बजेटप्रति प्रतिपक्षी दलको टिप्पणि, प्रतिपक्षको धर्म : मुख्यमन्त्री पोखरेल - Butwal Online

बुटवल, २ असार । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले बजेटको बिषयमा प्रमुख प्रतिपक्षी दलबाट आएका टिका टिप्पणिलाई प्रतिपक्षी दलको धर्म निर्वाहको संज्ञा दिएका छन् ।

उनले प्रमुख प्रतिपक्षी दलले भने जस्तो बजेट बितरणमुखी र कार्यान्वयन हुन नसक्ने खालको नभएको दाबी गरे । प्रदेशको प्रदेश मामिला तथा योजना मन्त्रालयद्धारा बजेटको बिषयमा आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले निर्धारण गरेको लक्ष भेट्टाउन नसक्ने खालको नभएर लक्षलाई उछिन्ने गरि लक्ष निर्धारण गरिएकोले लक्षलाई उछिन्ने गरि काम गर्ने बिश्वास व्यक्त गरे ।

बजेट प्रदेशको आवधिक योजनामा आधारित र क्रमागत योजनालाई पुरा गर्ने गरी ल्याइएको भन्दै मुख्यमन्त्री पोखरेलले मध्यावधी खर्च समिक्षाका साथ ल्याइएकोले यो गत बर्षको तुलनामा नयाँ अभ्यास भएको बताए । अनुदान लक्षीत समुदाय सम्म पु¥याउन उत्पादनमा आधारीत अनुदानको नयाँ नीति लिइएको बताउदै उनले कृषि फर्महरुलाई अनुदान नभएर कृषि मजदुर उपलब्ध गराउने योजना अगाडि सारिएको जानकारी दिए ।

कृषि उत्पादनलाई बजारको पहुँच पु¥याउन कृषि सडक र पर्यटकीय गन्तव्यहरुमा सहज आवागमनकालागि पाल्पाको रानीमहल र बर्दीयाको ठाकुरद्धारा जाने सडक स्तरोन्नति गर्न बजेट बिनियोजन गरिएको उनले बताए । सिमावर्ती क्षेत्रको पुर्वाधार बिकासमा पनि बजेट बिनियोजन गरिएको बताउदै उनले चालु आर्थिक बर्षमा बिद्यालयस्तरीय शिक्षामा जोड दिइएकोमा आगामि बजेटमा उच्च शिक्षा तथा प्राबिधिक शिक्षाको बिकासमा बजेट बिनियोजन गरिएको उल्लेख गरे ।

बजारले माग गरेको जनशक्ति उत्पादन गर्ने शिक्षण संस्थालाई प्रोत्साहन गर्ने नीति लिइएको भन्दै मुख्यमन्त्री पोखरेलले पर्यटकको बसाई लम्व्याएको प्रमाण पेश गर्ने पर्यटन व्यवसायीलाई सहयोग गर्ने बताए । चालु आर्थिक बर्षको बजेट सन्चित रहेका कारण बजेटको आकार ठुलो भएको भन्दै मुख्यमन्त्री पोखरेलले घाटा बजेट भने नभएको दाबी गरे । कूल गार्हस्थ उत्पादनको हिसावले प्रदेश नं ५ अन्य प्रदेशको तुलनामा पहिलो नम्बरमा रहे पनि बजेटको आकारको हिसावले भने प्रदेश कमजोर रहेको मुख्यमन्त्री पोखरेलले बताए ।

मुलुक संघीयतामा गैसके पनि मुलुकको अर्थतन्त्र अझै पनि काठमाण्डौं केन्द्रित रहेको बताउदै उनले काठमाण्डौं केन्द्रित अर्थतन्त्रलाई काठमाण्डौं बाहिर ल्याउने प्रयास भैरहेको उल्लेख गरे । मन्त्रालयका सचिव किशोर जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन मुख्यमन्त्रीका प्रेस सल्लाहकार सेरबहादुर केसीले गरेका थिए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार