मुसीकोट नगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा - Butwal Online

रुकुम, २८ वैशाख । जिल्लाको मुसीकोट नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरपालिकाले आफ्नै लगानीमा एम्बुलेन्स खरीद गरी सञ्चालन गरेको हो ।

बिरामीलाई भरपर्दाे र सुलभ सेवा दिने उद्देश्यका साथ एम्बुलेन्स सेवा सञ्चालन ल्याइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले रु नौ लाख ५३ हजारमा नयाँ एम्बुलेन्स किनेको छ ।

नगरपालिकाबाट विनियोजित बजेटबाट एम्बुलेन्स खरीद गरी सेवा शुरु गरिएको नगरपालिकाका प्रमुख देवीलाल गौतमले जानकारी दिए । उनका अनुसार नगरपालिकाभित्र हुने कुनै पनि आकस्मिक घटनामा एम्बुलेन्सले निःशुल्क सेवा दिने छ । “नगरभित्रका कुनै पनि ठाउँमा दुर्घटनाजस्ता आकस्मिक घटना भएमा उक्त घटनामा नगरको एम्बुलेन्सले निःशुल्क सेवा दिने छ”, उनले भने । यसबाट नगरवासीलाई ठूलो राहत पुग्ने नगर प्रमुख गौतमको भनाइ छ ।

नगरपालिकाको एम्बुलेन्सले जिल्लामा तोकिएको एम्बुलेन्स भाडाभन्दा १५ प्रतिशत छुटमा सेवा दिने बताइएको छ । “हामीले नयाँ एम्बुलेन्स किनेर सञ्चालनमा ल्याएका छौँ”, नगर प्रमुख गौतमले भने, “हाम्रो एम्बुलेन्सले हाल जिल्लामा चलेको भाडाभन्दा १५ प्रतिशत कममा सेवा दिइरहेको छ ।”

भरपर्दो र सुलभ स्वास्थ्य सेवा दिने आफूहरुको लक्ष्य रहेकामा त्यसैअन्तर्गत सस्तोमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको उनको भनाइ छ । मुसीकोट नगरपालिका एम्बुलेन्स सञ्चालन गर्ने जिल्लाको तेस्रो स्थानीय तह बनेको छ । जिल्लाको चौरजहारी नगरपालिका र आठबीसकोट नगरपालिकाले यसअघि नै एम्बुलेन्स सेवा सञ्चालन गरिसकेका छन् ।

रासस

बुटवल अनलाइन रासस को ग्राहक हो

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार