गुल्मी कुर्घा रूपन्देही सम्पर्क समाजद्वारा आश्रमलाई सहयोग - Butwal Online

बुटवल, वैशाख ३० । गुल्मी कुर्घा रूपन्देही सम्पर्क समाजले सोमबार बुटवल–८ सुख्खानगरस्थित मानवसेवा आश्रमलाई विभिन्न सामग्रीहरू हस्तान्तरण गरेको छ ।

सामाजिक कार्य गर्ने उद्देश्यले समाजले आश्रमलाई कपडा सिलाउने मेसिन सहित विभिन्न खाद्यान्न सहयोग स्वरूप हस्तान्तरण गरेको हो । उक्त सामग्रीहरू गुल्मी कुर्घा रूपन्देही सम्पर्क समाजका अध्यक्ष तेजनारायण अर्यालले आश्रमकी गंगा थापालाई हस्तान्तरण गरे ।
सो अवसरमा बोल्दै अर्यालले आगामी दिनहरूमा पनि आश्रमलाई सक्दो सहयोग गर्दै जाने बताए । स्थापनाको छोटो समयमा पनि आफूहरूले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको अर्यालले बताए । समाज गएको वर्ष स्थापना भएको थियो ।

समाजले दिएका सामग्रीहरू लिदै आश्रमका गंगा थापाले सबैको साथ र सहयोगबाट आश्रम चल्दै आएको बताइन् । उनले सबै मनकारीहरूले आश्रमलाई सहयोग गर्न आवश्यक रहेको बताए । तीन महिना अगाडि स्थापना भएको आश्रममा ८० जनाले आश्रय लिइसकेका छन् । कार्यक्रममा समितिका सम्पूर्ण पदाधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन समाजका वरिष्ठ सल्लाहकार भेषराज शर्माले गरेका थिए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार