गाउँमा सरुवा रोगको प्रकोप ः चिकित्सक र औषधि अभाव - Butwal Online

बाँके, ६ जेठ

बाँकेका अति दुर्गम मानिएका केही गाउँमा अहिले झाडापखाला र कमलपित्त (जण्डिस) लगायत सरुवा रोगको प्रकोप फैलिएको छ । खयरभट्टी, चुनभट्टी, महेशपुरलगायत केही गाउँमा अहिले झाडापखाला र कमलपित्त रोगको प्रकोप देखिएको हो । केही सातादेखि विभिन्न रोगको प्रकोप फैलिएपछि यहाँका आधा दर्जन गाउँका मानिस प्रभावित भएका छन् ।

झाडापखाला, कमलपित्तलगायत रोग लागेका बिरामीको सङ्ख्या धेरै भएको स्थानीयवासीले बताए । महेशपुरकी मिना बुढाले गाउँमा फैलिएका विभिन्न रोगका कारण स्थानीयवासी आक्रान्त बनेको बताईन । “गाउँमा रहेको एउटा स्वास्थ्य चौकीमा पनि स्वास्थ्यकर्मी नआएको महिनाँै भइसक्यो”, उनले भनिन्, “स्वास्थ्य चौकीमा सिटामोल दिनका लागि कार्यालय सहयोगीसमेत छैनन् ।” उहाँका १० वर्षका छोरालाई पनि कमलपित्तले भेटाइसकेको छ ।
“छोरालाई कमलपित्त रोग लागेको एक महीना भइसक्यो, भारतका अस्पताल र नेपालगञ्जसम्म पु¥याउँदा पनि ठीक भएको छैन”, स्थानीय बुढाले भनिन्, “अब त छोराको उपचार गर्ने पैसा पनि छैन ।” यहाँका प्रायः सबै घरमा कुनै न कुनै रोग लागेका व्यक्ति रहेको स्थानीय बासिन्दा बताउँछन् ।

बुढाका अनुसार कमलपित्त रोगबाट थलिएकी ३० वर्षीया कविता रोकाको अवस्था गम्भीर छ । भारतीय सीमा नजिकका अस्पतालमा उपचार गराएकी उहाँको अवस्था ठीक हुनुको साटो झन बिग्रँदै जान थालेको छ । स्थानीयका अनुसार कमजोर आर्थिक अवस्थाका कारण कविताको थप उपचार गर्ने अवस्था छैन ।

राज्यको नजरमा पर्न नसकेका यहाँका आधा दर्जनभन्दा बढी गाउँका मानिस आफ्नो गाउँ आउनका लागि भारतीय बाटो प्रयोग गर्न बाध्य छन् । दैनिक उपभोग्य सामग्रीदेखि स्वास्थ्य उपचारसम्म भारतमा नै निर्भर रहनुपरेको स्थानीय अम्मर घर्तीले बताउनुभयो । उनले झाडापखाला, कमलपित्त, शरीर चिलाउने लगायतका रोग एकैपटक देखापरेको बताईन ।

“गाउँमा अनेका खालका रोग एकैपटक देखिएका छन्”, घर्तीले बताईन , “गाउँमा नाम मात्रैको स्वास्थ्य चौकी छ, कर्मचारी कहिल्यै बस्दैनन् ।” आर्थिक अवस्थाका कारण रोग लागे पनि उपचार गर्न भारतीय बजार जान नसकेको उनले बताईन । राप्तीसोनारी गाउँपालिका–४ मा पर्ने यी गाउँमा सरकारी विद्यालयबाहेक अन्य कुनै सरकारी निकायको उपस्थिति छैन ।

एउटा स्वास्थ्य चौकी रहे पनि त्यहाँ दरबन्दीमा रहेका स्वास्थ्यकर्मी महीनौँ आउँदैनन् । सडक सञ्चारलगायतका सुविधा नपुगेको यो गाउँमा पुग्न भारतीय गाउँसम्म सवारी साधनमा र त्यसपछि दुई घण्टा पैदल हिँडेर मात्र पुग्न सकिन्छ । बिरामीलाई अस्पतालसम्म पु¥याउनसमेत सास्ती छ । शुक्रबार गाउँमा पुगेकी सोही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’लाई स्थानीयवासीले स्वास्थ्यकर्मी र औषधि पठाइदिन आग्रह गर्नुभयो । उनीहरुले सरकारको नजरमा आफूहरु पुग्न नसकेको भन्दै सांसद केसीसमक्ष समस्या समाधान गर्न आग्रह गरिन ।

प्रदेशसभा सदस्य केसीले अति दुर्गम गाउँमा विभिन्न रोग देखापरेको बताउँदै त्यसको नियन्त्रणका लागि आवश्यक पहल गरिएको जानकारी बताईन। केही दिनमा नै स्वास्थ्यकर्मी र औषधिसहित आफू त्यस गाउँमा जाने सांसद नमूनाको भनाइ छ ।

“गाडी पनि नजाने र भारतीय क्षेत्र हँुदै त्यहाँ पुग्नुपर्ने भएकाले अलिकति समस्या देखिएको छ”, उनले भनिन्, “ती गाउँमा विभिन्न रोगबाट स्थानीयवासी आक्रान्त हुनुभएको छ । स्वास्थ्य उपचारका लागि विशेषज्ञ डाक्टरसहितको टोली लैजान छलफल चलाइराखेको छु । केही दिनमा नै स्वास्थ्यकर्मी र औषधिसहित हामीहरु त्यहाँ जान्छौँ ।”

रासस

बुटवल अनलाइन रासस को ग्राहक हो

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार