पुर्व राष्ट्रिय गान बजाएको आरोपमा पक्राउ परेका हिरासतमै अनसन - Butwal Online

बुटवल,१ जेठ ।
पुरानो राष्ट्रिय गान बजाएको आरोपमा पक्राउ परेका शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष पृतम केसी प्रहरी हिरासतमै अनसन बसेका छन् ।
अनसनरत केसीको जिवन रक्षा गर्न र उनिसँगै पक्राऊ परेका शाही युवा शक्ति नेपाल रुपन्देहीका अध्यक्ष महेन्द्र बिश्वकर्मालाई तत्काल रिहा गर्न उनका परिवारजन र शाही युवा शक्ति नेपालले माग गरेको छ ।

पक्राउ परेका शाही केही नखाई अनसनमा बसेकोले स्वास्थ्य अवस्था नाजुक हुन सक्ने भन्दै उनकी श्रीमति शक्ति क्षेत्रीले आग्रह गरीन ।
उनिहरुका आफन्तहरुले आज अपरान्ह बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी बिना कारण पक्राउ गरीएका शाही युवा शक्ति नेपालका क्षेत्रीय अध्यक्ष र जिल्ला अध्यक्षलाई तत्काल रिहा गरी जिवन रक्षाको माग गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै पृतमकी श्रीमति शक्ति क्षेत्री र शाही युवा शक्ति नेपाल रुपन्देही उपाध्यक्ष सुनिता गहतराजले मुलुक अहिले हत्या हिंसा र आतंकले आक्रान्त बनेको बताउदै त्यस्ता जघण्य अपराधमा संलग्नहरुलाई कार्बाही नगर्ने तर पुरानो राष्ट्रिय गान बजाएको आरोपमा पक्राउ गरेर थुन्ने यो कस्तो लोकतन्त्र हो भनि प्रश्न गरे ।


कार्यक्रममा बोल्दै नागरीक समाजका अभियन्ता बजिर थापाले आफुलाई मन परेको राष्ट्रिय गान बजाउन नपाइने कस्तो गणतन्त्र हो भनि प्रश्न गर्दै संबिधान र कानूनले प्रतिबन्ध नलगाएको गित बजाउदा अभद्र व्यवहारमा मुद्धा चलाउनु जायज नभएको बताए ।
टेलिभिजनको कार्यालय तोडफोड गर्नेलाई पक्राउ नगर्ने सरकारले पुरानो राष्ट्रिय गान बजाएको आरोपमा मुद्धा चलाएर संबिधानले दिएको वाक स्वतन्त्रतामाथि कुठाराघात गरेको आरोप लगाए ।
शाही युवा शक्ति नेपाल नवलपरासीका अध्यक्ष मिलन श्रेष्ठले पुर्व राष्ट्रिय गानमाथि सरकारले प्रतिबन्ध नलगाएकोले सो गित बजाएको अभियोगमा अभद्र व्यवहार गरेको कसुरमा मुद्धा चलाउन नमिल्ने बताउदै उनले पक्राउ परेका दुवै जनालाई तत्काल रिहा गर्न माग गरे ।
पुर्व राष्ट्रिय गान बजाएकै आधारमा उनिहरुमाथि लगाइएको अभद्र व्यवहार मुद्धा खारेज गरी २४ घण्टा भित्र रिहा नगरे शाही युवा शक्ति नेपालले देशव्यापी आन्दोलन गर्ने चेतावनि समेत दिए ।
गत बैशाख २८ गते बुटवल ट्राफिक चोकमा आयोजित शाही युवा शक्ति नेपाल रुपन्देहीको जिल्ला भेलाको सुरुमा तत्कालीन राष्ट्रियगान श्रीमान गम्भिर नेपाली… बोलको गित बजाएको आरोपमा प्रहरीले बैशाख २९ गते बेलुका उनिहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा बोलाई हिरासतमा लिएको थियो ।
प्रहरीले गैर कानूनी रुपमा हिरासतमा लिएको भन्दै उनिहरुको तर्फबाट सर्बोच्च अदालतमा हिजो बन्दि प्रत्यक्षीकरणको रिट दायर भएको र रिट उपर प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले अभियुक्तहरुलाई सर्बाेच्चमा उपस्थित गराउन आदेश दिएको उनका आफन्तहरुले जानकारी दिएका छन् ।
शाही युवा शक्ति नेपालको सो कार्यक्रमको समाचार पहिलो पटक बुटवल अनलाइनमा समाचार प्रकाशीत भएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार