Trending
  • अत्यधिक गर्मीले विद्युतीय सामग्रीको ब्यापार बढ्यो - Butwal Online

    बाँके, २९ वैशाख । नेपालगञ्जमा गर्मी अत्यन्तै बढेको छ । शनिबार यहाँको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगञ्जका अनुसार शनिबार यहाँका अधिकतम तापक्रम ४३ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।



    कार्यालयका मौसम विज्ञान सहायक योजना बस्ताकोटीले भने, “शनिबार नेपालगञ्जमा यो वर्षकै सबैभन्दा बढी तापक्रम मापन गरियो । जुन अघिल्ला वर्षको यही अवधिको तापक्रमभन्दा धेरै हो ।” उनका अनुसार नेपालगञ्जमा सन् २०१२ जुन १४ मा अहिलेसम्मकै सर्वाधिक तापक्रम ४५ डिग्री सेल्सियस मापन गरिएको थियो । सर्वाधिक गर्मीका साथै तातो हावा (लु) चल्न थालेपछि यहाँको जनजीवन उकुसमुकुस बनेसँगै गर्मी छल्न प्रयोग गरिने विद्युतीय सामग्रीको व्यापार नेपालगञ्जमा ह्वात्तै बढेको छ ।

    गर्मी बढेसँगै चिसो राख्ने आवश्यक समान किन्न बजार धाउनेहरुको सङ्ख्या बढ्न थालेको छ । गर्मी बढेसँगै विद्युतीय सामग्रीप्रति उपभोक्ताको आकर्षण बढ्दो छ । गर्मीबाट बच्न उपभोक्ताहरु पङ्खा, एसी, कुलरलगायत विद्युतीय सामग्रीप्रति आकर्षित बनेका छन् । त्यसैले पनि यसको व्यवसायमा सक्रियहरुलाई यतिबेला भ्याइनभ्याई छ । वैशाखको शुरुआतदेखि नै बढेको पङ्खा, एसी, कुलरको व्यापार महीनाको अन्तिमसम्म आइपुग्दा दोब्बरले बढेको छ ।

    अझै पङ्खा, एसी, कुलरलगायत विद्युतीय सामग्रीको व्यापारमा वृद्धि हुने व्यवसायीहरुको विश्वास छ । नेपालगञ्जको घरबारी टोलमा रहेको सहनाज इलेक्ट्रोनिक्सका सञ्चालक सफिक अहमद साहका अनुसार गर्मी बढेसँगै गर्मीका समयमा प्रयोग गरिने विभिन्न घरायसी विद्युतीय सामग्रीहरुको व्यापार बढेको छ । गर्मीमा प्रयोग गरिने पङ्खा, एसी, कुलरलगायत सामग्रीहरुको माग बढ्दै गएको सञ्चालक साहले जानकारी दिनुभयो । बजारमा एलजी, सामसुङ ब्राण्डका साथै भारतीय ब्राण्डका पङ्खा, कुलर, एसीजस्ता सामग्रीहरुको माग बढी भएको उनले बताए ।

    उनको पसलबाट पछिल्लो एक सातायता यस्ता सामग्रीहरुको दैनिक बिक्री सङ्ख्या तुलानात्मक रुपले बढेको पाइएको छ । सञ्चालक साहले भने, “गर्मी बढेपछि औसत व्यापार हुने भए पनि केही दिनयता गर्मी छल्न प्रयोग गरिने घरायसी सामग्रीहरुको खपत बढेको छ ।” नेपालगञ्ज–१९ का रबिन शर्मा गर्मी अत्यधिक बढ्ेका कारण आफूले घरमा एसी जोड्न बाध्य हुनुपरेको बताए । “गर्मीले रातभर सुत्न गाह्रो भयो, एसी जोडेपछि गर्मीबाट बच्न थोरै भए पनि राहत मिलेको छ,” शर्माले भने । गर्मी अत्यधिक बढेपछि उपभोक्ताहरुले विद्युतीय सामग्रीहरु खरिद गरेर प्रयोग गर्न थालेका हुन् ।

    नेपालगञ्जमा तीन दर्जनभन्दा बढी इलेक्टोनिक्स पसल रहेका छन् । यी सबै पसलमा गर्मी छल्न प्रयोग गरिने घरायसी सामग्रीको बिक्री बढेको छ । व्यवसायीहरुले अघिल्लो वर्षको तुलनामा यस वर्षको गर्मीमा ५० देखि ६० प्रतिशतसम्मको व्यापार बढ्ने लक्ष्य लिएका छन् । उनीहरुका अनुसार अहिले नेपाली बजारमा दर्जनौँ नाम तथा ब्राण्डका एसीहरु भित्रिएका छन् । नाम र कम्पनीअनुसार मूल्य पनि फरक फरक रहेको व्यवसायी बताउँछन् । बजारमा नक्कली सामानको बिगबिगी रहेकाले उपभोक्ताले पनि सामग्री खरीद गर्दा त्यसको ग्यारेन्टी, वारेन्टी, ब्राण्ड तथा फिचरका बारेमा सजग हुन जरुरी छ ।

    रासस

    बुटवल अनलाइन रासस को ग्राहक हो

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार