Trending
  • बुटवल मण्डपमा अन्तराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र शिलान्यास (फोटो फिचर) - Butwal Online

    बुटवल, १३ जेठ । बुटवलमा निर्माण हुन गईरहेको अन्तराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको सोमबार शिलान्यास गरिएको छ । एक अर्ब दुई करोडको लागतमा बुटवल १० रामनगर स्थित बुटवल मण्डपमा निर्माण हुने बुटवल प्रदर्शनी केन्द्रको नेकपाका महासचिव एवं पुर्व अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेका हुन् ।



    प्रदर्शनी केन्द्रको शिलान्यास गर्दै पौडेलले सम्झौता गरिएको २७ महिनाको अवधीमा निर्माण पुरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । उनले बुटवल मण्डपमा निर्माणाधिन अन्तराष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्रको लागि बजेटको कुनैपनि कमि हुन नदिने उल्लेख गर्दै तोकिएको समयमा निर्माण गर्न निर्देशन दिएका हुन् । ‘रुपन्देहीमा निर्माणाधिन र निर्माण हुने कुनैपनि विकास आयोजनामा बजेटको कुनै कमि हुने छैन तर निर्माण कार्यभने समयमा पुरा गर्नुपर्ने छ, २७ महिनामा एकदिन पनि नथपिओस ।’ उनले भने ।

    रामनगरस्थित बुटवल मण्डपको पश्चिमतर्फको ६ दशमलव ४ बिघा क्षेत्रफलमा प्रदर्शनी केन्द्र निर्माण हुंदै छ । शहरी विकास मन्त्रालयमार्फत निर्माण हुने यो प्रदर्शनी केन्द्र सरकारी स्तरको नेपालको सबैभन्दा ठूलो प्रदर्शनी केन्द्र बन्ने पौडेलले दावी गरे ।
    उनले यसक्षेत्रको जनप्रतिनिधीको हैसियतले प्रदर्शनी केन्द्रको लागि आवश्यक जग्गा व्यवस्थापन, डिजाईन तथा बजेट विनियोजनमा समेत आफुले नेतृत्व लिने अवसर प्राप्त गरेको भन्दै आफैले शिलान्यास गर्न पाउंदा गर्व महशुस गरेको बताए ।

    वर्षौदेखि बसपार्क, सडक डिभिजन परिसर लगायतका क्षेत्रमा औद्योगिक प्रदर्शनी केन्द्र तथा व्यापार मेला आयोजना गर्दै आएका यहांका उद्योगी व्यवसायीले २०६५ सालमा पुष्पकमल दाहाल प्रधानमन्त्री र विष्णु पौडेल जलश्रोत मन्त्री रहेको बखत सरकराले प्रदर्शनी केन्द्र निर्माणको लागि बुटवल मण्डपको १६ विगाह जग्गा दिने निर्णय गरेको थियो । सोहि अनुरुप बुटवल मण्डपको पुर्वतर्फको ९ दशमलव ६ विगाह क्षेत्रमा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण भईरहेको छ ।

    प्रदर्शनी केन्द्र पनि बुटवल सम्मेलन केन्द्र तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइमार्फत निर्माण हुने छ । जसको लागि ‘ग्लोबल टेण्डर’ मार्फत क्यापासिट इन्फ्रा प्रोजेक्ट्स(गौरी पार्वती जेभी कम्पनीले ठेक्का लिइसकेको आयोजना प्रमुख शिखर लामाले जानकारी दिए ।
    शहरी विकास मन्त्रालयका महानिर्देशक मनिराम गेलालका अनुसार प्रदर्शनी केन्द्रमा एउटा ठूलो प्रदर्शनी हल, दुईवटा बैठक हल, प्रशासनिक भवन र खाजा घर हुने छन् ।

    १२ हजार स्क्वायर मिटरमा निर्माण हुने ठूलो प्रदर्शनी हलमा चार स्क्वायर मिटरका साढे तिनसय स्टल सहभागि हुन सक्ने छन् । बैठक हल भने एउटा साढे तिनसय स्क्वायर मिटर र अर्को साढे दुईसय मिटर स्क्वायर मिटरको हुने छ । प्रदर्शनी केन्द्रमा सबै हलमा गरी ८ सय ३८ स्टल सहभागि हुन सक्ने छन् । बाहिरबाट हेर्दा तीनवटा भवन देखिने गरी डिजाइन गरिएको प्रदर्शनी केन्द्रलाई आवश्यकता अनुसार अलग÷अलग गर्न मिल्ने गरी डिजाईन गरिएको गेलालले जानकारी दिए । प्रदर्शनी केन्द्रमा एक पटकमा १० हजार जनाले अवलोकन गर्न सक्ने छन् । त्यस्तै २० हजार अटाउन सक्ने हल, दुई हजार जनाले एकैपटक खाजा खाना सक्ने गरी फुड कोर्ट निर्माण हुने छ ।

    यस्तै एक लाख १० हजार वर्गफिट क्षेत्रफलमा बाल उद्यान, चार सय वटा चारपांग्रे र चार सय वटा मोटरसाइकल क्षमताको पार्किङस्थल बनाईने छ । बुटवल मण्डपमा हाल निर्माण गरिएको गणतन्त्र स्तम्भलाई पोखरी निर्माण गरी त्यसको बिचमा स्थानान्तरण गरिने परियोजनाले जनाएको छ । प्रदर्शनी केन्द्रमा बालउद्यान र खुल्ला प्रदर्शनी क्षेत्र समेत हुने छ । प्रदर्शनी केन्द्र निर्माणका लागि ५ सय २५ वटा रुख काट्नुपर्ने र त्यसको लागि वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन गराई रुख काट्ने अनुमति समेत प्राप्त भईसकेकोले निर्माण कार्य समयमै सम्पन्न हुने आयोजना प्रमुख लामाले बताए ।

    स्थायी प्रदर्शनी केन्द्रको अभावमा हरेक वर्ष औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्दै आएकोमा स्थायी प्रदर्शनी केन्द्र निर्माण पछि ठूलो राहत मिल्ने भन्दै उद्योगी व्यवसायीले खुसी व्यक्त गरेका छन् । स्थायी प्रदर्शनी केन्द्र नहुंदा प्रदर्शनी तथा मेला आयोजकहरुले अस्थायी स्टल, सचिवालय, प्रवेशद्वार लगायतका संरचना निर्माणमा वर्षेनी झण्डै एक करोड रुपैया खर्च गर्दै आएका थिए । वर्षा, जाडो तथा गर्मिका कारण हरेक महिना वस्तुगत प्रदर्शनी गर्न चाहेर पनि संचालन गर्न नसकेका व्यवसायी तथा संघसंस्थाहरुलाई पनि यसले फाईदा पुग्ने विश्वास गरिएको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार