Trending
  • पाल्पा सदरमुकाम तानसेनमा खानेपानीको समस्या - Butwal Online

    पाल्पा, २८ जेठ : सुख्खा मौसमसँगै पाल्पा सदरमुकाम तानसेनमा खानेपानीको समस्या देखिन थालेको छ । तानसेन बजारभित्रका अधिकांश ढुङ्गेधारा, खानेपानीका मुहान सुकेका छन् ।



    अहिले तानसेनवासीलाई पानीको जोहो कसरी गर्ने भन्ने समस्याले पिरोलिएको छ । गर्मीयाम बढेसँगै दिन प्रतिदिन खानेपानीको समस्या विकराल बन्दै गएको छ । तानसेनमा अहिले एक हप्तादेखि पन्ध्र दिनमा एक पटक धारामा पानी आउने गरेको स्थानीवासीको गुनासो छ । बालबालिकालाई विद्यालय पठाउनभन्दा पनि खानेपानीको जोहो गर्नुपर्ने बाध्य रहेको तानसेन नगरपालिका–६ का नन्दबहादुर आलेले बताए ।

    “खडेरीयाम शुरु भएपछि पानीको समस्या बर्सेनी हुन्छ, छोराछोरीको पठनपाठनभन्दा पनि खानेपानी जोहोकै समस्याले सताउने गरेको छ” उनले भने । तानसेनमा अहिले भुल्के, सिस्ने, होलाङ्दी र तीनधाराबाट पम्पिङ गरेर खानेपानी आपूर्ति गरिँदै आएको छ । एक घण्टाको बाटो हिँडेर पानी लिन आउँदा दुई घण्टासम्म लाइनमा बस्नुपरेको तानसेनमा कोठा भाडा गरी बस्ने हेमा रानाले बताए । एक घण्टाको समय पैदल हिँडेर आए पनि धारामा पानी भर्नेको लाइनले पालो पाउनै मुस्किल पर्ने गरेको उनको भनाइ छ ।

    खानेपानी अभावले विशेषगरी तानसेनमा पढ्न बसेका विद्यार्थीहरुलाई बढी समस्या परेको छ । आफ्नो पढाइलाई समेत थाती राखेर पानीको व्यवस्था गर्नु परेको त्रिभुवन बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी बिमल पौडेलले बताए । “पढाइभन्दा पनि खानेपानीको चिन्ता बढी छ, खानेपानी सहज नहुँदा पढाइ नै प्रभावित हुन पुगेको छ”, उनले भने । लामो खडेरी तथा बिद्युत आपूर्तिमा समस्या रहेकाले खानेपानी अभाव झन् विकराल बन्दै गएको हो ।

    खानेपानी समस्याको निराकरणका लागि तानसेन खानेपानी उपभोक्ता समितिको पहलमा नेपाल सरकारको रु ४० करोडको लगानीमा कालीगण्डकी खानेपानी योजनाको काम अगाडि बढेको बताइएको छ । योजनाको काम तीव्र गतिमा अगाडि बढिरहेका कारण यहि असार, साउनसम्म तानसेनवासीले कालीगण्डकीको पानी उपभोग गर्न पाउने खानेपानी उपभोक्ता समितिका अध्यक्ष चकोरमान शाक्य बताए ।

    कालीगण्डकी खानेपानी योजनाको काम करीब ८० प्रतिशत सम्पन्न भइसकेकाले अब छिट्टै तानसेनवासीको प्यास कालीगण्डकीले मेटाउनेमा भने स्थानीयवासी ढुक्क देखिन्छन् । तानसेनमा दैनिक करीब बीस लाख लिटर पानीको माग भइरहेकामा अहिले करीब साढे सात लाख लिटर पानी मात्र आपूर्ति हुँदै आएको छ ।

    रासस

    बुटवल अनलाइन रासस को ग्राहक हो

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार