बजेटप्रति सत्ता पक्षद्धारा बचाऊ, प्रतिपक्षीद्धारा निरासामुखी र निर्वाहमुखीको संज्ञा - Butwal Online
बजेटप्रति सत्ता पक्षद्धारा बचाऊ, प्रतिपक्षीद्धारा निरासामुखी र निर्वाहमुखीको संज्ञा
  • प्रदेश ५ सरकारदद्धारा ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट सार्वजनिक
  • बुटवल, १ असार । प्रदेश नं. ५ सरकारले ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट ल्याएको छ । आज दिउसो बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत सम्मालेका मुख्यमन्त्री शंकर पोखरेलले ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाको बजेट ल्याएका हुन ।



    कुल बजेट मध्ये चालु तर्फ १३ अर्ब ४५ करोड ५ लाख अथार्त ३६.९४ प्रतिशत र पँुजिगत तर्फ १८ अर्ब ५७ करोड ६४ लाख अथार्त ५१.०१ प्रतिशत बजेट विनियोजन गरिएको छ । वित्तिय हस्तान्तरण अन्तर्गत स्थानिय तहलाई उपलब्ध गराईने सशर्त अनुदान तर्फ १ अर्ब ३८ करोड ९८ लाख, वित्तिय समानिकरण अनुदान तर्फ ५० करोड र विशेष अनुदान तर्फ १ अर्ब गरी कुल ४ अर्ब ३८ करोड ९८ लाख बजेट विनियोजन गरेका छन् ।

    खर्च व्यवस्थापनका लागि आन्तारिक राजश्वबाट ४ अर्ब ५९ करोड ४० लाख, राजश्व बाँडफँटबाट ९ अर्ब ९१ करोड २३ लाख, रोयल्टी बाँडफाँट बाट ३० करोड, वित्तिय समानिकरण अनुदानबाट ७ अर्ब ५४ करोड १ लाख, सशर्त अनुदानबाट ७ अर्ब ७७ करोड ४ लाख, चालु आर्थिक बर्षको बचत रकमबाट ५ अर्ब, समपुरक अनुदानबाट ८० करोड र विशेष अनुदानबाट ५० करोड प्राप्त हुनेछ ।

    बजेटबारे दलहरुको प्रतिक्रिया

    प्रदेश सरकार आज सार्वजनिक गरेको बजेट प्रति मिश्रित प्रतिक्रिया आएको छ । सत्ता पक्षीय प्रदेशसभा सदस्यहरुले बजेट समग्रमा राम्रो रहेको प्रतिक्रिया दिएका छन् भने प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले बजेटलाई निरासामुखी र निर्वाहमूखी बजेटको संज्ञा दिएका छन् ।

    बजेटलाई प्रदेशसभा सार्वजनिक लेखा समितिका सभापति समेत रहेका नेपाली कांग्रेस प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले बजेटलाई निरासामुखी र निर्वाहमुखी बजेटको संज्ञा दिए । कांग्रेसकै अर्का प्रदेशसभा सदस्य बिरबहादुर रानाले बजेटले जनतामा उत्साह ल्याउने खालको नभएको प्रतिक्रिया दिए ।

    उनले बजेट कार्यान्वयन हुनेमा समेत आसंका व्यक्त गरे । सत्ता पक्षीय नेकपाका प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेलले बजेट समग्रमा राम्रो रहेको प्रतिक्रिया दिदै केही कुरा छुटेको बताए ।

    भूमिहीन सुकुम्बासी आयोग गठन गरेर अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने कुरा बजेटमा छुटेको उनको भनाई थियो । नेकपाकै अर्का प्रदेशसभा सदस्य तुल्सी प्रसाद चौधरीले बजेट समग्रमा राम्रो र सन्तुलीत रहेको भन्दै बजेट पूर्ण रुपमा कार्यान्वयन भए प्रदेश समृद्ध बन्ने बिश्वास व्यक्त गरे ।

    समाजवादी पार्टीका प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले बजेट जनपक्षीय नभएको प्रतिक्रिया दिए । सबै दलहरुसँग छलफल नगरेर एक पक्षीय रुपमा बजेट ल्याइएकोले बजेट जनपक्षीय नभएको उनको आरोप छ । राजपा संसदीय दलका नेता कल्पना पाण्डेले बजेट निर्वाहमूखी रहेको प्रतिक्रिया दिईन ।

    प्रदेशसभाको आजै बसेको अर्को बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पेश गरे । प्रदेश सभाको अर्को बैठक यहि असार ५ गते दिउसो १ बजे बस्नेगरी स्थगित भएको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार