योगीकोटी–धकधई प्रसारण लाइन संचालनमा, भैरहवा क्षेत्रको विद्युत् आपुर्ति सहज हुने - Butwal Online

बुटवल, २७ जेठ । रुपन्देहीमा निर्माण भएको करिब ३३ किलोमिटर योगीकुटी–धकधई ३३ केभी डबल सर्किट प्रसारण लाइन संचालनमा आएको छ ।

औद्योगिक क्षेत्रको रुपमा तिब्र विकास भइरहेको भैरहवाको विद्युत आपूर्तिलाई सुधार गर्न निर्माण गरिएको प्रसारण लाइन आइतबारबाट संचालनमा आएको हो । भैरहवा र त्यहाँ स्थापना भएको विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत आपूर्तिका लागि निर्माण गरिएको ३३÷११ केभीको सबस्टेसनको पनि परीक्षण सुरु भएको प्राधिकरणले जनाएको छ ।

योगीकुटी–धकधई ३३ केभी डबल सर्किट प्रसारण लाइन संचालनमा आएपछि भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार आई वितरण प्रणाली गुणस्तरीय र विश्वसनीय हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘योगीकुटी सबस्टेसनबाट ४÷५ वटा फिडरमार्फत भैरहवा क्षेत्रमा विद्युत आपूर्ति भइरहेको र ३३ केभी फिडर ओभरलोड भोल्टेज समस्याका कारण माग अनुसार विद्युत आपूर्ति गर्न नसकिएको मा योगीकुटी–धकधई प्रसारण लाइन र धकधई सबस्टेसन संचालनमा आएसँगै त्यस क्षेत्रमा रहेको लो भोल्टेज, लाइन ट्रिपिङ लगायतका समस्या समाधान हुने उनले बताए ।

३३ केभी लाइन ओभरलोडका कारणले बढेको प्राविधिक चुहावट घट्ने र अब भैरहवा क्षेत्रमा खुल्ने नयाँ उद्योगलाई विद्युत् आपूर्ति दिन सकिने प्राधिकरणले जनाएको छ । उनले भैरहवा सेज परिसर भित्र सबस्टेसन नबने पनि तत्कालका लागि धकधई सबस्टेसनबाट ११ केभी लाइनमार्फत विद्युत् दिन सकिने बताए । आफ्नो परिसरभित्र ३३÷११ केभी सबस्टेसन निर्माण गरी भैरहवा सेजले त्यहाँ खुल्ने उद्योगलाई विद्युत् दिने बताइएको छ । सेजभित्र सबस्टेसन निर्माणका लागि टेण्डरको प्रक्रियामा रहेको बताइएको छ । धकधई सबस्टेसनबाट सेजसम्मको करिब ११ किलोमिटर ३३ केभी प्रसारण लाइन पनि निर्माणाधीन छ ।

नेपाल सरकार, प्राधिकरणको लगानी र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा संचालित विद्युत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना अन्तर्गत योगीकुटी–धकधई प्रसारण लाइन र धकधइ सबस्टेसन निर्माण गरिएको हो । आयोजना अन्तर्गत नारायणी नदीको पश्चिममा वितरण लाइन र १२ वटा सबस्टेसन निर्माणका लागि २०७३को असोजमा ठेक्का सम्झौता भएको थियो । केही सबस्टेसनको निर्माण सम्पन्न भएको र केही निर्माणाधीन अवस्थामा रहेको आयोजना प्रमुख बोधराज ढकालले बताए ।

यसैबीच सुदूरपश्चिम प्रदेशको बझाङमा विद्युतको पहुँच बढाउन, गुणस्तरीय र विश्वसनिय विद्युत् आपूर्तिका लागि निर्माण गरिएको बाघथला सबस्टेसन संचालनमा आएको छ । नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा निर्माण भएको ३३÷११ केभी सबस्टेसन सोमबारबाट संचालन (चार्ज)मा ल्याइएको हो ।

त्यैगरी सुर्खेतको ग्रमिण क्षेत्रमा विद्युतीकरणका लागि निर्माण गरिएको ३३÷११ केभी बबियाचौर सबस्टेसनको निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । सबस्टेसनबाट सुर्खेतको चार गाउँपालिकामा विद्युतीकरण गर्न सकिने प्राधिकरण नेपालगंज क्षेत्रीय कार्यालय प्रमुख मनोजकुमार सिंहले जानकारी दिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार