जाने भएकाले बसपार्कलाई सुन्दर र सफा राख्न अभियान चलाइरहने उनले बताए । पछिल्लो समय गुट्खा र प्लाष्टिकजन्य फोहोरका कारण कुरुप बन्दै गएको बताउँदै अभियानमा व्यवसायीको साथ समेत नभएको उनले गुनासो गरे ।

अभियानका सह संयोजक कृष्ण कंडेलले सरसफाई अभियान सुरु गरेपनि घरअगाडिकै फोहोर फाल्न व्यवसायी एवं घरधनी नआएको भन्दै सवैको सहयोगमा मात्र अभियानले सार्थकता पाउने बताए । अभियानमा पहिलो पाईला बुटवल शाखा, गुल्मी सिमिचौर सम्पर्क समाज, खुद्रा किराना व्यवसायी संघ, औद्योगिक शसस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरीको सहयोग समेत छ । बुटवल तिनाउ सरसफाई अभियानले ५० औं हप्ताको अवसरमा विशेष सचेतना कार्यक्रम समेत गर्ने बताएको छ ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्माले आम नगरबासीमा सचेतना जगाउन नसक्दा सम्म सरसफाई अभियान प्रभावकारी हुन नसक्ने बताए । जनसहभागिता संगै सचेतना जगाउन सके बुटवल सरसफाईमा नम्बर एक हुने उनको भनाई थियो । पहिलो पाईला बुटवलका संयोजक भरत जंग केसीले जनप्रतिनिधीहरुले समेत अभियानमा साथ नदिएको गुनासो गरे ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार