Trending
  • दुई सय परिवारलाई सौर्यबत्ती वितरण - Butwal Online
    दुई सय परिवारलाई सौर्यबत्ती वितरण

    रुकुम, २८ वैशाख । सानीभेरी गाउँपालिका–१० का आधा दर्जन बढी टोलका २०० परिवारले सोलार बत्तीको उज्यालोमा बस्न पाएका छन् । पहाडी साना किसानका लागि अनुकूलन आयोजना (आशा) जिल्ला समन्वय एकाइले वडाका २०० घरपरिवारलाई सोलार उपलब्ध गराएको हो ।



    वडाका तिमिले, चिन्तु, सार्कीमारे, घण्ठाना, डाँडाअर्मा, दाब्रेखोला, लाहौरडेरा र भेरीटोलका नागरिकलाई ७६ प्रतिशत अनुदानमा सोलार उपलब्ध गराइएको छ । सोलार वितरणका लागि कूल रु २६ लाख ३५ हजार १५० खर्च लागेको आशाले जनाएको छ ।

    आशाले रु २० लाख १५ हजार १५० र उपभोक्ताले रु छ लाख २० हजार नगद ब्यहोरेका छन् । प्रतिसेट रु १२ हजार ९१७ का दरले खरीद गरी वडाका ३६० मध्येमा २०० परिवारलाई बाँडिएको आशा परियोजनाकी निमित्त जिल्ला संयोजक भारती केसीले जानकारी दिए ।

    उनका अनुसार कूल लागतमा ७६.४८ प्रतिशत खर्च आशा र २३.५२ प्रतिशत उपभोक्ताले लगानी गरेका छन् । विद्युत्को पहुँचमा नपुगेका नागरिकलाई वैकल्पिक ऊर्जाको माध्यमबाट विद्युत्को पहुँचमा पु¥याउने उद्देश्यले सोलार वितरण गरिएको उनले बताए ।

    परियोजनाले जलवायु अनुकूलनका लागि भौतिक र आयआर्जनमूलक कार्यक्रम सञ्चालन गरिरहेकामा भौतिकतर्फको कार्यक्रमअन्तर्गत नागरिकलाई सोलार बाँडिएको जनाइएको छ । स्थानीय शिवशक्ति कृषक समूहसँग सम्झौता गरी सोलार बाँडिएको हो । गाउँपालिका अध्यक्ष नरबहादुर पुनले सोलार वितरण गरेका हुन् ।

    सोलार वितरण कार्यक्रमबाट जलवायु परिवर्तनका कारण निम्तिएका असरलाई कम गर्नका लागि सहयोगीको भूमिका खेल्ने उद्देश्य राखिएको छ । मानवीय गतिविधिका कारण कार्वन उत्सर्जन भई वातावरणलाई असर नगरोस् भन्ने उद्देश्यका साथ सोलार वितरण गरिएको आशा परियोजनाकी जिल्ला जलवायु परिवर्तनविज्ञ रेविका गुरुङले बताईन ।

    “विद्युत्को पहुँच नपुगेका गाउँमा उज्यालोका लागि दाउरा, दियालो, मट्टितेल र पेट्रोल बाल्दा कार्वन उत्सर्जन बढिरहेको छ”, उनले भने , “सोलारबाट उज्यालो बनाई कार्वन उत्सर्जन रोक्न टेवा पु¥याउने उद्देश्यले सोलार उपलब्ध गराइएको हो ।”

    आशाले स्थानीय योजना अनुकुलन कार्ययोजना (लापा) कार्यक्रम लागू भएका जिल्लाका विभिन्न ठाउँमा जलवायु अनुकूलनका लागि काम गरिरहेको गुरुङको भनाइ छ । वडाका ३६० घरपरिवार मध्येमा २०० परिवारलाई सोलार उपलब्ध गराइएपछि वडाका अधिकांश परिवार सोलारबाट झिलीमिली हुँदैछन् ।

    यस पटक सोलार पाउन नसकेका १६० घरपरिवारमध्येमा अधिकांश घरपरिवार यसअघि नै सोलारबाट झिलीमिली छन् । बिहीबार बाँडिएका सोलार जडान गरिएपछि वडाका केहीबाहेक अधिकांश घरपरिवार झिलीमिली हुनेछन् ।

    रासस

    बुटवल अनलाइन रासस को ग्राहक हो

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार