झण्डै ६ सय विपन्न परिवारलाई जस्तापाता वितरण - Butwal Online

घोराही, १ जेठ । तुलसीपुर उपमहानगरपालिकाले सुरक्षित आवास कार्यक्रमअन्तर्गत झण्डै ६०० घरधुरीलाइ जस्तापाता वितरण गरेको छ । उपमहानगरभित्र रहेका खरको छानो हटाउने नगरको उद्देश्यअनुरुप गत आवमा ५७० घरधुरीलाई जस्तापाता वितरण गरेको उपमहानगरले जनाएको छ ।

कार्यालयले तयार पारको मापदण्डअनुरुप नगरका १९ वटै वडामा खरको छानो भएका अतिविपन्न घरपरिवारलाई छनोट गरी उनीहरुलाई जस्तापाता वितरण गरिएको हो । कार्यालयले दिएको जानकारीअनुसार गत वर्ष रु एक करोड ११ लाख १७ हजार बराबरको एक हजार ६०७ बण्डल जस्तापाता वितरण गरिएको हो ।

वडा नम्बर १ मा २१, वडा नम्बर २ मा २३, वडा नम्बर ३ मा ३६, वडा नम्बर ४ मा ३०, वडा नम्बर ५ मा ५, वडा नम्बर ६ मा ४, वडा नम्बर ७ मा २८, वडा नम्बर ८ मा २४, वडा नम्बर ९ मा १०, वडा नम्बर १० मा २२, वडा नम्बर ११ मा ३१, वडा नम्बर १२ मा २४, वडा नम्बर १३ मा ३०, वडा नम्बर १४ मा २५, वडा नम्बर १५ मा ३१, वडा नम्बर १७ मा २६, वडा नम्बर १मा ३१ र वडा नम्बर १९ मा ४१ घरधुरीलाई जस्तापाता वितरण गरिएको उपमहानगरले जनाएको छ । वितरण गरिएको ५७० घरधुरीमध्ये १०३ घरधुरीले जस्तापाता पाए पनि अझै घरमा जस्तापाता लगाउन सकेका छैनन् ।

उनीहरुलाई घरमा छिट्टै जस्ताको छानो लगाउन उपमहानगरले आग्रह गरेको नगरका प्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिए । यस्तै उपमहानगरले जस्ताको छानो नभएका केही घरधुरीलाई आगामी आवमा पनि जस्ताको छानो वितरण गर्ने कार्यक्रम अगाडि सारेको छ । जसमा रु १२ लाख बराबरको जस्तापाता वितरण गर्न लागिएको छ । प्रवक्ता डाँगीका अनुसार यस वर्ष विशेषगरी शहीद परिवार, घाइते, अपाङ्ग र ज्येष्ठ नागरिक भएका घरधुरीलाई जस्तापाता वितरण गरिने छ भने आयश्रोत भएका परिवारलाई २० प्रतिशत अनुदानमा जस्ता वितरण गरिने छ ।

रासस

बुटवल अनलाइन रासस को ग्राहक हो

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार