Trending
  • सेनाले गर्यो तानसेन बजारको बृहत सरसफाई - Butwal Online
    सेनाले गर्यो तानसेन बजारको बृहत सरसफाई

    जेष्ठ, ६पाल्पा 
    पाल्पा स्थित नेपाली सेनाको गोरखदल गणले सदरमुकाम तानसेन बजारको बृहत सरसफाई गरेको छ । पछिल्लो समय तानसेन बजार कुरुप र बेरुप भन्दै भएको जनगुनासोलाई मध्यनगर गरी सरसफाई कार्यक्रम गरिएको श्री गोरखदल गणले जनाएको छ ।

    जिल्लमा पर्यटकको आकर्षणमा कमी आएको सरोकारवालको तिव्र गुनासो पछि गणले बृहत तानसेनको सरसफाई गरेको हो । श्री गोरखदल गणको आयोजनामा भएको सरसफाई कार्यक्रममा जनप्रतिनिधि, सुरक्षकर्र्मी, विद्यार्थी र स्थानीयहरुको सक्रिय सहभागीता रहेको थियो । सरसफाई कार्यक्रममा तानसेन नगरपालिकाको सरसफाई शाखा,न्यू होराईजन मावि,बेथलबोडिङ्ग स्कुल,भसलडाँडा मावि, पाल्पा आवशिय माविका विद्यार्थीहरु पनि सरसफाईमा सहभागी भएका थिए ।
    तानसेनको सित्तलपाटीबाट सुरु भएको सरसफाई कार्यक्रममा सेनाका मात्रै २ सय बढी सकलदर्जाको सहभागीता रहेको थियो । गणले १४० औं वार्षिक उत्सवको अवसरमा सुन्दर नगरी तानसेनलाई अझै धेरै सुन्दर बनाउन कार्यक्रमको आयोजना गरेको गणका गणपति सुरज थापाले बताउनुभयो ।



    सेना गोली गठ्ठा र हतियारमा मात्र सिमित नभएर आवश्यक परेको खण्डमा सामाजिक हित र परोपकारी काममा सक्रिय भुमिका निर्वाह गर्न सक्छ भन्ने मनोभावनाको विकास गर्न यस्ता खाले कार्यक्रमलाई निरन्तरता दिएको गणपति थापाले बताउनुभयो ।

    गणले आयोजना गरेको सरसफाई कार्यक्रममा तानसेन नगरपालिका मेयर अशोककुमार शाही, उपमेयर लक्ष्मीदेवि पाठक, कार्यपालिका सदस्य दिपक विश्वकर्मा ,गणका गणपति सुरज थापा ,सेनानी मनोज डंगोल ,प्रहरी उपरिक्षक विश्वमणी पोखरेल, सशस्त्र प्रहरी गुल्मका प्रमुख ईश्वरी खनाल, सरसफाई शाखा प्रमुख शंकर भण्डारी लगायतले तानसेनको शित्तलपाटीमा सामुहीक सरसफाईमा सरिक भई कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

    सरसफाई कार्यक्रम तानसेनको पर्यटकीय क्षेत्र पाल्पा दरवार परिसर, शित्तलपाटी, बसन्तपुर, नारायणस्थान, भुसालडाँडा, बसपार्क, बतासेडाँडा बर्तुङ्ग लगायतका क्षेत्रमा सरसफाई गरीएको गणका सेनानी मनोज डंगोलले बताउनुभयो । गणले जनतासंग प्रत्यक्ष जोडिने गरी, विभिन्न गाउँपालिकाहरुमा स्वास्थ्य शिविर, बालबालिकाहरुको लागि आत्मरक्षा तालिम, विभिन्न विपद व्यवस्थापन, जनचेतनाको साथै जनताको मागको आधारमा सेवामूलक काम गर्दै आएको छ । गणले सर्वसाधारण जनताको लागि दरवार र टुँडिखेलमा शुद्ध खानेपानीको व्यवस्था समेत गरेको छ ।

     

    सुनिल कार्की

    सुनिल कार्की बुटवल अनलाइनका पाल्पा सम्बादाता हुन्

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार