Trending
  • एक गाग्री पानीका लागि हप्तामा पालो - Butwal Online
    एक गाग्री पानीका लागि हप्तामा पालो

    पाल्पा, १९ जेठ 

    पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको गोखुङ्गा पँधेरामा स्थानीयवासीले एक गाग्रीको पानीका लागि हप्तामा पालो कुर्नुपर्ने बाध्यता रहेको छ ।



                                                                                                 फाइल तस्विर

    सुख्खा मौसम र गर्मी बढेपछि खानेपानीका मुहान सुकेर यहाँका स्थानीय बासिन्दाले हप्तामा एक घरले एक गाग्री खानेपानी पाउने गरेको स्थानीय बासिन्दा तथा वडा सदस्य रमा नेपालीले बताईन ।

    पश्चिम पाल्पाको भुवनपोखरीको गोखुङ्गामा ६० घर दलित बस्ती छ । दलित बस्तीले उपभोग गर्ने खानेपानीको मुहान एउटा मात्र रहेको छ । वर्षात्को पानी सङ्कलनका लागि सबैका घरमा घैँटा छन् । तर, यसपालिका घैँटाका पानी माघ÷फागुनमा सकिएपछि खानेपानीको पिरलोमा स्थानीय दिनरात कटाउन बाध्य छन् ।
    यसपटक प्रशस्त वर्षात् हुन नसकेकाले आकाशेपानी सकिएपछि यहाँका दलित समुदायमा पानीका लागि मुहानको खोजीमा दिनभर खर्चिन बाध्य हुनुपरेको गुनासो उनीहरुको छ । रैनादेवी छहरा गाउँ कार्यापालिका सदस्य तथा स्थानीय बासिन्दा गोपाल परियारका अनुसार पानी समस्या बढेपछि दिनरात पानीको मुहानमा बिताउनु परेको छ ।

    हप्तामा एक गाग्री पानीले परिवारका लागि अपुग हुने भएपछि यहाँका स्थानीय बासिन्दा तीन घण्टा लगाएर एक गाग्री पानी बोकेर ल्याउन बाध्य बनेका छन् । बिहान ५ बजे पानी ल्याउनका लागि हिँडेका पधेरीहरु ८ बजेतिर घरमा पाइला टेक्छन् ।
    “पानीका मुहान रहेका क्षेत्रहरु पानी बोकेर फर्किँदा उकालो हिँड्नुपर्छ । भुवनपोखरीको कमेरे, मेहालपानी, सिमलडाँडा, खानतुङलगायतका स्थानबाट पानी ल्याउनुपर्छ”, परियारको भनाइ छ ।

    पानीका कारण बालबालिका नियमित विद्यालय जाने अवसरबाट बञ्चित हुनुपरेको स्थानीय बासिन्दाको गुनासो रहेको छ । डाँडामा बस्ती रहेकाले पानीको समस्या वर्षौदेखि रहे पनि यहाँको खानेपानीको समाधानमा कसैको चासो नपुग्दा समस्या हटेको छैन ।
    यो बस्तीलाई लक्षित गरी आरखोला, रैनादेवी, दलित बस्ती खानेपानी आयोजनाको काम सञ्चालनमा आएको छ । आयोजनाको काम निकै सुस्तगतिमा हुँदा उपभोक्ताले खानेपानीका लागि हैरानी भोग्न बाध्य छन् ।

    रासस

    बुटवल अनलाइन रासस को ग्राहक हो

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार