फ्राइडे रिलिज ः ‘प्रेमदिवस’ र ‘झट्का’ आजदेखि प्रदर्शनमा - Butwal Online

बुटवल, ३१जेठ । फ्राइडे रिलिज अन्तर्गत शुत्रवारदेखि २ वटा चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र प्रेम दिवस र झड्का आजदेखि प्रदर्शनमा आएका हुन् । प्रचार–प्रसारका हिसाबले भने दुवै चलचित्र कमजोर देखिएका छन् ।

सुरुमा चलचित्र ‘प्रेम दिवस’को नाम ‘राधा २’राखिएको थियो । चलचित्र राधाकै सिक्वेलका रुपमा ‘राधा २’ नाम राखेर निर्माण गर्ने बताइएको थियो तर अन्तिम समयमा चलचित्रको नाम परिवर्तन गरेर ‘प्रेम दिवस’ राखिएको थियो । चलचित्र ‘प्रेम दिवस’लाई निर्देशक योगेश घिमिरेले निर्देशन गरेका हुन् ।

चलचित्र ‘प्रेम दिवस’मा रियल जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीले रोमान्स गरेका छन् । प्रेम कथामा अधारित रहेर निर्माण गरिएको चलचित्रमा वसन्त सापकोटा, दीपक शर्मा र महाराजा थापाको संगीत रहेको छ । चलचित्रमा हरि लामाको छायांकन रहेको छ ।
आजैदेखि प्रदर्शनमा आएको चलचित्र ‘झट्का’ रमेश विशुन्खेले निर्देशन गरेका हुन् । चलचित्रमा काठमाण्डौको रात्रीकालीन जीवनको कथा हाँस्य शैलीमा प्रस्तुत गरिएको छ । चलचित्र झट्कामा हाँस्य कलाकार सुरवीर पण्डितको मुख्य भुमिका रहेको छ ।

उता जेठ ३ गतेबाट प्रदर्शनमा आएको चलचित्र जात्रै जात्रा आजदेखि पाँचौ हप्तामा प्रवेश गरेको छ । चलचित्रले काठमाण्डौका विभिन्न मल्टिप्लेक्स हलहरुमा ३ देखि ७ शो पाइरहेको छ । उपत्यका तथा उपत्यका बाहिरका विभिन्न हलहरुमा पनि चलचित्र प्रदर्शन भइरहेको छ ।

बिहीबार सम्मको रेकर्ड हेर्ने हो भने नेपालबाट मात्र चलचित्रले करिब ९ करोड रुपैयाँ माथिको व्यापार गर्न सफल भएको चलचित्रका निर्देशक प्रदीप भट्टराईले जानकारी दिए । अष्ट्रेलिया, अमेरिका, जापान, हङकङलगायत अन्य विभिन्न देशहरुमा चलचित्रले उच्च व्यापार गरिरहेको जनाइएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार