Trending
  • खेलकुद विकास समिति र जिससद्धारा मालिका माविको खेलमैदान अनुगमन - Butwal Online

    हुमाकान्त पोखरेल

    गुल्मी, २९ जेठ 



    मालिका गाउँपालिका ८ मर्भुङमा बन्दै गरेको मालिका माध्यमिक विद्यालयको खेलमैदानको अनुगमन गरिएको छ । जिल्ला खेलकुद विकास समिति तथा जिल्ला समन्वय समितिको समुहले सो खेलमैदान अनुगमन गरेको हो ।

    काम इस्टिमेटअनुसार भए÷नभएको, प्रयोग गरिएका सामाग्रीहरु गुणस्तरयुक्त प्रयोग गरे÷नगरेको लगायतका बिषयमा अनुगमन गरिएको जिल्ला खेलकुद विकास समतिका कार्यालय प्रमुख डिल्लि विश्वकर्माले जानकारी दिए ।

    स्थानीय उपभोक्ताबाटै काम पादरर्शी तथा उचित तरिकाबाट नभएको गुनासो आएपछि खेलकुद विकास समिति र जिल्ला समन्वय समितिले अनुगमनले गरेको हो ।

    उपभोक्ता समितिमार्फत गरिएको काममा होर्डिङ बोर्ड नराखिएको तथा ढल निकासको पनि व्यवस्था नगरिएको पाइएको छ । अनुगमनका क्रममा अनुगमन समितिले काम समयमै सक्नुपर्ने, मैदान समतल बनाउनुपर्ने, छिटोभन्दा छिटो आर्थिक हिसाबकिताब सार्वजनिक गर्नुपर्ने निर्देशन दिएको छ । त्यस्तै उपभोक्ता समितिको नियमिति बैठक बस्ने, होर्डिङ बोर्ड राख्ने र उचित ढल निकासको व्यवस्था गर्न समितिलाई निर्देशन दिइएको जिल्ला समन्वय समिति सभापति लक्ष्मण पराजुलीले जानकारी दिए ।


    २०७५ फागुनबाट निर्माण सुरु भएको मालिका माविको खेल मैदान असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ । कुल २० लाखमा बन्दै गरेको उक्त खेलमैदानमा पेस्किस्वरुप समितिले पाचँ लाख लिएको उपभोक्ता समिति सचिव एवम् विद्यालयका प्रध्यानाध्यापक बासुदेव अर्यालले जानकारी दिए ।

    खेलमैदान सम्पन्न भएसँगै विद्यालयका विद्यार्थीहरुका साथसाथै गाउँपालिका स्तरका खेलकुद कार्यक्रम तथा धुर्कोट, मदाने लगायतका विद्यार्थीहरु समेत लाभाम्बित हुने अर्यालले जानकारी दिए । विद्यार्थीहरुको खेलकुदप्रतिको प्रतिभालाई प्रस्फुटन गर्दै दक्ष खेलाडी उत्पादन गर्ने उदेश्यले खेलमैदान निर्माण गर्न लागिएको विद्यालयले जनाएको छ ।

    यो बर्ष ४ खेलमैदान निर्माण हुँदै

    जिल्लामा खेल क्षेत्रको प्रशस्त सम्भावना छ । यसै सम्भावनालाई मध्यनजर गर्दै जिल्लामै सक्षम खेलाडी उत्पादन गर्न जिल्ला खेलकुद विकास समितिले यो बर्ष जिल्लाका चार स्थानमा ९७ लाखको लागतमा खेलकुद स्थान बनाउदैँछ । समिति अध्यक्ष कृष्ण भण्डारीका अनुसार रुरु गाउँपालिकामा २० लाखको लागतमा ‘रुरु कभर्ड हल’ निर्माण हुँदैछ । त्यस्तै रुरु गाउँपालिका १ रिडीमा सात लाखको लागतमा मौलिपोखरा क्रिकेट खेलमैदान, मालिका गाउँपालिका ८ स्थित मालिका माविमा २० लाखको लागतमा खेलमैदान तथा तम्घासमा ५० लाखको लागतमा ‘जिल्ला खेलकुद विकास समिति कभर्ड हल’ बन्न लागेको अध्यक्ष भण्डारीले जानकारी दिए । बुधबार गरिएको अनुगमनमा जिल्ला समन्वय समिति सदस्य राममल्ल ठकुरी, कार्यक्रम अधिकृत चोलराज शर्मा, राजधानी दैनिकका संवाददाता हुमाकान्त पोखरेल, गुल्मी टेलिभिजनका डि.बि. खड्का तथा गुल्मी टेलिभिजनका सुर्य सुनार लगायतको पनि सहभागिता रहेको थियो ।

    हुमाकान्त पोखरेल

    हुमाकान्त पोखरेल बुटवल अनलाइनका गुल्मी सम्बादाता हुन्

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार