लोकसेवा आयोगको विज्ञापन बिरोधमा राजपाद्धारा धकधईमा प्रदर्शन - Butwal Online

बुटवल,२८ जेठ 

लोकसेवा आयोगले जारी गरेको विज्ञापन फिर्ता लिन माग गर्दै राष्ट्रिय जनता पार्टी नेपालले आज धकधईमा प्रदर्शन गरेको छ ।

राजपा रुपन्देहीले आयोगले आह्वान गरेको विज्ञापन समावेशी सिद्धान्त विपरित रहेको भन्दै रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित धकधईमा प्रदर्शन गरेको हो ।

लोकसेवाको विज्ञापन मधेशी, सीमान्तकृत समुदाय विरुद्ध र असंवैधानिक भएकोले विरोध कार्यक्रम गरिएको राजपा नेपाल रुपन्देहीका अध्यक्ष मण्डलका संयोजक महेन्द्र गुप्ता (प्रशान्त)ले बताए ।

मुलुकमा जारी गरिएको संविधानमा समावेशी समानुपातिक प्रतिनिधित्वबारे उल्लेख भए पनि सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधान विरोधी गतिविधि गरेको उनको आरोप छ ।

उनले सरकार मधेशी जनताको अधिकार कटौती गर्ने खेलमा लागेको बताए ।

कार्यक्रममा राजपा रुपन्देहीका सचिव विजय चौधरी, युवा नेता पंकज दुवे, प्रेम सागर शुक्ला, अकलेश चौधरी, राष्ट्रिय विद्यार्थी संघ रुपन्देहीका अध्यक्ष चन्दन तिवारी लगायतले लोकसेवा आयोगको विज्ञापन मधेशी, जनजाति तथा सीमान्तकृत समुदाय विरोधी भएको दाबी गरे ।

कार्यक्रममा राजपाका नेता तथा पार्टी निकट विद्यार्थीहरुले लोकसेवा आयोगले जारी गरेको विज्ञापनको प्रति जलाएका थिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार