व्यावसायिक कृषि खेतीमा अग्रसर हुँदै बाँकेको खजुरा गाउँपालिका - Butwal Online

नेपालगञ्ज, ३ जेठ । खजुरा गाउँपालिकाका किसान अहिले पराम्परागत खेती छाडेर व्यावसायिक बन्न थालेका छन् । व्यावसायिक खेतीका लागि गाउँपालिकाले खेतीको पकेट क्षेत्र छट्याउनाका साथै यस वर्षका लागि रु ४० लाख छुट्याएको अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

गाउँपालिकाले स्थानीय तहमा आएको बजेटको निश्चित रकम विषयगत सेवाअन्तर्गत कृषिमा छुट्याएर खर्च गर्ने गरेको कृषि शाखाका प्रमुख सुरेन्द्र ठाकुरले जानकारी दिए । गाउँपालिकाको वडा नं २ र ३ का कृषकले व्यावसायिकरुपमा खेती गर्दै आए पनि पर्याप्त सहयोग पाउन नसकेको खजुरा तरकारी हाट बजारका अध्यक्ष कमला न्यौपानेको गुनासो थियो ।

झण्डै ५१ हजार जनसङ्ख्या रहेको खजुरा गाउँपालिकामा करीब ७० प्रतिशत बासिन्दा कृषि पेशामा आबद्ध भएकामा करीब ३० प्रतिशत किसानले व्यावसायिकरूपले खेती गर्दै आएका छन् । किसानले टमाटर, काउली, बन्दाकोभीलगायत हरियो तरकारी उत्पादन गर्दै आएका छन् । यहाँका किसानले व्यावसायिक रुपमा तीन कट्ठादेखि १५ बिघासम्म तरकारी खेती गर्दै आएको खजुरा–२ सीतापुरका किसान मोहनप्रसाद रिजालले बताए ।

गाउँपालिकाको लगानी, कृषकको उत्साह र बजारको मागका आधारमा खजुरालाई व्यावसायिक खेतीका लागि पकेट क्षेत्रका रुपमा विस्तार गर्ने प्रयासलाई भने सबैले प्रशंसा गरेका छन् ।

रासस

बुटवल अनलाइन रासस को ग्राहक हो

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार