Trending
  • भारतमा ‘वायु’ चक्रवात, नेपालमा पनि प्रभाव पर्न सक्ने सम्भावना - Butwal Online

    बुटवल,३० जेठ । भारतको गुजरात राज्यमा चक्रवात ‘वायु’ को प्रभाव देखिन थालेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । गुजरातको पोरबन्दर र जामनगरमा वर्षा र तीव्र गतिको हावाहुरी चलेको समाचारमा जनाइएको छ ।

    वायुको सम्भावित असरबाट बच्न सतर्कता अपनाइएको बीबीसीले उल्लेख गरेको छ । भारतीय मौसम विभागले यो चक्रवातलाई गम्भीर श्रेणीको भएको बताएको छ । वायु नामक चक्रवात १६० किमी प्रतिघण्टाको दरले आउने पूर्वानुमान गरिएको छ ।



    भारतका गृहमन्त्री अमित शाहले ट्विट गर्दै चक्रवातबाट जोगाउन गुजरातबाट ३ लाख र दीवबाट १० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिएका छन् । यो चक्रवात अरब सागरबाट उठेर आउने भारतको मौसम विभागले जनाएको छ ।

    भारतको गुजरात आसपासमा भित्रिएको चक्रवातले नेपालमा पनि असर गर्नसक्न जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    पश्चिममा पश्चिमी वायु र भारतमा आउन लागेको चक्रवातको आशिंक प्रभाव पर्ने महाशाखाकी मौसमिवद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘यो चक्रवात तथा पश्चिम बंगाल र बंगलादेश आसपासमा बनेको न्यूनचापीय क्षेत्रको असरले बिहीबार मध्यान्हपछि मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको छ ।’

    ‘‘वायु’ चक्रवातको असर आंशिक रुपमा पर्ने सम्भावना देखिएको छ ।’ मौसमविद् नगरकोटीले भन्नुभयो ‘वायु चक्रवात नै नेपालमा भित्रिन्छ भन्ने होइन तर यसको असरले शुक्रबार दिउँसो पानी पर्न सक्छ ।’ पश्चिम बंगाल र बंगलादेश आसपासमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव पनि देखिएको छ । मौसमविद् नगरकोटीले भन्नुभयो, ‘शुक्रबार तराइमा हावाहुरी र पश्चिमी उच्च हिमाली भेगमा हिमपात पनि हुने संभावना पनि रहेको छ ।’

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार